YouVersion लोगो
खोज आइकन

गन्‍ती 19

19
रातो गाईको खरानी
1-2परमप्रभुले मोशा र हारूनलाई यी नियमहरू इस्राएलीहरूलाई दिन भन्‍नुभयो, “एउटा निष्‍खोट कहिले पनि जुवा नहालेको रातो गाई ल्‍याएर 3पूजाहारी एलाजारलाई दिनू। त्‍यसलाई छाउनीको बाहिर लगेर एलाजारको सामुन्‍नेमा मार्नू। 4तब एलाजारले केही रगत औँलाले उठाएर पवित्र पालको अगाडिपट्टि सातचोटि छर्कोस्। 5सम्‍पूर्ण गाई– छाला, मासु, रगत र आन्‍द्रा-भुँडीसहित पूजाहारीको सामुन्‍नेमा डढाउनू। 6त्‍यसपछि पूजाहारीले केही देवदारुको काठ, हिसपको हाँगा र एउटा रातो धागो आगोमा लाइदेओस्। 7त्‍यसपछि उसले आफ्‍नो वस्‍त्र धोओस्, आफैंमाथि पानी खन्‍याओस् र छाउनीभित्र पसोस्। तर साँझसम्‍म ऊ अशुद्ध रहनेछ। 8जुन मानिसले गाई जलाउँछ, त्‍यसले पनि आफ्‍ना वस्‍त्र धुनु र आफैंमाथि पानी खन्‍याउनुपर्नेछ। तर त्‍यो पनि साँझसम्‍म अशुद्ध रहनेछ। 9#हिब्रू 9:13तब जो मानिस विधिअनुसार शुद्ध छ, त्‍यसले त्‍यो गाईको खरानी बटुलेर छाउनी बाहिर रीतिअनुसार शुद्ध ठाउँमा राखोस्। विधिअनुसार अशुद्धि हटाउने पानी तयार गर्नलाई त्‍यो इस्राएलीहरूले चलाउनेछन्। यो विधि पाप हटाउन पूरा गर्नुपर्छ। 10खरानी बटुल्‍ने मानिसले आफ्‍ना वस्‍त्र धुनुपर्नेछ तर ऊ साँझसम्‍म अशुद्ध रहनेछ। यो व्‍यवस्‍था आउँदो सदाकालको निम्‍ति इस्राएलीहरू र तिनीहरूका बीचमा बास गर्ने विदेशीहरू सबैको निम्‍ति लागू हुनेछ।
लाश छुँदा चोख्‍याउने विधि
11“लाश छुने मानिस सात दिन अशुद्ध रहनेछ। 12त्‍यसले चोख्‍याउने पानी लिएर तेस्रो र सातौँ दिन आफैंलाई चोख्‍याउनुपर्छ, तब त्‍यो शुद्ध हुनेछ। तर त्‍यसले तेस्रो र सातौँ, दुवै दिन आफैंलाई चोख्‍याएन भने त्‍यो शुद्ध हुनेछैन। 13जसले लाश छोएपछि आफैंलाई चोख्‍याउँदैन, त्‍यो अशुद्ध रहनेछ। त्‍यसमाथि चोख्‍याउने पानी नलगाएको कारणले त्‍यसले परमप्रभुको पवित्र पाललाई अपवित्र पार्दछ र त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन।
14“यदि कोही पालमा मर्‍यो भने त्‍यस बेला पालमा हुने वा पस्‍ने मानिस सात दिन अशुद्ध रहनेछ। 15त्‍यस पालमा भएका ढकनीबिनाको हरेक भाँडो पनि अशुद्ध हुनेछ।
16यदि कसैले मारिएको वा घरदेखि बाहिर साधारण प्रकारले मरेको मानिसको लाशलाई छोयो वा कसैले मानिसको हड्डी वा चिहान छोयो भने त्‍यो सात दिनसम्‍म अशुद्ध रहनेछ।
17“त्‍यस मानिसको अशुद्धता हटाउन पाप कटनीको होमबलिबाट केही खरानी लिएर एउटा भाँडोमा हाली त्‍यसमा चोखो पानी हाल्‍नू।
18त्‍यसपछि शुद्ध भएको मानिसले हिसपको एउटा हाँगा पानीमा डुबाएर पाल र त्‍यसभित्र भएका सारा सर-सामानहरू र त्‍यहाँ भएका मानिसमाथि छर्कोस्। जसले मानिसको हड्डी वा चिहान वा मारिएको लाश र मरेको लाश छुन्‍छ, त्‍यसमाथि पनि त्‍यस मानिसले पानी छर्कोस्।
19तेस्रो अनि सातौँ दिनमा त्‍यो शुद्ध व्‍यक्तिले अशुद्ध भएको मानिसमाथि पानी छर्कनुपर्छ। सातौँ दिनमा अशुद्ध व्‍यक्तिलाई त्‍यसले शुद्ध पार्नुपर्छ। त्‍यो अशुद्ध व्‍यक्तिले आफ्‍ना वस्‍त्र धोएर आफैंमाथि पानी खन्‍याउनेछ र घाम डुब्‍दाखेरि शुद्ध हुनेछ।
20“जो अशुद्ध भएर आफैं चोखिएको छैन, त्‍यो अशुद्ध रहनेछ किनभने चोख्‍याउने पानी त्‍यसमाथि खन्‍याइएको छैन। त्‍यसले परमप्रभुको पवित्र पाललाई अपवित्र गर्दछ र त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन। 21आइन्‍दा सधैँभरि यो नियम तिमीहरूले मान्‍नुपर्नेछ। जुन मानिसले चोख्‍याउने पानी छुन्‍छ, त्‍यो बेलुकासम्‍म अशुद्ध रहनेछ। 22अशुद्ध व्‍यक्तिले जे कुरा छुन्‍छ, त्‍यो अशुद्ध हुन्‍छ र अरू कसैले त्‍यो कुरा छोयो भने त्‍यो पनि बेलुकासम्‍म अशुद्ध रहनेछ।”

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 19: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्