YouVersion लोगो
खोज आइकन

मर्कूस 9:33-50

मर्कूस 9:33-50 NNRV

उहाँहरू कफर्नहुममा आउनुभयो, र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ?” तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले “हामीमा सबैभन्‍दा महान्‌ को हो?” भनी आपसमा बहस गरेका थिए। तब उहाँ बस्‍नुभयो, र बाह्रै जनालाई बोलाउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “कोही मानिस पहिलो हुने इच्‍छा गर्छ भने, त्‍यो सबैभन्‍दा पछिल्‍लो र सबैको सेवक हुनुपर्छ।” अनि एक जना सानो बालकलाई लिएर उहाँले त्‍यसलाई तिनीहरूका बीचमा राख्‍नुभयो, र त्‍यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले यस्‍ता साना बालकहरूमध्‍ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्‍यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्‍यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।” यूहन्‍नाले उहाँलाई भने, “गुरुज्‍यू, एक जना मान्‍छेले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्‍यौं। हामीले त्‍यसलाई त्‍यसो गर्न मनाही गर्‍यौं, किनकि त्‍यो हामीलाई पछ्याउने मान्‍छे होइन।” तर येशूले भन्‍नुभयो, “त्‍यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्‍तै मेरो विरुद्धमा खराब बोल्‍नेछैन। किनकि जो हाम्रो विरुद्धमा छैन, त्‍यो हाम्रो पक्षमा छ। किनभने जसले तिमीहरू ख्रीष्‍टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले कुनै किसिमले आफ्‍नो इनाम गुमाउनेछैन। “जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्‍ये एक जनालाई बाधा देला, त्‍यसको निम्‍ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्‍यसको घिच्रोमा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु असल हुनेथियो। यदि तिम्रो हातले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्‍ने आगोमा जानुभन्‍दा डुँड़ो भएर जीवनमा पस्‍नु तिम्रो निम्‍ति असल हो। [ नरकमा त न कीराहरू मर्दछन्, न आगो नै निभ्‍दछ।] अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनुभन्‍दा त खोरन्‍डो भएर जीवनमा पस्‍नु तिम्रो निम्‍ति असल हो। [ नरकमा न कीराहरू मर्दछन्, न आगो नै निभ्‍दछ।] यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्‍छ भने त्‍यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्‍दा त एक आँखा भएर परमेश्‍वरको राज्‍यमा पस्‍नु तिम्रो निम्‍ति असल हो। नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्‍दछ। किनकि प्रत्‍येकलाई आगोले नै नुनिलो पार्छ। “नून असल हो, तर नूनको स्‍वाद गयो भने त्‍यो केले स्‍वादिलो तुल्‍याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्‍तिमा रहो।”