YouVersion लोगो
खोज आइकन

मर्कूस 9:33-50

मर्कूस 9:33-50 सरल नेपाली

उहाँहरू कफर्नहुम सहरमा आइपुग्‍नुभयो र घरभित्र पसेपछि येशूले चेलाहरूलाई सोध्‍नुभयो, “बाटोमा आउँदा तिमीहरूले के बहस गर्दै थियौ?” तर तिनीहरूले केही भनेनन् किनभने तिनीहरूले “हामीहरूमध्‍ये को ठूलो हो” भनेर बहस गर्दै आएका थिए। अनि येशू बस्‍नुभयो र बाह्रै जना चेलाहरूलाई बोलाएर भन्‍नुभयो, “सबैभन्दा ठूलो हुन खोज्‍नेले सबैभन्दा सानो भएर सबैको सेवा गर्नुपर्छ।” त्‍यसपछि उहाँले एउटा सानो बालकलाई तिनीहरूको अगाडि ल्‍याउनुभयो र त्‍यसलाई काखमा लिएर चेलाहरूलाई भन्‍नुभयो, “मेरो नाउँमा यस्‍ता बालकलाई स्‍वागत गर्नेले मलाई नै स्‍वागत गर्छ अनि मलाई स्‍वागत गर्नेले मलाई होइन, मलाई पठाउनुहुने पितालाई नै स्‍वागत गर्छ।” यूहन्‍नाले येशूलाई भने, “गुरु, हामीले तपाईंको नाउँमा एक जना मान्‍छेले भूतहरू निकालिरहेको देख्‍यौं। तर ऊ हाम्रो पछि नआएकोले हामीले उसलाई रोक्‍यौं।” येशूले जवाफ दिनुभयो, “उसलाई नरोक। मेरो नाउँमा अचम्‍मका काम गर्नेले तुरुन्‍तै मेरो विरुद्धमा खराब कुरा बोल्‍न सक्‍दैन। हाम्रो विरोध नगर्ने जति हामीहरूकै पट्टिका हुन्। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, कसैले तिमीहरूलाई ख्रीष्‍टका हौ भनेर मेरो नाउँमा एक गिलास पानी मात्रै पिउन दियो भने पनि त्‍यसले इनाम पाउनेछ।” येशूले फेरि भन्‍नुभयो, “यदि कसैले ममाथि विश्‍वास गर्ने यस्‍ता सानाहरूको विश्‍वास बिगार्छ भने त्‍यसलाई त बरु घिच्रोमा जाँतो झुण्‍ड्याएर समुद्रमा फ्‍याँकिदिनु बेस हुनेछ। यदि तिम्रो हातले तिमीलाई पापमा पार्छ भने यसलाई काटेर फालिदेओ। दुवै हात लिएर नरकको कहिल्‍यै ननिभ्‍ने आगोमा पर्नुभन्दा त बरु एउटा हात नभई अजम्‍मरी जीवन पाउनु बेस हो। (त्‍यो नरकमा त भोग्‍नुपर्ने कष्‍ट कहिले पनि सकिंदैन र त्‍यहाँको आगो पनि कहिल्‍यै निभ्‍दैन।) अनि तिम्रो खुट्टाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई काटेर फालिदेओ किनभने दुवै खुट्टा भएर नरकमा पर्नुभन्दा बरु खोरण्‍डो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो। (त्‍यो नरकमा भोग्‍नुपर्ने कष्‍ट कहिल्‍यै पनि सकिंदैन र त्‍यहाँको आगो पनि कहिल्‍यै निभ्‍दैन।) अनि त्‍यसै गरी तिम्रो आँखाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई झिकेर मिल्‍काइदेओ किनभने आँखा भएर नरकमा पर्नुभन्दा त बरु कानो भएर परमेश्‍वरको राज्‍यमा पस्‍नु बेस हो। त्‍यो नरकमा भोग्‍नुपर्ने कष्‍ट त कहिल्‍यै पनि सकिंदैन र त्‍यहाँको आगो पनि कहिल्‍यै निभ्‍दैन। “नुनले बलिदान शुद्ध पारेजस्‍तै सबै जना आगोले खारिनेछन्। नुन असल कुरो हो तर नुन नै अलिनो भयो भने केले नुनिलो बनाउने? आफूमा भएको नुनलाई जोगाइराख र आपसमा मिलेर बस।”

मर्कूस 9 पढ्नुहोस्