येशू बेथानिया गाउँमा सिमोन कुष्ठरोगीको घरमा जानुभयो। उहाँले खाइरहँदा एउटी स्त्री सिङ्गमरमरको भाँडाभरि धेरै महँगो अत्तर लिएर आइपुगिन्। त्यो सकली अत्तर जटामसी भनिने बोटबाट बनाइएको थियो। उनले त्यो भाँडो नै फोरेर येशूको टाउकोमा खन्याइदिइन्। उनले यसो गरेको सहन नसकेर कति जना मानिसहरूले एक-अर्कालाई भने, “यति महँगो अत्तर किन त्यसै खेर फालेको? बरु यसलाई बेचेर त्यसबाट आएको पैसा गरीबहरूलाई बाँडिदिएको भए हुन्थ्यो नि! यो बेचेको भए तीन सयभन्दा पनि बढी चाँदीका सिक्का आउनेथियो।” यसरी तिनीहरूले ती स्त्रीलाई झपारे। तर येशूले भन्नुभयो, “भइहाल्यो, किन तिमीहरू यिनलाई कचकच गर्छौ? यिनले मेरो लागि एउटा असल काम गरेकी छन्। गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन् अनि उनीहरूको जहिले पनि भलाइ गर्न सक्छौ! तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ। उनले जे गर्न सकिन्, त्यही गरिन्। यो अत्तर खन्याएर उनले मेरो शरीरलाई म मर्नुभन्दा अघि नै गाड्नको लागि तयार पारेकी हुन्। साँच्चै म तिमीहरूलाई भन्छु, संसारभरिमा जहाँ-जहाँ मैले ल्याएको सुसमाचार सुनाइनेछ, त्यहाँ-त्यहाँ यिनले गरेको यस कामको पनि सम्झना गरिनेछ।” येशूका बाह्र जना चेलाहरूमध्ये यहूदा इस्करियोत भन्नेले मुख्य पूजाहारीहरूकहाँ गएर येशूलाई पक्रेर सुम्पिदिने कुरा गर्यो। यहूदाको कुरा सुनेर मुख्य पूजाहारीहरू एकदमै खुसी भएर उसलाई पैसा दिने कुरा गरे। त्यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्न लाग्यो। खमिर नहालेको रोटी खाने मुक्ति-दिवस चाडको पहिलो दिन आइपुगेको थियो। त्यही दिनमा इस्राएलीहरूले भेडाको पाठोलाई बलि दिनेगर्थे। येशूका चेलाहरूले उहाँलाई सोधे, “हामी कहाँ गएर तपाईंको लागि चाडको भोज ठीक पारौं त?” येशूले दुई जना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा जाओ, त्यहाँ तिमीहरूले गाग्रोमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्नेछौ। उसकै पछि-पछि जाओ अनि जुन घरमा ऊ पस्छ, त्यही घरको मालिकलाई ‘म आफ्ना चेलाहरूसँग बसेर मुक्ति-दिवस चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्नुभएको छ भनिदेओ। उनले तिमीहरूलाई माथिल्लो तलामा सजिसजाउ पारेको फराकिलो कोठा देखाइदिनेछन्। त्यहीं नै हाम्रो लागि भोज ठीकठाक पार।” चेलाहरू सहरमा जाँदा सबै कुरा येशूले भन्नुभएजस्तै भेटे अनि तिनीहरूले मुक्ति-दिवस चाडको भोज त्यहीं नै ठीक पारे।
मर्कूस 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 14:3-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू