मर्कूस 12:13-27
मर्कूस 12:13-27 पवित्र बाइबल (NERV)
त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रन चाहन्थे। फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनुभएको छ। हामीलाई भन्नुहोस्: के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?” तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।” तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।” अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे। तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे। तिनीहरूले भने, “गुरूज्यू, मोशाले लेखेका छन् कि यदि कुनै विवाहित मानिस मर्यो भने, अनि उसको पत्नीको कुनै सन्तान छैन भने त्यसबेला उसको भाइले त्यो विधवालाई आफ्नो दाज्यूकोलागि सन्तान जन्माउन विवाह गर्नु पर्छ। त्यसपछि आफ्नो दाज्यूको लागि तिनीहरूले सन्तान बनाउन सक्नेछ। एउटा परिवारमा सातजना दाज्यूभाइ थिए। पहिलो दाज्यूले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन। त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। ऊ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घट्ना घट्यो तेस्रो भाइसँग पनि। सबै सात दाज्यू-भाइले त्यस स्त्रीलाई विवाह गरे अनि सबै मरे। कुनै पनि सात दाज्यू-भाइबाट सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी। तर सबै सातजना दाज्यू-भाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब त्यस स्त्री मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने को चाँहि हुने छ?” येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ। जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्। मरेका मानिसहरूको पुनरूत्थानको बिषयमा मोशाले लेखेको जलेको पोथ्राको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।’ परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”
मर्कूस 12:13-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्येका कोही व्यक्तिहरूलाई उहाँकहाँ पठाए। तिनीहरू आएर उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, तपाईं साँचो हुनुहुन्छ, र कसैको वास्ता गर्नुहुन्न। किनकि तपाईं मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ। भन्नुहोस्, कैसरलाई कर तिर्नु न्यायसङ्गत छ कि छैन? हामी कर तिरौं कि नतिरौं?” येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्याएर देखाओ।” तिनीहरूले एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो तस्वीर र छाप कसको हो?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।” तिनीहरूले उहाँसँग अचम्म माने। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ आए, अनि उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका छन्, कि कसैको दाजु मर्यो र निस्सन्तान भएर पत्नीलाई छोडिराख्यो भने, उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान खड़ा गर्नुपर्छ।” एउटा परिवारमा सात भाइ थिए। जेठोले एउटी पत्नी ल्यायो, अनि त्यो मानिस निस्सन्तान भएर मर्यो। अब माहिला भाइले त्यस स्त्रीलाई विवाह गर्यो, र त्यो पनि निस्सन्तान भएर मर्यो। अनि साहिँलाले पनि त्यस्तै गर्यो। अनि सातै भाइको सन्तान भएन। सबैभन्दा पछि त्यो स्त्री पनि मरी। अब मृतकहरूको पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसकी पत्नी हुन्छे? किनकि ती सातै जनाले त्यसलाई विवाह गरेका थिए।” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू भूलमा परेको कारण यही होइन र, कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ, न परमेश्वरको शक्तिलाई जान्दछौ? किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ, तिनीहरू न त विवाह गर्छन्, न तिनीहरूको विवाह हुन्छ, तर तिनीहरू स्वर्गमा भएका दूतहरूजस्तै हुन्छन्। मृतकहरू जीवित भई उठ्ने कुराको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा पढ़ेका छैनौ? कि कसरी पोथ्रोको विषयमा लेखिएको खण्डमा परमेश्वरले मोशालाई भन्नुभयो, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ उहाँ मुर्दाहरूका परमेश्वर हुनुहुन्न, तर जिउँदाहरूका हुनुहुन्छ। तिमीहरू एकदमै भूलमा परेका छौ।”
मर्कूस 12:13-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए। तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न; तर तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। सिजरलाई कर तिर्नु उचित छ कि छैन? हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्का ल्याओ, र मलाई त्यो हेर्न देओ।” तिनीहरूले सिक्का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्क परे। तब पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू एउटा प्रश्न लिएर उहाँकहाँ आए। तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, यदि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई छोडेर मर्यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्न गरिदिनुपर्छ। अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गर्यो, र सन्तान नभई मर्यो। अनि दोस्रोले त्यस विधवासित विवाह गर्यो, तर ऊ पनि सन्तान नभई मर्यो। यस्तै स्थिति तेस्रोको पनि भयो। वास्तवमा ती सातै जनाको सन्तान भएन। अन्त्यमा त्यो स्त्री पनि मरी। यसैले अब पुनरुत्थानमा त्यो कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।” येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले के तिमीहरू भ्रममा त छैनौ? जब मुर्दाहरू स्वर्गमा जीवित भई उठ्छन्, तब तिनीहरूले न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्। अब मुर्दाहरू जीवित भई उठ्ने विषयमा के तिमीहरूले मोशाको पुस्तकमा त्यस पोथ्राको विवरणमा कसरी परमेश्वरले तिनलाई ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ’ भनेर भन्नुभएको पढेका छैनौ? उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरू गम्भीर भूलमा परेका छौ!”
मर्कूस 12:13-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि यहूदी अगुवाहरूले कति जना फरिसी र हेरोद राजाका केही मानिसहरूलाई कुरैकुरामा येशूलाई फसाउनू भनेर पठाए। उनीहरूले येशूकहाँ आएर भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्नुहुन्छ भनी हामीलाई थाहा छ। मानिसहरूले के भन्लान् भनेर तपाईंले वास्ता गर्नुहुन्न। तपाईंले कसैको मुख हेरेर कुरा गर्नुहुन्न। तपाईंले साँचोसित परमेश्वरको बाटो देखाउनुहुन्छ। तब हामीलाई भन्नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन ठीक छ कि छैन? हामीले कर बुझाऔं कि नबुझाऔं?” तिनीहरूले जाल रच्दै छन् भन्ने बुझेर येशूले भन्नुभयो, “जाली कुरा गरेर तिमीहरू मलाई किन फसाउन खोज्छौ? खै सिक्का ल्याओ, हेरौं!” तिनीहरूले उहाँलाई एउटा सिक्का ल्याएर दिए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्नुभयो, “त्यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” येशूको यस्तो जवाफ सुनेर तिनीहरू छक्कै परे। त्यसपछि केही सदुकीहरू येशूकहाँ आए। (सदुकी भन्ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्ने कुरामा विश्वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे, “हे गुरु, मोशाले हामीलाई लेखिदिएको नियमअनुसार कसैको दाजु सन्तान नभई मर्यो भने दाजुका लागि सन्तान होस् भनेर भाइले भाउजूलाई बिहे गर्नुपर्छ। अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो, तर ऊ छोरा-छोरी नभईकनै मर्यो। त्यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्यो, तर ऊ पनि छोरा-छोरी नभई मर्यो। साहिंलो भाइ पनि त्यसरी नै मर्यो। त्यसरी सबै भाइहरूले पालैसँग भाउजूलाई बिहे गरे र बिनासन्तान मरे। आखिरमा त्यो स्वास्नी मानिस पनि मरिहाली। अब सबै जना मरेकोबाट बिउँते भने त्यो कसकी स्वास्नी हुन्छे? उसलाई त सातै भाइले बिहे गरेका थिए।” येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू ठूलो भुलमा छौ किनभने तिमीहरूले न धर्मशास्त्र न त परमेश्वरको शक्तिको बारेमा नै बुझेका छौ। मरेका मा निसहरू बिउँतेपछि त तिनीहरूमा बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्वर्गमा रहने स्वर्गदूतहरूजस्ता हुन्छन्। मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने परमेश्वरले मोशालाई जल्दैगरेको पोथ्राबाट भन्नुभएको कुराचाहिँ के तिमीहरूले पढेका छैनौ? त्यस बेला परमेश्वरले मोशालाई यस्तो भन्नुभयो, ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’। उहाँ त मरेकाहरूका होइन, तर जिउँदाहरूका पो परमेश्वर हुनुहुन्छ! तिमीहरू ठूलो भुलमा छौ।”