YouVersion लोगो
खोज आइकन

गन्‍ती 28

28
नियमित बलिहरू
(प्रस्‍थान २९:३८-४६)
1-2आगोद्वारा चढाइने बलिहरू इस्राएलीहरूले परमप्रभुलाई तोकिएका समयहरूमा चढाऊन् भन्‍ने आदेश परमप्रभुले मोशाद्वारा दिनुभयो। ती अन्‍नबलिहरूको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।
3परमप्रभुलाई चढाउनुपर्ने आगोद्वारा चढाउने अन्‍नबलिहरू यी नै हुन्:
दिन-दिनको होमबलिको निम्‍ति दुईवटा एकवर्षे निष्‍खोट थुमाहरू। 4पहिलो पाठो बिहान र दोस्रो पाठो बेलुका चढाउनू। 5प्रत्‍येक पाठोसित एक किलोग्राम पिठो सबैभन्दा असल जैतुनको एक लिटर तेल मिसाएर अन्‍नबलि पनि चढाउनू। 6यो दैनिक चढाइने र आगोले पूरा भस्‍म गर्नुपर्ने बलि हो, जो पहिलोपल्‍ट सीनै पर्वतमा आगोद्वारा चढाइने अन्‍नबलिका रूपमा चढाइएको थियो र जसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। 7पहिलो पाठोसित एक लिटर दाखमद्य मद्यबलिका रूपमा वेदीमा खन्‍याउनू। 8बेलुका बिहानको जस्‍तै गरी दोस्रो पाठो मद्य-बलिसहित बलि चढाउनू। यो पनि एउटा होमबलि हो, जसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।
विश्राम दिनको भेटी
9विश्रामको दिनचाहिँ दुईवटा एकवर्षे निष्‍खोट थुमा चढाउनू र साथै जैतुनको तेल मिसाएका दुई किलोग्राम पिठोको अन्‍नबलि र मद्यबलि चढाउनू। 10दैनिक बलि र मद्यबलिबाहेक यो होमबलि हरेक विश्रामको दिन चढाउनू।
हरेक महिनाको पहिलो दिनको बलि
11हरेक महिनाको पहिलो दिनमा यी पशुहरूको होमबलि चढाउनू– दुईवटा साँढेहरू, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू यी सबै पशुहरू निष्‍खोट हुनुपर्छ। 12अन्‍नबलिको रूपमा जैतुनको तेल मिसाएको पिठो यस रीतिले चढाउनू– हरेक साँढेसित तीन किलोग्राम पिठो, साँढ-भेडासित दुई किलोग्राम 13र हरेक भेडाको पाठोसित एक किलोग्राम पिठो। यी अन्‍नबलिहरू होमबलि हुन्, जसका बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। 14उचित मद्यबलि यस्‍तो हुन्‍छ, हरेक साँढेसित दुई लिटर दाखमद्य, साँढ-भेडासित डेढ लिटर र पाठोसित एक लिटर दाखमद्य। वर्षभरि हरेक महिनाको पहिलो दिनमा चढाउने होमबलिको यही नियम हो। 15दिनहुँ मद्यबलिसित चढाउने होमबलिबाहेक एउटा बोको पापबलिको रूपमा चढाउनू।
अखमिरी रोटीको चाड
(लेवी २३:५-१४)
16 # प्रस्‍थान 12:1-13; व्यवस्था 16:1,2 परमप्रभुको आदरमा मानिने निस्‍तार-चाड पहिलो महिनाको चौधौँ दिनमा मनाउनुपर्छ। 17#प्रस्‍थान 12:14-20; 23:15; 34:18; व्यवस्था 16:3-8पन्‍ध्रौँ दिनमा एउटा धार्मिक चाड सुरु गरिनुपर्छ, जुन सात दिनसम्‍म चल्‍नेछ। ती दिनमा बिनाखमिरको रोटी मात्र खानुपर्नेछ। 18चाडको पहिलो दिन तिमीहरू आराधनाको निम्‍ति भेला हुनेछौ, त्‍यो दिन कुनै काम नगर्नू। 19निष्‍खोट दुईवटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि गरी परमप्रभुलाई चढाउनू। 20जैतुनको तेल मिसाएको पिठो ठीक प्रकारले अन्‍नबलिका रूपमा यसरी चढाउनू– साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम 21र हरेक थुमासित एक किलोग्राम। 22एउटा बोकाको पापबलि पनि चढाउनू र यसरी मानिसहरूका शुद्धीकरणको विधि पूरा गर्नू।
23सधैँ बिहान चढाउने होमबलिबाहेक यी कुराहरू चढाउनू। 24त्‍यस्‍तै प्रकारले सात दिनसम्‍म परमप्रभुलाई होमबलि चढाउनू, जसको बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। यो सधैँ चढाउने होमबलि र मद्यबलिबाहेक छुट्टै चढाउनू 25सातौँ दिन फेरि आराधनाको निम्‍ति भेला हुनू, त्‍यो दिन केही काम नगर्नू।
कटनी चाडका भेटी
(लेवी २३:१५-२२)
26 # प्रस्‍थान 23:16; 34:22; व्यवस्था 16:9-12 कटनी चाडको पहिलो दिन परमप्रभुलाई नयाँ अन्‍न चढाउँदा तिमीहरू आराधनाको निम्‍ति एक साथ भेला हुनू। त्‍यो दिन केही काम नगर्नू। 27परमप्रभुलाई खुसी पार्ने बास्‍नाको निम्‍ति एउटा होमबलि चढाउनू। निष्‍खोट दुईवटा साँढेहरू, एउटा साँढ-भेडा र सातवटा एकवर्षे पाठाहरू बलि चढाउनू। 28उचित अन्‍नबलि– जैतुनको तेल मिसाएको पिठो, हरेक साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई 29र हरेक थुमासित एक किलोग्राम गरेर चढाउनू। 30पापबलिको निम्‍ति एउटा बोको पनि चढाउनू। यसरी मानिसहरूको शुद्धीकरणको विधि पूरा गर्नू। 31दिन-दिनको होमबलि र अन्‍नबलिबाहेक छुट्टै यी बलिहरू र मद्यबलि चढाउनू।

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 28: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्