YouVersion लोगो
खोज आइकन

मत्ती 4:12-25

मत्ती 4:12-25 सरल नेपाली

यूहन्‍ना थुनामा परेका छन् भन्‍ने कुरा सुनेर येशू गालीलतिर जानुभयो। तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्‍न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्‍ताली कुलका क्षेत्रमा पर्थ्‍यो। यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो। “यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्‍ताली कुलका मानिसहरू हो अनि गालीलमा बस्‍ने अरू जातिका मानिसहरू हो! अन्‍धकारमा बस्‍नेहरूले ठूलो उज्‍यालो देख्‍नेछन्। मृत्यु र अन्‍धकारमा परेकाहरू, तिमीहरूमाथि त्‍यो ठूलो उज्‍यालो चम्‍कनेछ।” त्‍यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्‍नुभयो, “आ-आफ्‍नो पापलाई मानिलिएर त्‍यसलाई छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।” एक दिन गालील तालको किनारै-किनार हिँडिरहनुहुँदा येशूले दुई जना जलाहारीलाई जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू पत्रुस भनिने सिमोन र उनका भाइ अन्‍द्रियास थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मान्‍छे समात्‍ने जलाहारी बनाउनेछु।” यो सुन्‍नेबित्तिकै तिनीहरूले आफ्‍ना जालहरू छोडेर येशूको पछि लागे। त्‍यसपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई भेट्‍नुभयो। तिनीहरू आफ्‍ना बुबा जब्‍दियासँग नाउमा बसेर जाल तुन्‍दै थिए। येशूले तिनीहरूलाई पनि बोलाउनुभयो। तब तिनीहरूले तुरुन्‍तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे। येशू गालील क्षेत्रभरि घुम्‍नुभयो। उहाँ ठाउँ-ठाउँमा भएका सभाघरहरूमा जानुभयो र मानिसहरूलाई शिक्षा दिएर परमेश्‍वरको राज्‍य आइसक्‍न लाग्‍यो भन्‍ने सुसमाचार सुनाउनुभयो। उहाँले भेटे जति किसिम-किसिमका रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो। त्‍यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्‍यो। मानिसहरूले सबै किसिमका रोग र व्‍यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्‍याए। तिनीहरूमध्‍ये कसैलाई दुष्‍टात्‍मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए। ती मानिसहरू गालील क्षेत्र, दश सहर भन्‍ने क्षेत्र, यरूशलेम सहर, यहूदिया क्षेत्र र यर्दन नदीको पारिबाट आएका थिए।

मत्ती 4 पढ्नुहोस्