YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 105:1-45

भजनसंग्रह 105:1-45 सरल नेपाली

परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका महान्‌ता उच्‍च स्‍वरले प्रचार गर, उहाँले के गर्नुभएको छ, जाति-जातिहरूलाई सुनाओ। परमप्रभुको प्रशंसा गाओ, उहाँले गर्नुभएका उदेकका कामको बयान गर। हर्ष मनाओ किनकि हामी उहाँका निज प्रजा हौं, उहाँलाई पुज्‍नेहरू सबै रमाऊन्। सहायताको लागि परमप्रभुकहाँ जाओ र उहाँलाई निरन्‍तर दण्‍डवत् गर। उहाँका सेवक अब्राहामका सन्‍तान, उहाँले रोज्‍नुभएको मानिस याकूबका सन्‍तान, तिमीहरू परमेश्‍वरले गर्नुभएको आश्‍चर्यका कामहरू र उहाँले दिनुभएको न्‍यायका फैसलाहरूलाई याद गर। परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, उहाँका आज्ञाहरू सारा संसारको लागि हो। उहाँले आफ्‍नो करार सदाकालको लागि राख्‍नुहुन्‍छ र आफ्‍ना प्रतिज्ञाहरू हजारौं पुस्‍तासम्‍म। उहाँले अब्राहामसँग गर्नुभएको वाचा र इसहाकसँग गर्नुभएको प्रतिज्ञा राख्‍नुहुनेछ। परमप्रभुले सदाकालसम्‍म रहने एउटा करार याकूबसँग गर्नुभयो। उहाँले भन्‍नुभयो, “म तँलाई कनान देश दिनेछु र त्‍यो तेरो सम्‍पत्ति हुनेछ।” परमेश्‍वरका प्रजा थोरै थिए, तिनीहरू कनान देशमा परदेशी थिए। तिनीहरू एक देशदेखि अर्को देश, एक राज्‍यदेखि अर्को राज्‍य गरेर डुलिहिँड्थे। तर परमप्रभुले कसैलाई तिनीहरूलाई सताउन दिनुभएन, तिनीहरूका रक्षाको लागि उहाँले राजाहरूलाई चेतावनी दिनुभयो: “मेरा चुनिएका सेवकहरूलाई हानि नगर, मेरा अगमवक्ताहरूलाई नछुनू।” परमप्रभुले तिनीहरूका देशमा अनिकाल पठाउनुभयो र तिनीहरूका सबै खानेकुरा खोसिलिनुभयो। उहाँले तिनीहरूको अघि-अघि एक जना मानिस पठाउनुभयो: योसेफ, जसलाई दास बनाएर बेचिएको थियो। उनका खुट्टाहरू साङ्लामा बाँधिएका थिए, उनले भनेका भविष्‍यवाणी पूरा नहोऊञ्‍जेलसम्‍म उनको घिच्रामा फलामको सिक्री बाँधिएको थियो। परमप्रभुको वचनले उनलाई साँचो प्रमाणित गर्‍यो। मिश्रका राजाले उनलाई छोडिदिए, जाति-जातिका शासकले उनलाई छुटकारा दिए। तिनले उनलाई आफ्‍नो राज्‍य चलाउने भार सुम्‍पे र सारा देशमाथि शासक खटाए। उनले राजाका भारदारहरूमाथि शक्ति चलाए र सल्‍लाहकारहरूलाई आदेश दिने अधिकार पाए। तब याकूब मिश्रमा गएर त्‍यहाँ बसोबास गर्न लागे। परमप्रभुले आफ्‍नो प्रजालाई धेरै छोरा-छोरीहरू दिनुभयो र तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा धेरै बलियो बनाउनुभयो। उहाँले मिश्रीहरूलाई उहाँको प्रजाहरूलाई घृणा गर्न र उहाँका दासहरूसँग छलकपट गर्न लाउनुभयो। तब उहाँले आफूले चुन्‍नुभएका आफ्‍ना दासहरू मोशा र हारूनलाई पठाउनुभयो। तिनीहरूले परमेश्‍वरको लागि सामर्थी काम गरे र मिश्रमा आश्‍चर्यका कामहरू गरिदिए। परमेश्‍वरले त्‍यस देशमा अन्‍धकार पठाउनुभयो, तर मिश्रीहरूले उहाँका आज्ञापालन गरेनन्। उहाँले तिनीहरूका नदीहरूलाई रगतमा बदल्‍नुभयो र सबै माछाहरू मारिदिनुभयो। तिनीहरूको देश भ्‍यागुताले भरियो, राजमहलमा पनि भ्‍यागुता भरियो। परमेश्‍वरले आज्ञा दिनुभयो र देशभरि झिँगा र भुसुना फैलिए। त्‍यस देशमा वर्षाको सट्टामा उहाँले असिना र चट्याङ पठाउनुभयो। उहाँले तिनीहरूका दाख र नेभाराका बोटहरू नष्‍ट गर्नुभयो र सबै रूखहरू भाँचिदिनुभयो। उहाँको आज्ञाले अनगिन्‍ती सलहहरू आए, तिनीहरूले देशका सारा वनस्पति र अन्‍नबाली खाइदिए। उहाँले मिश्रका सबै परिवारका जेठा छोराहरूलाई मार्नुभयो। तब उहाँले इस्राएलीहरूलाई निकालिल्‍याउनुभयो, तिनीहरूले सुन र चाँदी बटुलेर लगे र तिनीहरू सबै बलिया र हट्टा-कट्टा थिए। मिश्रीहरू तिनीहरूसँग डराए र तिनीहरू जाँदा प्रसन्‍न भए। परमेश्‍वरले आफ्‍ना प्रजामाथि बादल र राती उज्‍यालो दिन आगो राख्‍नुभयो। तिनीहरूले मागे र उहाँले तिनीहरूलाई बट्टाइ चराहरू पठाइदिनुभयो, उहाँले तिनीहरूलाई स्‍वर्गबाट भोजन दिनुभएर तृप्‍त गराउनुभयो। उहाँले चट्टान फुटाउनुभयो र त्‍यहाँबाट पानी बगिनिस्‍क्‍यो र नदी बनेर मरुभूमिका बीच आएर बग्‍यो। उहाँले आफ्‍ना सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञा स्‍मरण गर्नुभयो। यसरी उहाँले आफूले चुन्‍नुभएको प्रजालाई निकालिल्‍याउनुभयो। तिनीहरूले आनन्‍दले गाए र स्‍वर मच्‍चाए। उहाँले तिनीहरूलाई अन्‍यजातिहरूका जमिन दिनुभयो र तिनीहरूका खेतबारीहरू कब्‍जा गर्न दिनुभयो। आफ्‍ना प्रजाले उहाँका व्‍यवस्‍थाहरू मानून् र सबै आज्ञाहरू पालन गरून् भनी परमेश्‍वरले त्‍यसो गर्नुभयो।

भजनसंग्रह 105 पढ्नुहोस्