इस्राएलीहरूले एमोरीहरूका राजा सीहोनकहाँ यसो भनेर दूतहरू पठाए, “हामीलाई तपाईंको देश भएर जान दिनुहोस्। हामी खेत कि दाखबारीतिर लाग्नेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी पिउनेछैनौं। तपाईंका सिमाना नकाटेसम्म हामी मूलबाटो भएर मात्र जानेछौं।” तर सीहोनले इस्राएलीहरूलाई आफ्नो सिमाना नाघेर जान दिएनन्। उनले आफ्ना सेना जम्मा गरे, र उजाड़-स्थानको यहसासम्म आएर इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गरे। तर इस्राएलीहरूले उनलाई तरवारले मारे, र अर्नोन खोलादेखि यब्बोक नदीसम्म उनको देश कब्जा गरे। तर अम्मोनीहरूको सिमानासम्म मात्र तिनीहरूले कब्जा गरे, किनकि अम्मोनीहरूको सिमाना बलियो थियो। इस्राएलीहरूले यी सबै सहरहरू लिए, र तिनीहरू एमोरीहरूका समस्त सहरहरूमा, हेश्बोन र त्यसका वरिपरिका सबै बस्तीहरूमा समेत वास गरे। हेश्बोन एमोरीहरूका राजा सीहोनको राजधानी थियो। सीहोनले मोआबका पहिलेका राजाको विरुद्धमा लड़ाइँ गरेर उनको देश अर्नोन खोलासम्मै उनको अधिकारबाट खोसेका थिए। यसैकारण कविहरूले यसो भनेर गाएका छन्, “तिमीहरू हेश्बोनमा आओ र त्यो फेरि बनाइओस्। सीहोनको सहर पुनर्स्थापित होस्। “हेश्बोनबाट आगोको ज्वाला, सीहोनको सहरबाट आगोको ज्वाला निस्केर मोआबको आर सहरलाई र अर्नोनका उच्च स्थानका मानिसहरूलाई भस्म पारेको छ। ए मोआब, तँलाई धिक्कार छ! ए कमोशको प्रजा, तँ नष्ट भइस्! त्यसले आफ्ना छोराहरूलाई भगुवाझैँ र आफ्ना छोरीहरूलाई कैदीझैँ एमोरीहरूका राजा सीहोनलाई दिएको छ। “तर हामीहरूले उनीहरूलाई पराजित गरेका छौं। हेश्बोनचाहिँ दीबोनसम्मै नष्ट भयो, र हामीले मेदबासम्म पुग्ने नोपालाई नाश गरेका छौं।” यसरी इस्राएलीहरू एमोरीहरूको देशमा वास गर्न लागे। मोशाले याजेरको भेद लिन मानिसहरू पठाएपछि इस्राएलीहरूले त्यसका वरिपरिका बस्तीहरू कब्जा गरेर त्यहाँका एमोरीहरूलाई धपाए। त्यसपछि तिनीहरू घुमेर बाशानको बाटो भएर उक्ले। बाशानका राजा ओग र उनका मानिसहरू तिनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई एद्रईमा निस्केर आए। परमप्रभुले मोशालाई भन्नुभयो, “त्यससँग नडरा, किनकि त्यो, त्यसका सबै मानिसहरू र त्यसको देशसमेत मैले तेरो हातमा सुम्पेको छु। तैंले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई गरेझैँ यसलाई पनि गर्नू।” यसकारण उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरू कसैलाई बाँकी नछोड़ी सबैलाई मारेर इस्राएलीहरूले उनको देश कब्जा गरे।
गन्ती 21 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 21:21-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू