YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 109:1-31

भजनसंग्रह 109:1-31 सरल नेपाली

हे परमेश्‍वर, म तपाईंको प्रशंसा गर्छु; चुप लागि नबस्‍नुहोस्! झूटा र दुष्‍ट मानिसहरू ममाथि आइलागेका छन्, तिनीहरूले मेरो विरुद्धमा झूट कुरा गर्छन्। तिनीहरूले मेरो विरुद्धमा दुष्‍ट कुराहरू भन्‍छन् र बिनाकारण ममाथि आइलाग्‍छन्। मैले तिनीहरूलाई प्रेम गर्छु र तिनीहरूका लागि प्रार्थना गरेको छु, तापनि तिनीहरूले मेरो विरोध गर्छन्। मैले गरेको भलाइको सट्टामा तिनीहरूले मलाई खराबी गर्छन् र प्रेमको सट्टामा घृणा गर्छन्। मेरो शत्रुमाथि मुद्दा चलाउन कुनै दुष्‍ट न्‍यायकर्ता चुन्‍नुहोस् र त्‍यसको कुनै आफ्‍नै शत्रुले त्‍यसलाई दोष लगाओस्। मुद्दा चलोस् र त्‍यो दोषी ठहरिओस्, त्‍यसको बिन्‍ती पनि अपराध नै ठानियोस्! त्‍यसको जीवनको अन्‍त चाँडै होस्, त्‍यसको काम अर्को मानिसले खोसोस्! त्‍यसका सन्‍तानहरू टुहुरा-टुहुरी होऊन् र त्‍यसकी स्‍वास्‍नी विधवा होस्! त्यसका सन्‍तानहरू घरबिनाका भिखारी बनून् र आफू बसेको भत्‍केका घरबाट पनि तिनीहरू धपाइऊन्! त्‍यसलाई ऋण दिनेहरूले त्‍यसका सम्‍पत्ति लैजाऊन्, त्‍यसले गरेका कामका फल परदेशीहरूले लैजाऊन्। त्‍यसमाथि कसैले दया नगरोस्, त्‍यसले छोडिराखेका टुहुरा-टुहुरीको कसैले वास्‍ता नगरोस्। त्‍यसका सबै सन्‍तानहरू मरेर जाऊन् र आउँदो पुस्‍ताले त्‍यसको नाम भुलिसकेको होस्। परमप्रभुले त्‍यसका पुर्खाका दुष्‍टता याद गरून् र त्‍यसकी आमाका पापहरू कहिल्‍यै क्षमा नगरून्। परमप्रभुले तिनीहरूका पाप सधैँ याद राखून्, तर तिनीहरूको सम्‍झना पृथ्‍वीबाट पूरै मेटिजाओस्‌! त्‍यस मानिसले कहिल्‍यै दया गर्ने विचारसम्‍म गरेन, त्‍यसले गरीब, अभावमा परेका र असहायहरूलाई सताएर मार्‍यो। त्‍यसले सराप दिन मन पराउँदथ्‍यो, त्‍यो आफैंले सराप पाओस्, त्‍यसले आशिष् दिने काम घृणा गर्दथ्‍यो, त्‍यसलाई कसैले आशिष् नदेओस्! लुगा लाएजस्‍तो सजिलैसँग त्‍यसले सराप दिन्‍थ्‍यो, त्‍यसका सरापहरू त्‍यसकै शरीरमा पानीजस्‍तो र त्‍यसका हड्डीहरूमा तेलजस्‍तो भिजेर जाऊन्! कपडाले झैँ ती सरापहरूले त्‍यसलाई ढाकून् र पटुकाझैँ त्‍यसका कम्‍मरमा कसिएर बाँधिऊन्! परमप्रभु! मेरा शत्रुहरूलाई त्‍यसरी दण्‍ड दिनुहोस्, मेरा विरुद्धमा त्‍यस्‍ता दुष्‍ट कुरा गर्नेहरूलाई त्‍यस्‍तै होस्! तर मेरा सार्वभौम परमेश्‍वर! आफ्‍नो प्रतिज्ञाअनुसार मेरो मद्दत गर्नुहोस् र तपाईंको प्रेम भलो भएको कारण मलाई बचाउनुहोस्। म दरिद्र छु, मलाई अभाव छ, मेरो हृदय भित्रसम्‍म म घाइते भएको छु। साँझको छायाजस्‍तै म बिलिन हुन आँटेको छु, एउटा किराजस्‍तै म हावामा उडाइन्‍छु। खानाको अभावले मेरा घुँडाहरू दुर्बल भएका छन्, म हाड र छालामात्र भएको छु। मलाई देखेर मानिसहरू हाँस्‍छन्, खिसी गरेर तिनीहरूले आफ्‍ना टाउको हल्‍लाउँछन्। परमप्रभु, मेरा परमेश्‍वर, मलाई मद्दत गर्नुहोस्, तपाईंको अनन्‍त प्रेमको कारण मलाई बचाउनुहोस्! मलाई बचाउनुहुने तपाईं हुनुहुन्‍छ भनी मेरा शत्रुहरूलाई जान्‍न दिनुहोस्। तिनीहरूले मलाई सराप्‍लान् तर तपाईंले मलाई आशीर्वाद दिनुहुनेछ। मलाई सताउनेहरूको हार होस् र म तपाईंको दास रमाउन पाऊँ। मेरा शत्रुहरूलाई बदनामले छोपोस्, तिनीहरूले आफ्‍नो शर्मको खास्‍टो ओढ्‍नुपरोस्। म उच्‍च स्‍वरले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु, मानिसहरूका सभामा म उहाँको प्रशंसा गर्नेछु किनभने उहाँले गरीबको रक्षा गर्नुहुन्‍छ र त्‍यसको प्राण लिन चाहनेहरूदेखि त्‍यसलाई बचाउनुहुन्‍छ।

भजनसंग्रह 109 पढ्नुहोस्