त्यसपछि यहूदी अगुवाहरूले कति जना फरिसी र हेरोद राजाका केही मानिसहरूलाई कुरैकुरामा येशूलाई फसाउनू भनेर पठाए। उनीहरूले येशूकहाँ आएर भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्नुहुन्छ भनी हामीलाई थाहा छ। मानिसहरूले के भन्लान् भनेर तपाईंले वास्ता गर्नुहुन्न। तपाईंले कसैको मुख हेरेर कुरा गर्नुहुन्न। तपाईंले साँचोसित परमेश्वरको बाटो देखाउनुहुन्छ। तब हामीलाई भन्नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन ठीक छ कि छैन? हामीले कर बुझाऔं कि नबुझाऔं?” तिनीहरूले जाल रच्दै छन् भन्ने बुझेर येशूले भन्नुभयो, “जाली कुरा गरेर तिमीहरू मलाई किन फसाउन खोज्छौ? खै सिक्का ल्याओ, हेरौं!” तिनीहरूले उहाँलाई एउटा सिक्का ल्याएर दिए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्नुभयो, “त्यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” येशूको यस्तो जवाफ सुनेर तिनीहरू छक्कै परे। त्यसपछि केही सदुकीहरू येशूकहाँ आए। (सदुकी भन्ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्ने कुरामा विश्वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे, “हे गुरु, मोशाले हामीलाई लेखिदिएको नियमअनुसार कसैको दाजु सन्तान नभई मर्यो भने दाजुका लागि सन्तान होस् भनेर भाइले भाउजूलाई बिहे गर्नुपर्छ। अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो, तर ऊ छोरा-छोरी नभईकनै मर्यो। त्यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्यो, तर ऊ पनि छोरा-छोरी नभई मर्यो। साहिंलो भाइ पनि त्यसरी नै मर्यो। त्यसरी सबै भाइहरूले पालैसँग भाउजूलाई बिहे गरे र बिनासन्तान मरे। आखिरमा त्यो स्वास्नी मानिस पनि मरिहाली। अब सबै जना मरेकोबाट बिउँते भने त्यो कसकी स्वास्नी हुन्छे? उसलाई त सातै भाइले बिहे गरेका थिए।” येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू ठूलो भुलमा छौ किनभने तिमीहरूले न धर्मशास्त्र न त परमेश्वरको शक्तिको बारेमा नै बुझेका छौ। मरेका मा निसहरू बिउँतेपछि त तिनीहरूमा बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्वर्गमा रहने स्वर्गदूतहरूजस्ता हुन्छन्। मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने परमेश्वरले मोशालाई जल्दैगरेको पोथ्राबाट भन्नुभएको कुराचाहिँ के तिमीहरूले पढेका छैनौ? त्यस बेला परमेश्वरले मोशालाई यस्तो भन्नुभयो, ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’। उहाँ त मरेकाहरूका होइन, तर जिउँदाहरूका पो परमेश्वर हुनुहुन्छ! तिमीहरू ठूलो भुलमा छौ।”
मर्कूस 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 12:13-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू