परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई यी तलका नियमहरू दिनुभयो। उहाँले तिनीहरूलाई दिनुहुने देशमा ती तिनीहरूले पालन गर्नुपर्ने थियो। त्यस देशमा उब्जनी भएको अन्न खाँदा त्यसको केही हिस्सा परमप्रभुलाई विशेष भेटीको रूपमा छुट्ट्याउनुपर्नेछ। जब तिमीहरू रोटी पोल्दछौ, नयाँ अन्नले बनेको पहिलो रोटी परमप्रभुलाई एउटा विशेष भेटीका रूपमा चढाउनुपर्छ। त्यो रोटी ठीक त्यही प्रकारले चढाउनुपर्नेछ, जसरी तिमीहरू आफूले छाँटेका पहिलो अन्नबाट विशेष भेटी चढाउँदछौ। आउँदो सदाकालको निम्ति तिमीहरूले यो विशेष भेटी आफूले पोलेको रोटीबाट परमप्रभुलाई दिनुपर्नेछ। तर यदि कसैले अन्जानमा परमप्रभुले मोशालाई दिनुभएको यी नियम पालन गरेन भने वा त इस्राएली समाजले आउँदा दिनमा परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञाहरू मानेनन् भने र समाजमा अज्ञानताले यदि त्यो भुल भएको हो भने तिनीहरूले उचित अन्नबलि र मद्यबलिसित एउटा साँढे होमबलि चढाऊन्। तिनका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। त्यसमाथि तिनीहरूले एउटा बाख्राको पापबलि चढाऊन्। पूजाहारीले समाजको लागि शुद्धीकरणको विधि पूरा गर्नेछ र तिनीहरूले क्षमा पाउनेछन् किनभने तिनीहरूले जानी-जानी भुल गरेका होइनन् र तिनीहरूले पापबलि र आगोद्वारा चढाइने बलि परमप्रभुलाई चढाएका छन्। इस्राएलका सारा समाज र तिनीहरूका माझमा बास गर्ने विदेशीहरूले क्षमा पाउनेछन् किनभने सबै जना त्यस भुलमा दोषी भएका थिए। कुनै एक व्यक्तिले अन्जानमा पाप गर्यो भने त्यसले एउटा एकवर्षे पाठी पापबलि चढाओस्। वेदीमा पूजाहारीले त्यसलाई शुद्ध पार्नलाई शुद्धीकरणको विधि पूरा गरोस् र त्यसले क्षमा पाउनेछ। अन्जानमा पाप गर्ने इस्राएली होस् वा त्यहीँ बास गर्ने विदेशी, दुवैमाथि एउटै नियम लागू हुनेछ। तर इस्राएली होस् वा विदेशी, जसले जानी-जानी पाप गर्छ, त्यसमाथि परमप्रभुलाई अपमान गरेको दोष लाग्नेछ र त्यसलाई मार्नुपर्छ किनभने त्यसले परमप्रभुको वचनलाई लत्यायो र उहाँको आज्ञा जानी-जानी तोड्यो। त्यसको मृत्युको लागि त्यो आफैं जिम्मेवार छ। इस्राएलीहरू उजाड-भूमिमा नै हुँदा एकचोटि एउटा मान्छेले विश्रामको दिनमा दाउरा बटुलिरहेको भेटियो। त्यसलाई तिनीहरूले मोशा, हारून र सारा समाजको अघि पुर्याए। त्यसलाई के गर्नुपर्ने हो, त्यो पक्का थाहा नपाएकोले तिनीहरूले त्यसलाई थुनामा राखे। तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिसलाई मार्नुपर्छ। सारा समाजले त्यसलाई छाउनी बाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” यसकारण परमप्रभुले आज्ञा गर्नुभएअनुसार सारा समाजले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हानेर मारे। परमप्रभुले इस्राएलका मानिसहरूलाई यसो भन्नू भनी मोशालाई आज्ञा गर्नुभयो, “आफ्ना वस्त्रका कुना-कुनामा झुम्का लगाओ र झुम्कामा नीलो डोरी हाल। आउँदो सदाकालको लागि तिमीहरूले त्यसो गर्नू। ती झुम्काले तिमीहरूलाई सम्झना दिइरहनेछ र ती झुम्कालाई देख्नेबित्तिकै तिमीहरूले मेरा सबै आज्ञाहरू याद गर्नेछौ र तिनको पालन गर्नेछौ। तब तिमीहरू मदेखि तर्की जाने छैनौ र आफ्नै मनका इच्छा र चाहनाको पछि लाग्नेछैनौ। ती झुम्काहरूले मेरा आज्ञाहरू पालन गर्न तिमीहरूलाई याद दिलाउनेछन् र तिमीहरू सम्पूर्णरूपले मेरा हुनेछौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई तिमीहरूका परमेश्वर बनूँ भनी मिश्रदेखि निकाली ल्याएँ। म परमप्रभु हुँ।”
गन्ती 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 15:17-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू