नहेम्याह 5:1-16
नहेम्याह 5:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही समयपछि धेरै जना पुरुष र स्त्रीहरूले आफ्ना यहूदी भाइ-बन्धुहरूको विरुद्धमा कुरा गर्न लागे। कोही भन्थे, “हाम्रो जहान ठूलो छ, हामीलाई बाँच्न अन्न चाहिन्छ।” कोही भन्थे, “भोकले मर्नुबाट बाँच्नलाई हामीले आफ्ना खेतबारी, घर र दाखबारीहरू बन्धक राखेर अन्न जगेडा गर्नुपरेको छ।” अरू भन्थे, “हाम्रा खेत र दाखबारीमा लाग्ने सरकारी कर तिर्न हामीले ऋण लिनुपरेको छ। अरू यहूदीजस्तै हामी पनि यहूदी वंशका हौं। हाम्रा छोरा-छोरीहरू पनि के तिनीहरूको जस्तै असल र प्रिय छैनन् र? तर हामीले आफ्ना छोरा-छोरीहरूलाई कमारा-कमारी बनाएर बेच्नुपरेको छ। हाम्रा कति छोरीहरू कमारी भएर विक्री भइसके। हाम्रा खेत र दाखबारीहरू हामीदेखि खोसिएर हामी असहाय भएका छौं।” यस्तो कुरा सुन्दा मलाई साह्रै रिस उठ्यो। मैले केही गर्न कदम उठाउने निश्चय गरें। अगुवा र भारदारहरूलाई हकारें र भनें, “तिमीहरूले आफ्नै भाइहरूलाई सताइरहेका छौ।” यो समस्या समाधान गर्न मैले सबैलाई एउटा सभामा भेला गरें र भनें, “सकभर विदेशीका हातमा बेचिएका हाम्रा यहूदी भाइ-बन्धुहरूलाई हामीले किनेर छुटाउँदै छौं। तर अब तिमीहरूले चाहिँ आफ्नै भाइ-बहिनीहरूलाई किनबेच गर्न सुरु गरेछौ। एउटा यहूदी अर्को यहूदीको हातमा बेचिँदै छ। यो कस्तो कुरा हो?” अगुवाहरू जवाफ नपाएर चुप रहे। मैले फेरि भनें, “तिमीहरूको यो काम गल्ती भयो। अब, परमेश्वरलाई आदर दिएर जे कुरा ठीक छ सो गर। तब पो हाम्रा शत्रुहरूले हामीलाई खिसी गर्ने केही कुरा पाउनेछैनन्। मैले मानिसहरूलाई अन्न र धन ऋण दिएको छु। मेरा साथी र कारिन्दाहरूले पनि त्यसरी ऋण दिएका छन्। अब हामीले ती ऋण छोडिदिऔं। धन, अन्न, मद्य, जैतुनको तेल जे होस्, सबैको ऋण छोडिदेऔँ। तिनीहरूका खेत, दाख र भद्राक्षका बारी र घरहरू झट्टै तिनीहरूलाई फिर्ता देओ।” अगुवाहरूले भने, “तपाईंले भनेजस्तो हामी गर्नेछौं। हामी तिनीहरूका धन-सम्पत्ति फर्काइदिनेछौं र ऋण फिर्ता लिनेछैनौं।” मैले पूजाहारीहरूलाई बोलाएँ र तिनका अघि ती अगुवाहरूलाई आफूले दिएको प्रतिज्ञाअनुसार शपथ खान लाएँ। तब मैले कम्मरमा बाँधिएको पटुका फुकालें र टकटक्याएँ। “तिमीहरू कसैले आफ्ना प्रतिज्ञा पूरा गरेनौ भने परमेश्वरले यसरी नै तिमीहरूलाई टक्टक्याउनुहुनेछ,” मैले भनें, “परमेश्वरले तिम्रा घर, धन-सम्पत्ति सबै खोस्नुहुनेछ र तिम्रा हात रित्ता पारिदिनुहुनेछ।” त्यहाँ भएका सबैले “आमेन” भने र परमप्रभुको प्रशंसा गरे। अगुवाहरूले आफ्ना प्रतिज्ञा कायम राखे। राजा अर्तासास्तका शासनकालको बीसौँदेखि बत्तीसौं वर्षसम्म म यहूदाको बडा-हाकिम थिएँ। यी बाह्र वर्षभरि मैले र मेरा कुटुम्ब र परिवारले बडा— हाकिमले पाउने भोजन लिएनौं। मभन्दा अघिका सबै बडा-हाकिमहरू प्रजामाथि बोझ बन्थे र खान-पानको निम्ति दिनको चालीस वटा चाँदीका मुद्रा लिन्थे। उनका चाकरहरूले पनि प्रजालाई सताउँथे। तर मैले भिन्नै प्रकारले काम गरें किनभने म परमेश्वरलाई आदर गर्थें। मैले आफ्नो सारा शक्ति पर्खाल मर्मत गर्नमा लगाएँ, मैले धन-सम्पत्ति जगेडा गरिनँ। मेरो अधीनमा काम गर्नेहरू सबैले पर्खाल बनाउने काममा भाग लिए।
नहेम्याह 5:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब पुरुषहरू र तिनका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूका विरुद्धमा आवाज उठाए। कतिले भने, “हामी अनि हाम्रा छोराछोरीहरू धेरै छौं, र हामीहरू बाँच्नका निम्ति हामीलाई अन्नको खाँचो छ।” अरूले चाहिँ यसो भने, “अनिकालको समयमा अन्न पाउन हामी आफ्ना खेतहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौं।” अझ अरूहरूले यसो भनेर दु:ख पोखाए, “आफ्ना खेतहरू र दाखबारीहरूको राजकर तिर्न हामीले ऋण लिनुपरेको छ। हाम्रो शरीर आफ्ना देशका अरू मानिसहरूको शरीरजस्तै हो। हाम्रा छोराछोरी उनीहरूका छोराछोरीजस्तै छन्, तापनि हामीलाई आफ्ना छोराछोरीहरू कमारा-कमारी तुल्याउन दिनुपरिरहेको छ। कसै-कसैका छोरीहरू त अघि नै कमारी तुल्याइएका छन्, तर हामी केही पनि गर्न सक्दैनौं, किनभने हाम्रा खेतहरू र दाखबारीहरू अरूहरूका भइसकेका छन्।” तिनीहरूको रोदन र तिनीहरूले भनेको कुरा सुनेर मलाई साह्रै रीस उठ्यो। ती सबलाई आफ्नो मनमा मैले चिन्तन गरें। अनि भारदारहरू र अधिकृतहरूको दोष देखाउँदै मैले भनें, “तिमीहरू आफ्ना यहूदी दाजुभाइहरूबाट धेरै ब्याज लिँदैछौ।” मैले यस विषयमा एउटा ठूलो सभा बोलाएँ अनि भनें, “हामीले सकभर अरू जातिहरूमा बेचिएका हाम्रा यहूदी बन्धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्ना भाइहरूलाई तिमीहरू हामीलाई बेचिरहेका छौ।” तिनीहरू चूप रहे, किनकि तिनीहरूसित भन्ने कुरा केही थिएन। मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्यजाति शत्रुहरूको नजरमा निन्दित नहुनलाई हाम्रा परमेश्वरको डर राखेर तिमीहरूलाई बस्नुपर्नेथिएन? म र मेरा भाइहरू र मेरा अधीनका मानिसहरू पनि तिनीहरूलाई रुपियाँपैसा र अन्न सापट दिँदैछौं। तर ऋणको लागि ब्याज उठाउने काम बन्द होस्। तिनीहरूबाट लिएका खेतहरू, दाखबारीहरू र भद्राक्षबारीहरू र घरहरू तुरुन्तै तिनीहरूलाई फर्काइदेओ, अनि तिनीहरूबाट असूल गरेका ब्याज, अर्थात् रुपियाँपैसा, अन्न, नयाँ दाखमद्य र तेलको सयौँ भाग फर्काइदेओ।” “हामी फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही लिनेछैनौं। तपाईं जे भन्नुहुन्छ सो हामी गर्नेछौं” भनी तिनीहरूले भने। तब मैले पूजाहारीहरूलाई बोलाएँ, र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरेअनुसार गर्न शपथ खान लाएँ। त्यसपछि मैले मेरो खास्टोको छेउ टकटक्याएर भनें, “आफ्नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्वरले यसरी नै टकटक्याइदेऊन्। त्यसलाई यसरी नै टकटक्याएर रित्तो बनाइओस्।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्नो प्रतिज्ञाअनुसार गरे। त्यसबाहेक यहूदा देशका राज्यपाल म नियुक्त भएको समयदेखि, अर्थात् अर्तासास्त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्म, जम्मा बाह्र वर्षसम्म मैले र मेरा भाइहरूले राज्यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं। तर मभन्दा अघिका राज्यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्याचार गरेका थिए। तर परमेश्वरको भय राखेर मैले त्यस्तो व्यवहार गरिनँ। त्यसको साटो मैले पर्खाल बनाउने काममा मेरो सारा मेहनत लगाएँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए, र हामीले तिनीहरूबाट कुनै जग्गाजमिन लिएनौं।
नहेम्याह 5:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब मानिसहरू र तिनीहरूका पत्नीहरूले आफ्ना यहूदी दाजुभाइहरूको विरोधका आवाज उठाउन थाले। केही मानिसहरूले यसो भन्दैथिए, “हामी र हाम्रा छोराछोरीहरू ठूलो संख्यामा छौँ; यसकारण हामीलाई खान र बाँच्नको निम्ति, जसरी भए पनि, अन्न चाहिन्छ।” अरू केही मानिसहरूले चाहिँ यसो भन्दैथिए, “हामी अनिकालको समयमा अन्न पाऔँ भनेर आफ्ना खेतबारीहरू, दाखबारीहरू र घरहरू बन्धक राख्दैछौँ।” अनि अरू मानिसहरूले यसो भन्दैथिए, “हामीले आफ्ना खेतबारी र दाखबारीहरूका निम्ति कर तिर्नलाई रकम ऋण लिएका छौँ। हामी आफ्ना दाजुभाइहरूकै मासु र रगत भए तापनि हाम्रा सन्तान तिनीहरूका झैँ असल भए तापनि हामीले आफ्ना छोराछोरीहरू तिनीहरूका अधीनमा कमारा-कमारी तुल्यानलाई दिनुपरेको छ। हाम्रा कोही-कोही छोरीहरू त पहिल्यै कमारी भइसकेका छन्। तर हामी असहाय छौँ, किनकि हाम्रा खेतबारीहरू र हाम्रा दाखबारीहरू अरूहरूका भइसकेका छन्।” जब मैले तिनीहरूका रोदन र यी अभियोगहरू सुनेँ, तब मलाई साह्रै रिस उठ्यो। मैले तिनीहरूलाई मनमा सम्झेँ। त्यसपछि अगुवाहरू र अधिकारीहरूलाई दोषी ठहराएँ। मैले तिनीहरूलाई भनेँ, “तिमीहरूले आफ्नै दाजुभाइहरूबाट ब्याज लिँदैछौ!” यसकारण तिनीहरूसँग सम्झौता गर्न मैले एउटा ठूलो सभा राखेँ। अनि मैले तिनीहरूलाई भनेँ: “सम्भव भएसम्म हामीले अरू जातिहरूकहाँ बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरेर छुटाएका छौँ। अब तिमीहरूले के आफ्ना दाजुभाइहरूलाई बेच्छौ त? वा तिनीहरू फेरि हामीहरूकहाँ नै बिक्री गरिऊन् त?” तब तिनीहरू चुपचाप बसे; किनकि तिनीहरूसँग जवाफ दिनको लागि केही थिएन। यसकारण मैले भन्दै गएँ, “तिमीहरूले जे गरिरहेका छौ, सो ठिक छैन। हाम्रा गैरयहूदी शत्रुहरूको निन्दाबाट बच्नको लागि के तिमीहरू परमेश्वरको डर मानेर चल्नुपर्ने थिएन र? यसरी म, मेरा दाजुभाइहरू र मेरा मानिसहरूले पनि तिनीहरूलाई रकम र अन्न उधारो दिन्छौँ। तर यस्तो ब्याज लिने कामचाहिँ बन्द गरौँ! तिनीहरूलाई तिनीहरूका खेतहरू, दाखबारीहरू, जैतुनबारीहरू र घरहरू साथै तिमीहरूले तिनीहरूबाट लिएका रकम, अन्न, दाखमद्य र तेलको सयौँ भाग ब्याज तुरुन्तै फर्काइदेऊ।” तिनीहरूले भने, “हजुर, हामी त्यो फर्काइदिनेछौँ। अनि हामी तिनीहरूबाट अरू केही कुरा माग गर्नेछैनौँ। तपाईंले भन्नुभएजस्तै हामी गर्नेछौँ।” तब मैले पुजारीहरूलाई बोलाइपठाएँ; अनि अगुवाहरू र अधिकारीहरूलाई तिनीहरूले जे गर्नेछौँ भनी भनेका थिए, त्यसको शपथ खान लगाएँ। मैले आफ्ना वस्त्रको छेउको मोडिएको भाग टकटकाएर भनेँ, “यसरी नै यस प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसलाई त्यसको घर र सम्पत्तिबाट परमेश्वरले टकटक्याइ दिनुहुनेछ। यसरी नै यस्तो मानिस टकटक्याइएको होस् र रित्तो पारिएको होस्!” यस कुरामा सारा समुदायले भने, “आमेन,” अनि याहवेहको प्रशंसा गरे। तब मानिसहरूले आफूले प्रतिज्ञा गरेझैँ गरे। यसबाहेक, राजा अर्तसास्तको शासनकालको बीसौँ वर्षमा म यहूदामा तिनीहरूको राज्यपाल नियुक्त भएदेखि उहाँको बत्तीसौँ वर्ष, अर्थात् बाह्र वर्षसम्म अधिकृत भएर सेवा गर्दा, न त मैले, न त मेरा दाजुभाइहरूले राज्यपालको निम्ति दिइने भोजन खायौँ। तर मभन्दा पहिलेका राज्यपालहरूले मानिसहरूमाथि ठूलो बोझ लगाएका थिए। अनि भोजन र दाखमद्यको साथमा तिनीहरूबाट चार सय शेकेल चाँदी लिए। तिनीहरूका सहायकहरूले पनि मानिसहरूमाथि अधिकार जमाए। तर परमेश्वरप्रतिको डरको कारणले गर्दा मैले त्यसो गरिनँ। त्यसको सट्टा मैले आफूलाई यस पर्खालको काममा लगाइरहेँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए; हामीले कुनै पनि जग्गाजमिन किनेनौँ।
नहेम्याह 5:1-16 पवित्र बाइबल (NERV)
अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले। कोही भन्दै थिए, “हामी आफ्ना छोरा अनि छोरीहरूसित धेरै छौं। यसर्थ हामीलाई केही अन्न दिनु होस् जसद्वारा हामी खाएर जीवित रहन सकौं।” अरूहरू भन्दै थिए, “हामी हाम्रा खेतहरू, दाखबारीहरू अनि हाम्रा घरहरू बन्दक राख्दैछौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।” अझ अरूहरू भन्दै थिए, “हामीले हाम्रा खेतहरू अनि दाख बारीहरूमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ। अनि अहिले जस्तो हाम्रो देशका मानिसहरूमा रगत मासु छ। हाम्रो पनि त्यस्तै हो। हाम्रा छोराहरू तिनीहरूका जस्तै छन् अनि हेर हामी हाम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी दिन वाध्य भएका छौं अनि हाम्रा छोरीहरूलाई कमारी बनाई सकिएको छ। हामी तिनीहरूको मुक्तिको लागि केही गर्न सक्तैनौ कारण हाम्रो खेती र अङ्गुर बगान अहिले अर्काको भएकोछ।” जब मैले तिनीहरूको उजूर अनि यी वचनहरू सुनें म अत्यन्त क्रोधित भएँ मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहरू अनि अधिकारीहरूलाई दोष दिएँ र तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका आफ्नै मानिसहरूबाट ब्याज एकत्रित गरिरहेका छौ।” तब मैले तिनीहरूसित एउटा ठूलो जमघट परिमाण गर्न बोलाए। मैले तिनीहरूलाई भनें, “हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ।” तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्। तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ। म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं। तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।” तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।” यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ। मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।” त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे। अनि मानिसहरूले शपथलिए जस्तै गरे। अझ यहूदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौं बर्ष देखि बत्तीशौं बर्ष, (करिब बाह्र बर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहरूले प्रशासकको भोजन भोग गरेनौं। पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे। त्यसको सट्टा म स्वयंले पर्खाल निर्माण गर्न लगाएँ अनि हामीहरूले कुनै भूमि प्राप्त गरेनौं। मेरा समस्त मानिस र सेवकहरू काम गर्नका निम्ती त्यहाँ भेला भएका थिए।