YouVersion लोगो
खोज आइकन

गन्‍ती 9:1-14

गन्‍ती 9:1-14 सरल नेपाली

इस्राएलीहरू मिश्रबाट निस्‍किआएपछि दोस्रो वर्षको पहिलो महिनामा परमप्रभु मोशासित सीनैको मरुभूमिमा बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “यस महिनाको चौधौँ दिन घाम डुबेपछि, इस्राएलका मानिसहरूले निस्‍तार-चाड, त्‍यसका सारा व्‍यवस्‍था नियमअनुसार मनाउनुपर्नेछ।” यसकारण मोशाले मानिसहरूलाई निस्‍तार-चाड मान्‍न लाए र पहिलो महिनाको चौधौँ दिनको साँझ सीनै उजाड-स्‍थानमा तिनीहरूले चाड मनाए, परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार मानिसहरूले सबै कुरा ठीकसित गरे। तर त्‍यहाँ केही मानिसहरू थिए, जो लाश छोएका कारणले अशुद्ध थिए र तिनीहरूले त्‍यस दिन निस्‍तार-चाड मनाउन सकेनन्। तिनीहरूले मोशा र हारूनकहाँ गएर भने, “हामी लाश छोएकोले अशुद्ध भएका छौं, तापनि किन हामीले अरू इस्राएलीहरूसँगै परमप्रभुलाई भेटी चढाउन पाउँदैनौं?” मोशाले उत्तर दिए, “परमप्रभुबाट मैले आदेश नपाएसम्‍म तिमीहरू पर्ख।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू कोही वा तिम्रा कुनै सन्‍तान लाश छोएर अशुद्ध भएको छ वा टाढा यात्रामा गएको छ तर त्‍यसले निस्‍तार-चाड मनाउन चाहन्‍छ नै भने तिनीहरूले एक महिनापछि सो चाड मनाउन पाउनेछन्। त्‍यस्‍ताहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझमा अखमिरी रोटी र तीतो साग खाएर चाड मनाउनेछन्। कुनै पनि खानेकुरा भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू र पशुको कुनै पनि हड्डी नभाँच्‍नू। सबै नियमअनुसार निस्‍तार-चाड मनाउनू। तर जो अशुद्ध छैन वा टाढा यात्रामा छैन र पनि त्‍यसले निस्‍तारचाड मनाएन भने त्‍यसलाई फेरि मेरो प्रजा हो भनी मानिनेछैन किनभने त्‍यसले तोकिएको समयमा मलाई भेटी चढाएन। त्‍यसले आफ्‍नो पापको फल भोग्‍नेछ। “तिमीहरूका माझमा बास गर्ने विदेशीहरूले निस्‍तार-चाड मनाउन चाहन्‍छन् भने तिनीहरूले सारा व्‍यवस्‍था र नियमहरू मान्‍नुपर्नेछ। विदेशी वा स्‍वदेशी सबैलाई एउटै नियम लागू हुनेछ।”

गन्‍ती 9 पढ्नुहोस्