YouVersion लोगो
खोज आइकन

गन्‍ती 21:21-35

गन्‍ती 21:21-35 सरल नेपाली

तब इस्राएलीहरूले एमोरी राजा सीहोनकहाँ दूतहरू पठाएर यसो भने, “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी र हाम्रा गाई-वस्‍तु बाटो छोडी यताउति, खेत वा दाखबारीमा पस्‍नेछैनौं र तपाईंका इनारहरूबाट पानी पिउनेछैनौं। तपाईंको देशबाट बाहिर ननिस्‍कुन्‍जेलसम्‍म हामी मूल-बाटो भएर जानेछौं।” तर सीहोनले आफ्‍नो देशबाट इस्राएलीहरूलाई जान दिएनन्। तिनले आफ्‍ना सेना जम्‍मा गरे र उजाड-स्‍थानसम्‍म गएर इस्राएलीहरूमाथि हमला गरे। तर इस्राएलीहरूले धेरै शत्रुलाई युद्धमा मारे र तिनीहरूका देश अर्नोन नदीदेखि उत्तर यब्‍बोकसम्‍म कब्‍जा गरे। यसरी तिनीहरू अम्‍मोनीहरू भएका ठाउँसम्‍म पुगे किनभने अम्‍मोनीहरूको सीमाना बलियो गरी रक्षा गरिएको थियो। यसरी इस्राएलीहरूले सबै एमोरी सहरहरू, हेश्‍बोन र छेउछाउका सहरहरूसमेत, आफ्‍नो कब्‍जामा लिए र त्‍यहाँ बसोबास गर्न लागे। एमोरी राजा सीहोनको राजधानी हेश्‍बोनमा थियो। सीहोनले अघिका मोआबी राजासित लडाइँ गरेका थिए र तिनका सारा देश अर्नोन नदीसम्‍म आफ्‍ना अधीन गरेका थिए। त्‍यसैकारण कविहरूले यसरी गाउँदथे: “राजा सीहोनको सहर हेश्‍बोनमा आओ, त्‍यो फेरि बनेर स्‍थापित भएको हामी हेर्न चाहन्‍छौं। कुनै समयमा यो हेश्‍बोन सहरदेखि सीहोनका सेना आगोझैँ अघि बढ्थे, तिनले मोआबको आर सहर बिनाश पारे र माथिल्‍लो अर्नोनका डाँडाहरू ध्‍वंस पारे। यो तिमीहरूको निम्‍ति कति डरलाग्‍दो कुरा हो! हे मोआबका बासिन्‍दाहरू हो! तिमी, कमोशका भक्तहरू नष्‍ट भएका छौ! तिम्रा देवताले तिम्रा पुरुषहरूलाई शरणार्थी हुन लाए र स्‍त्रीहरू एमोरी राजाका कैदी भए। तर अब तिनका सन्‍तान नाश भएका छन्, हेश्‍बोनदेखि दीबोनसम्‍म, नाशीमदेखि मेदबाका छेउको नोपासम्‍म तिनीहरू नाश भएका छन्।” यसरी इस्राएलका जनहरू एमोरीहरूका देशमा बास गर्न लागे अनि मोशाले याजेरमाथि हमला गर्ने सबैभन्दा असल उपाय बुझ्‍न आफ्‍ना मानिसहरू पठाए। इस्राएलीहरूले त्‍यो सहर र त्‍यसका चारैतिरका सहरहरू कब्‍जा गरे र त्‍यहाँ बस्‍ने एमोरीहरूलाई धपाइपठाए। त्‍यसपछि इस्राएलीहरूले घुमेर बाशान जाने बाटो समाते। बाशानको राजा ओग सेना लिएर तिनीहरूलाई एद्रेईमा हमला गर्न निस्‍के। परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍योसित नडरा। त्‍यो, त्‍यसका सारा प्रजा र देशमाथि म तँलाई विजय दिनेछु। हेश्‍बोनमा राज गर्ने एमोरी राजा सीहोनलाई जसो गरेको थिइस्, त्‍यसलाई पनि त्‍यसै गर्‌।” यसकारण इस्राएलीहरूले ओग, त्‍यसका छोराहरू र सारा प्रजालाई मारे। तिनीहरूको कोही बाँकी रहेन र त्‍यसको देशमा तिनीहरूले अधिकार गरे।

गन्‍ती 21 पढ्नुहोस्