YouVersion लोगो
खोज आइकन

गन्‍ती 30

30
भाकलका नियमहरू
1मोशाले इस्राएल कुलका अगुवाहरूलाई यी तलका आदेशहरू दिए। 2#व्यवस्था 23:21-23; मत्ती 5:33जब कुनै मानिसले परमप्रभुलाई केही कुरा चढाउने भाकल गर्छ वा आफूले केही कुरा छोड्‍ने शपथ खान्‍छ, उसले आफ्‍नो प्रतिज्ञा भङ्ग गर्नुहुँदैन। तर जे आफूले गर्छु भनेको छ, त्‍यो पूरा गर्नुपर्छ।
3जब आफ्‍नो बुबाको घरमा बसिरहेकी कुनै युवतीले परमप्रभुलाई केही चढाउने प्रतिज्ञा गर्छे वा आफूलाई कुनै कुरादेखि अलग राख्‍ने प्रतिज्ञा गर्छे, 4उसले आफूले भाकल वा प्रतिज्ञा गरेका सबै कुरा पूरा गर्नुपर्नेछ। तर उसको बुबाले त्‍यो कुरा सुनेर आपत्ति गर्‍यो भने उसले त्‍यो पूरा नगरे हुन्‍छ। 5बुबाचाहिँले छोरीको भाकल सुनेर त्‍यो पूरा गर्नमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ किनभने उसका बुबाले उसलाई रोकेको हो।
6यदि कुनै अविवाहिता स्‍त्रीले सम्‍झी-बुझी वा त बेहोशीमा कुनै भाकल गर्छे वा आफैंलाई केही कुरादेखि अलग राख्‍ने प्रतिज्ञा गरेपछि विवाह गरी भने 7उसले आफूले भाकल वा प्रतिज्ञा गरेका सबै कुरा पूरा गर्नुपर्नेछ। तर उसको लोग्‍नेले त्‍यो थाहा पाएर त्‍यसमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा नगरे हुन्‍छ। 8लोग्‍नेचाहिँले उसको भाकल सुनेर आपत्ति जनायो भने उसले त्‍यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ।
9विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीले गरेको भाकल वा कुनै कुराबाट अलग रहने प्रतिज्ञा पूरा गर्नुपर्नेछ।
10यदि कुनै विवाहिता स्‍त्रीले कुनै भाकल वा केही कुरादेखि आफूलाई अलग राख्‍ने प्रतिज्ञा गर्छे 11र उसका लोग्‍नेले त्‍यो सुनेर बाधा दिएन भने उसले त्‍यो कुरा पूरा गर्नुपर्नेछ। 12तर उसको लोग्‍नेले त्‍यो कुरा सुनेर त्‍यो पूरा गर्नमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ किनभने उसको लोग्‍नेले उसलाई भाकल पूरा गर्न नदिएको हो। 13उसले गरेका भाकल वा प्रतिज्ञालाई मन्‍जुर गर्ने वा खारेज गर्ने हक उसको लोग्‍नेको हो। 14तर आफूले चाल पाएकै दिनमा लोग्‍नेले त्‍यस भाकललाई बाधा दिएन भने त्‍यस स्‍त्रीले आफ्‍नो भाकल पूरा गर्नुपर्नेछ। त्‍यो थाहा पाएको दिनमा बाधा नदिएर लोग्‍नेले स्‍वास्‍नीको भाकल वा प्रतिज्ञालाई स्‍वीकार गर्दछ। 15तर लोग्‍नेले पछिबाट भाकल खारेज गर्दछ भने उसले भाकल पूरा नगरेको दण्‍ड लोग्‍नेले भोग्‍नुपर्नेछ।
16लोग्‍ने, स्‍वास्‍नी अनि माइती घरमा बसेकी अविवाहिता वा कुनै विवाहिता स्‍त्रीको भाकलको सम्‍बन्‍धमा परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यी नै हुन्।

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 30: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्