YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:137-160

भजनसंग्रह 119:137-160 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, र तपाईंका नियमहरू सत्‍य छन्‌। तपाईंले राखिदिनुभएका कानूनहरू धार्मिक छन्‌, तिनीहरू पूर्ण रूपले भरपर्दा छन्‌। मेरो जोशले मलाई खाइसकेको छ, किनभने मेरा शत्रुहरूले तपाईंका वचनहरूको बेवास्‍ता गर्छन्‌। तपाईंका प्रतिज्ञाहरू पूर्ण रूपले जाँचिएका छन्‌, र तपाईंको दासले तिनलाई प्रेम गर्छ। म क्षुद्र र तुच्‍छ छु, तापनि म तपाईंका आदेशहरू बिर्सन्‍नँ। तपाईंको धार्मिकता चिरस्‍थायी छ, अनि तपाईंको व्‍यवस्‍था सत्‍य छ। दु:ख र सङ्कष्‍ट ममाथि परिआएको छ, तर तपाईंका आज्ञाहरू मेरो निम्‍ति हर्षका कुरा छन्‌। तपाईंका कानूनहरू सदाकालको निम्‍ति सत्‍य छन्‌, मलाई समझशक्ति दिनुहोस्‌, र म जीवित रहन सकूँ। आफ्‍नो पूरा हृदयले म तपाईंलाई पुकार्दछु, हे परमप्रभु, मलाई जवाफ दिनुहोस्‌, र तपाईंका विधिहरू म पालन गर्नेछु। म तपाईंलाई पुकार्दछु, मलाई बचाउनुहोस्‌, अनि तपाईंका कानूनहरू म पालन गर्नेछु। म सूर्योदय हुन अघि उठेर मदतको लागि पुकार गर्छु, मैले तपाईंको वचनमाथि भरोसा राखेको छु। तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्‍छन्‌। तपाईंको करुणाअनुसार मेरो सोर सुनिदिनुहोस्‌, हे परमप्रभु, तपाईंका नियमअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। कुचेष्‍टा रच्‍ने दुष्‍टहरू नजिक आइसकेका छन्‌, तर तिनीहरू तपाईंको व्‍यवस्‍थाबाट टाढ़ा छन्‌। तर हे परमप्रभु, तपाईं नजिकै हुनुहुन्‍छ, र तपाईंका सबै आज्ञाहरू सत्‍य छन्‌। अतीतदेखि नै तपाईंका कानूनहरूबाट मैले सिकें, कि तपाईंले तिनीहरूलाई सदासर्वदा रहून्‌ भनी स्‍थापना गर्नुभयो। मेरो दु:खलाई विचार गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, किनकि तपाईंको व्‍यवस्‍था मैले बिर्सेको छैनँ। मेरो पक्षमा निर्णय दिनुहोस्‌, र मलाई छुटाउनुहोस्‌। तपाईंको प्रतिज्ञाअनुसार मेरो प्राणलाई सुरक्षा गर्नुहोस्‌। दुष्‍टहरूबाट उद्धार टाढ़ा छ, किनकि तिनीहरूले तपाईंका विधिहरूको खोजी गर्दैनन्‌। हे परमप्रभु, तपाईंको दया-दृष्‍टि अति महान्‌ छ, तपाईंका नियमहरूअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। मलाई सताउने शत्रुहरू अनेक छन्‌, तापनि तपाईंका कानूनहरूबाट म तर्केको छैनँ। विश्‍वासघातीहरूलाई म घृणाको दृष्‍टिले हेर्छु, किनभने तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्‌। हेर्नुहोस्‌, म कसरी तपाईंका आदेशहरूलाई प्रेम गर्दछु, हे परमप्रभु, तपाईंको करुणाअनुसार मेरो प्राणलाई सुरक्षित राख्‍नुहोस्‌। तपाईंका सम्‍पूर्ण वचनहरू सत्‍य छन्‌, र तपाईंका सबै धार्मिक नियमहरू अनन्‍तका छन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:137-160 पवित्र बाइबल (NERV)

हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ। तपाईंका नियमहरू सही र ईमान्दार छन्। तपाईंले हामीलाई आफ्ना करारमा धार्मिक नियमहरू दिनुभयो। हामी साँच्चै नै तिनीहरूमा भरोसा गर्न सक्छौं। मेरो उत्साहले मलाई ध्वंश पारिरहेछ। म अत्यन्त उदास छु किनभने मेरो शत्रुहरूले तपाईंको आज्ञाहरू भूले। परमप्रभु, हामीले प्रमाण पनि दियौं कि हामी तपाईंकै वचनमा विश्वास गर्छौं। अनि म यसलाई मन पराउँछु। म क्षुद्र र तुच्छ छु, अनि मानिसहरूले मेरो आदर गर्दैनन्। तर म तपाईंको आज्ञाहरू भुल्ने छैन। परमप्रभु, तपाईंको धार्मिकता चिरस्थायी छ। अनि तपाईंको उपदेशहरू विश्वास गर्न सकिन्छ। मसँग सङ्कट र दुःखका दिनहरू छँदै थिए तर म तपाईंको आज्ञाहरूमा आनन्द लिन्छु। तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ। हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई पुकारा गर्छु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु। हे परमप्रभु, म तपाईंलाई पुकारा गर्छु मलाई बँचाउनु होस्! अनि म तपाईंको करार पालन गर्नेछु। तपाईंलाई प्रार्थना गर्न म बिहानै उठ्दछु। म तपाईंले भन्नुभएको कुरामा विश्वास गर्दछु। तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु। आफ्नो सारा प्रेमले, मलाई बोलाउनु होस्। हे परमप्रभु, तपाईंले ठीक भनेका कुरानै गरूँ अनि मलाई बाँच्न दिनुहोस्। मानिसहरूले मेरो विरूद्ध दुष्ट योजनाहरू बनाइरहेछन्। ती मानिसहरूले तपाईंको शिक्षाहरू अनुशरण गर्दैनन्। परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ। धेरै बर्ष अघिदेखि तपाईंको करारबाट सिकें कि तपाईंको उपदेशहरू अनन्त रहने छन्। हे परमप्रभु, मेरो पीडाहरू हेर्नुहोस् र मलाई बचाउनु होस्। मैले तपाईंको उपदेशहरू भुलेको छैन। हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्। दुष्ट मानिसहरूले जित्ने छैन किनभने तिनीहरूले तपाईंको नियमहरू मान्दैनन्। हे परमप्रभु, तपाईं कृपालु हुनुहुन्छ। तपाईंले ठीक भनेकै काम गरूँ, र मलाई बाँच्न दिनुहोस्। मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुशरण गर्न देखि रोकिने छैनँ। म ती विश्वास घातीहरूलाई देख्छु, तिनीहरूले तपाईंको वचनको पालन गर्दैनन्, र म तिनीहरूलाई घृणा गर्छु। हेर्नुहोस्, मैले तपाईंको आज्ञाहरू पालन गर्न यथासक्य कोशिश गरें। हे परमप्रभु, तपाईंको सारा प्रेमसहित, मलाई बाँच्न दिनुहोस्। हे परमप्रभु, आदि कालदेखि नै, सारा तपाईंका वचनहरू भरोसा गर्न सकिन्थ्यो। अनि तपाईंको धार्मिक नियमहरू सदा-सर्वदा रहनेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्

भजनसंग्रह 119:137-160 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तपाईंका व्‍यवस्‍थाहरू न्‍यायपूर्ण छन्। तपाईंले दिनुभएका व्‍यवस्‍थाहरू सबै प्रकारले ठीक र धार्मिक छन्। मेरो रिस मभित्र आगोजस्‍तै जल्‍दछ किनभने मेरा शत्रुहरूले तपाईंका आज्ञाहरू मान्‍दैनन्। तपाईंको प्रतिज्ञा कति पक्‍का छ, म त्‍यसलाई कति प्रेम गर्दछु! म तुच्‍छ छु र हेलित छु। तर म तपाईंका शिक्षाहरूलाई हेला गर्दिनँ। तपाईंको धार्मिकता सदाकाल रहनेछ र तपाईंको व्‍यवस्‍था सधैँ सत्‍य छ। म कष्‍ट र चिन्‍ताले भरिएको छु, तर तपाईंका आज्ञाले मलाई रमाहट दिँदछ। तपाईंका अर्तीहरू सधैँ न्‍यायपूर्ण छन्, मलाई समझशक्ति दिनुहोस् र म जीवित रहनेछु। म आफ्‍नो पूरा हृदयले तपाईंलाई पुकार्दछु, परमप्रभु, मलाई उत्तर दिनुहोस् र म तपाईंका आज्ञाहरू मान्‍नेछु! म तपाईंलाई पुकार्दछु; मलाई बचाउनुहोस् र तपाईंका व्‍यवस्‍थाहरू पालन गर्नेछु। घाम झुल्‍कनुअघि म तपाईंलाई मद्दतको लागि बिन्‍ती गर्दछु। तपाईंको प्रतिज्ञामा म आशा गर्दछु। रातभरि म तपाईंका शिक्षाहरूमा ध्‍यान गर्न जागा रहन्‍छु। हे परमप्रभु! तपाईंको अनन्‍त प्रेमको कारणले मेरो बिन्‍ती सुन्‍नुहोस्। तपाईंको कृपा देखाउनुहोस् र मेरो जीवनको रक्षा गर्नुहोस्! तपाईंको व्‍यवस्‍था कहिल्‍यै नमान्‍ने र मलाई सताउने निठुरीहरू मेरो नजिक आउँदै छन्। तर तपाईं मेरो नजिक हुनुहुन्‍छ, परमप्रभु! तपाईंका सबै आज्ञाहरू सदा रहिरहनेछन्। उहिले नै मैले तपाईंका अर्तीहरूको शिक्षा पाएँ, तिनलाई तपाईंले अनन्‍तकालको लागि राख्‍नुभएको छ। मेरो दु:ख-कष्‍ट हेर्नुहोस् र मलाई बचाउनुहोस् किनभने मैले तपाईंको व्‍यवस्‍थालाई हेला गरेको छैनँ। मेरो मुद्दाको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्, आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बचाउनुहोस्। दुष्‍टहरू बचाइनेछैनन् किनभने तिनीहरूले तपाईंका व्‍यवस्‍थाहरू मान्‍दैनन्। हे परमप्रभु, तपाईंको माया ठूलो छ; तपाईंको कृपा देखाउनुहोस् र मलाई बचाउनुहोस्! मेरा धेरै शत्रु र सताउनेहरू छन्, तर मैले तपाईंका व्‍यवस्‍थाहरू मान्‍न छोडेको छैनँ। जब म ती विश्‍वासघातीहरूलाई हेर्दछु, म विरक्त हुँदछु किनभने तिनीहरू तपाईंका आज्ञाहरू मान्‍दैनन्। हेर्नुहोस्, म तपाईंका शिक्षाहरूलाई कति प्रेम गर्दछु, परमप्रभु! तपाईंको प्रेम कहिल्‍यै बदलिंदैन, यसकारण मलाई बचाउनुहोस्। तपाईंको व्‍यवस्‍था सत्‍य छ र तपाईंका सबै धार्मिक न्‍यायहरू अमर छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 119 पढ्नुहोस्