YouVersion लोगो
खोज आइकन

गन्ती 9:1-14

गन्ती 9:1-14 NCV

इस्राएलीहरू इजिप्टबाट निस्किआएको दोस्रो वर्षको पहिलो महिनामा याहवेह सीनैको उजाडस्थानमा मोशासँग बोल्नुभयो। उहाँले मोशालाई आज्ञा दिनुभयो, “इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू। निस्तार चाडलाई तोकिएको समयमा अर्थात् यसै महिनाको चौधौँ दिनको साँझमा त्यसका सबै नियम र विधिअनुसार मान्‍नू।” यसकारण मोशाले इस्राएलीहरूलाई निस्तार चाड मनाउन लगाए। अनि तिनीहरूले सीनैको उजाडस्थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार चाड मनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै गरे। तर तिनीहरूमध्ये कति मानिसले लासलाई छोए। त्यसकारण विधिपूर्वक अशुद्ध भएकाले त्यस दिन निस्तार चाड मनाउन सकेनन्। यसकारण तिनीहरू त्यही दिन मोशा र हारूनकहाँ आए। अनि तिनीहरूले मोशालाई भने, “हामीले लासलाई छोएको कारण अशुद्ध भएका छौँ; तर तोकिएको समयमा अरू इस्राएलीहरूसँग याहवेहको भेटी चढाउन हामीले किन पाउँदैनौँ?” मोशाले तिनीहरूलाई जवाफ दिए, “मैले याहवेहबाट तिमीहरूका निम्ति आज्ञा नपाउन्जेल यहीँ पर्खिरहो।” त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूका सन्तान लासलाई छोएको कारण अशुद्ध भयो भने अथवा टाढाको यात्रामा छन् भने पनि तिनीहरूले याहवेहको निस्तार चाड मनाउन सक्छन्। तर तिनीहरूले त्यो दोस्रो महिनाको चौधौँ दिनको साँझमा मनाऊन्। तिनीहरूले थुमासँगै अखमिरी रोटी र तिते साग खाऊन्। तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्। तर यदि कोही विधिपूर्वक शुद्ध छ र यात्रामा पनि गएको छैन भने त्यस मानिसले निस्तार चाड मनाएन भने, र त्यसले तोकिएको समयमा याहवेहको भेटी चढाएन भने त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरून्। त्यसले आफ्नो पापको प्रतिफल भोग्नुपर्छ। “ ‘तिमीहरूसँग बासोबास गर्ने विदेशीले पनि याहवेहको निस्तार चाड मनाउन चाहन्छ भने तिनीहरूले पनि सबै नियम र विधिअनुसार मनाउनुपर्छ। विदेशी होस् वा स्वदेशी, तिमीहरू सबैका निम्ति एउटै नियम लागू हुनैपर्छ।’ ”

गन्ती 9 पढ्नुहोस्