YouVersion लोगो
खोज आइकन

गन्‍ती 16:1-35

गन्‍ती 16:1-35 सरल नेपाली

लेवी गोत्रका कहात वंशका यिसहारको छोरो कोरहले मोशाको नेतृत्‍वको विरुद्धमा विद्रोह गर्ने आँट गर्‍यो। रूबेन कुलका तीन जना अर्थात् एलिआबका छोराहरू दातान, अबीराम र पेलेथको छोरो ओन पनि त्‍योपट्टि लागे। इस्राएली समाजले चुनेका र खुबै रुचाएका दुई सय पचास इस्राएलीहरूले पनि त्‍यसको साथ दिए। तिनीहरू मोशा र हारूनको सामुन्‍ने भेला भए र भन्‍न लागे, “तिमीहरूले अति गर्‍यौ! समाजका सबै मानिसहरू परमप्रभुकै हुन् अनि परमप्रभु हामीहरू सबैसित हुनुहुन्‍छ। तर मोशा, तिमीचाहिँ किन आफैंलाई सबैभन्दा ठूलो बनाई परमप्रभुको समाजभन्दा माथि उठाउँछौ?” यो कुरा सुन्‍नेबित्तिकै मोशा जमिनमा पस्रिएर प्रार्थना गर्न लागे। अनि कोरह र त्‍यसका पछि लाग्‍नेहरूलाई भने, “भोलि बिहान परमप्रभुले कोचाहिँ उहाँको आफ्‍नो जन हो, देखाउनुहुनेछ। जो उहाँको आफ्‍नो जन हो वा जसलाई उहाँले चुन्‍नुभएको हो, त्‍यसलाई नै उहाँले वेदीमा आफ्‍नो छेउ आउन दिनुहुनेछ। भोलि बिहान तिमी र तिम्रो पछि लाग्‍ने मानिसहरूले तावाहरूमा बलेको कोइलासहित धूप बालेर वेदीमा लैजाओ। तब हामी देख्‍नेछौं कि हामीमध्‍ये कसलाई परमप्रभुले चुन्‍नुभएको रहेछ। तिमी लेवीहरूले अति नै गर्‍यौ!” मोशाले कोरहलाई अझै भन्‍दै गए, “हे लेवी हो! सुन, के यो सानो कुरा ठान्‍छौ, इस्राएलका परमेश्‍वरले तिमीहरूलाई समाजका अरू मानिसहरूबाट छुट्ट्याएर उहाँको नजिक जान सक्‍ने अनि परमप्रभुको पवित्र पालमा उहाँको सेवा गर्ने र समाजको सहायता र सेवा गर्ने बनाउनुभएको छ? तिमीहरू र अरू सबै लेवीहरूलाई परमप्रभुले यस्‍तो इज्‍जत दिनुभएको छ। अब तिमीहरू पूजाहारीको पदमा पनि बस्‍न चाहन्‍छौ। जब तिमीहरू हारूनको विरुद्धमा दोष दिन्‍छौ, वास्तवमा तिमीहरूले र तिम्रा पछि लाग्‍नेहरूले परमप्रभुकै विरोध गरेका हौ।” तब मोशाले दातान र अबीरामलाई बोलाउन पठाए तर तिनीहरूले भने, “हामीहरू आउनेछैनौं! तिमीले हामीलाई मिश्रको मलिलो भूमिबाट निकालेर यहाँ उजाड-स्‍थानमा मार्न ल्‍याएका छौ– के त्‍यतिले तिमीलाई पुगेन, के तिमीले हामीमाथि प्रभुत्‍व पनि जमाउनुपर्छ? खै त तिमीले अझै पनि हामीलाई कुनै मलिलो भूमिमा ल्‍याएका छैनौ, हामीलाई खेत र दाखबारीहरू दिएका छैनौ र अब हामीलाई धोका दिन खोज्‍दै छौ। हामी आउदैनौं!” मोशा रिसाए र परमप्रभुलाई भने, “यी मानिसहरूले ल्‍याएका कुनै भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरू कसैलाई खराब गरेको छैनँ। मैले तिनीहरूको एउटा गधासम्‍म पनि लगेको छैनँ।” मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा पछि लाग्‍ने दुई सय पचास जना परमप्रभुले बास गर्ने पवित्र पालमा आउनुपर्छ। त्‍यहाँ हारून पनि हुनेछ। तिमीहरू सबैले आ-आफ्‍ना आगोका तावामा धूप बालेर प्रभुकहाँ चढाउनेछौ।” यसकारण प्रत्‍येक मानिस आ-आफ्‍नो तावामा बल्‍दो आगो र धूप लिएर मोशा र हारूनसित पवित्र पालको ढोकामा उभिए। तब कोरहले सारा इस्राएली समाजलाई भेला गर्‍यो र तिनीहरू मोशा र हारूनका सामुन्‍नेमा पवित्र पालको ढोकामा उभिए। अचानक परमप्रभुको उपस्‍थितिको तिरीमिरी पार्ने ज्‍योति सारा समुदायको अघि देखा पर्‍यो अनि परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “यी मानिसहरूदेखि पछि हट्। म अब यिनीहरूलाई तुरुन्‍तै नाश पार्नेछु।” तर मोशा र हारून भूइँमा घोप्‍टे र भने, “हे परमेश्‍वर! तपाईं सारा जीवनको मूल हुनुहुन्‍छ। एउटा मानिसले पाप गर्दा के सारा समाजमाथि तपाईं रिसाउनुहुन्‍छ?” परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई भन्, तिनीहरू कोरह, दातान र अबीरामका पालदेखि हटिजाऊन्।” तब इस्राएलका अगुवाहरूलाई साथ लिई मोशा, दातान र अबीरामकहाँ गए। उनले मानिसहरूलाई भने, “यी दुष्‍ट मानिसहरूका पालदेखि टाढा गएर उभ र तिनीहरूको केही कुरा नछोओ। होइन भने तिनीहरूका पापले गर्दा तिमीहरू पनि तिनीहरूसितै सखाप हुनेछौ।” यसकारण तिनीहरू कोरह, दातान र अबीरामका पालदेखि हटिगए। दातान र अबीराम आ-आफ्‍ना स्‍वास्‍नी र छोरा-छोरीहरूसित आफ्‍ना पालका ढोका-बाहिर निस्‍केर उभिएका थिए। मोशाले मानिसहरूलाई भने, “परमप्रभुले नै मलाई यी कामहरूको जिम्‍मा दिनुभएको हो र मैले आफ्‍नै इच्‍छाले यी काम गरेको होइनँ भनी तिमीहरूले अब थाहा पाउनेछौ। परमेश्‍वरको दण्‍ड नपाई यी मानिसहरू स्‍वाभाविकरूपले मरे भने मलाई परमप्रभुले पठाउनुभएको होइन। तर परमप्रभुले कहिल्‍यै नसुनिएको काम गर्नुभई धरती फाटेर सरसम्‍पत्तिसहित तिनीहरूलाई निल्‍यो र तिनीहरू मृत्‍युलोकमा जिउँदै खसे भने यी मानिसहरूले परमप्रभुलाई अस्‍वीकार गरेका रहेछन् भनी तिमीहरूले थाहा पाउनेछौ।” मोशाले यति कुरा भनिसकेका मात्र थिए, दातान र अबीराम उभिएको जमिन फाटिहाल्‍यो र ती दुई, तिनका परिवारहरू र कोरहका पछि लाग्‍नेहरू सबैलाई सर-सम्‍पत्तिसहित निलिहाल्‍यो। यसरी तिनीहरू सर-सम्‍पत्तिसहित जिउँदै मृत्‍युलोकमा खसे। जमिन तिनीहरूमाथि बन्‍द भयो र तिनीहरू लोप भए। त्‍यहाँ भएका सबै इस्राएलीहरू तिनीहरूले चिच्‍च्‍याएको सुनेर भागे। “भाग, भाग, पृथ्‍वीले हामीलाई पनि निलिहाल्‍ला!” भन्‍दै तिनीहरू कराए। त्‍यसपछि परमप्रभुले आगोको ज्‍वाला पठाउनुभयो र धूप चढाएर उभिएका दुई सय पचास जना मानिसहरूलाई भस्‍म पार्नुभयो।

गन्‍ती 16 पढ्नुहोस्