केही समयपछि धेरै जना पुरुष र स्त्रीहरूले आफ्ना यहूदी भाइ-बन्धुहरूको विरुद्धमा कुरा गर्न लागे। कोही भन्थे, “हाम्रो जहान ठूलो छ, हामीलाई बाँच्न अन्न चाहिन्छ।” कोही भन्थे, “भोकले मर्नुबाट बाँच्नलाई हामीले आफ्ना खेतबारी, घर र दाखबारीहरू बन्धक राखेर अन्न जगेडा गर्नुपरेको छ।” अरू भन्थे, “हाम्रा खेत र दाखबारीमा लाग्ने सरकारी कर तिर्न हामीले ऋण लिनुपरेको छ। अरू यहूदीजस्तै हामी पनि यहूदी वंशका हौं। हाम्रा छोरा-छोरीहरू पनि के तिनीहरूको जस्तै असल र प्रिय छैनन् र? तर हामीले आफ्ना छोरा-छोरीहरूलाई कमारा-कमारी बनाएर बेच्नुपरेको छ। हाम्रा कति छोरीहरू कमारी भएर विक्री भइसके। हाम्रा खेत र दाखबारीहरू हामीदेखि खोसिएर हामी असहाय भएका छौं।” यस्तो कुरा सुन्दा मलाई साह्रै रिस उठ्यो। मैले केही गर्न कदम उठाउने निश्चय गरें। अगुवा र भारदारहरूलाई हकारें र भनें, “तिमीहरूले आफ्नै भाइहरूलाई सताइरहेका छौ।” यो समस्या समाधान गर्न मैले सबैलाई एउटा सभामा भेला गरें र भनें, “सकभर विदेशीका हातमा बेचिएका हाम्रा यहूदी भाइ-बन्धुहरूलाई हामीले किनेर छुटाउँदै छौं। तर अब तिमीहरूले चाहिँ आफ्नै भाइ-बहिनीहरूलाई किनबेच गर्न सुरु गरेछौ। एउटा यहूदी अर्को यहूदीको हातमा बेचिँदै छ। यो कस्तो कुरा हो?” अगुवाहरू जवाफ नपाएर चुप रहे। मैले फेरि भनें, “तिमीहरूको यो काम गल्ती भयो। अब, परमेश्वरलाई आदर दिएर जे कुरा ठीक छ सो गर। तब पो हाम्रा शत्रुहरूले हामीलाई खिसी गर्ने केही कुरा पाउनेछैनन्। मैले मानिसहरूलाई अन्न र धन ऋण दिएको छु। मेरा साथी र कारिन्दाहरूले पनि त्यसरी ऋण दिएका छन्। अब हामीले ती ऋण छोडिदिऔं। धन, अन्न, मद्य, जैतुनको तेल जे होस्, सबैको ऋण छोडिदेऔँ। तिनीहरूका खेत, दाख र भद्राक्षका बारी र घरहरू झट्टै तिनीहरूलाई फिर्ता देओ।” अगुवाहरूले भने, “तपाईंले भनेजस्तो हामी गर्नेछौं। हामी तिनीहरूका धन-सम्पत्ति फर्काइदिनेछौं र ऋण फिर्ता लिनेछैनौं।” मैले पूजाहारीहरूलाई बोलाएँ र तिनका अघि ती अगुवाहरूलाई आफूले दिएको प्रतिज्ञाअनुसार शपथ खान लाएँ। तब मैले कम्मरमा बाँधिएको पटुका फुकालें र टकटक्याएँ। “तिमीहरू कसैले आफ्ना प्रतिज्ञा पूरा गरेनौ भने परमेश्वरले यसरी नै तिमीहरूलाई टक्टक्याउनुहुनेछ,” मैले भनें, “परमेश्वरले तिम्रा घर, धन-सम्पत्ति सबै खोस्नुहुनेछ र तिम्रा हात रित्ता पारिदिनुहुनेछ।” त्यहाँ भएका सबैले “आमेन” भने र परमप्रभुको प्रशंसा गरे। अगुवाहरूले आफ्ना प्रतिज्ञा कायम राखे। राजा अर्तासास्तका शासनकालको बीसौँदेखि बत्तीसौं वर्षसम्म म यहूदाको बडा-हाकिम थिएँ। यी बाह्र वर्षभरि मैले र मेरा कुटुम्ब र परिवारले बडा— हाकिमले पाउने भोजन लिएनौं। मभन्दा अघिका सबै बडा-हाकिमहरू प्रजामाथि बोझ बन्थे र खान-पानको निम्ति दिनको चालीस वटा चाँदीका मुद्रा लिन्थे। उनका चाकरहरूले पनि प्रजालाई सताउँथे। तर मैले भिन्नै प्रकारले काम गरें किनभने म परमेश्वरलाई आदर गर्थें। मैले आफ्नो सारा शक्ति पर्खाल मर्मत गर्नमा लगाएँ, मैले धन-सम्पत्ति जगेडा गरिनँ। मेरो अधीनमा काम गर्नेहरू सबैले पर्खाल बनाउने काममा भाग लिए।
नहेम्याह 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याह 5:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू