त्यस समयमा बप्तिस्मा दिने यूहन्नाले यहूदियाका उजाड-स्थानहरूमा मानिसहरूलाई यसो भन्दै प्रचार गर्न लागे, “आ-आफ्नो पाप मानिलेऊ र त्यो छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।” अब यशैया अगमवक्ताले पनि यिनै यूहन्नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्तो भन्दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्नुहुने गोरेटाहरू सोझ्याओ’!” यूहन्नाले ऊँटको रौंले बुनेको लुगा लगाउँथे, कम्मरमा छालाको पेटी बाँध्थे अनि सलह र बन-मह खान्थे। यरूशलेम सहर, यहूदियाका सबै गाउँ र यर्दन नदीका चारैतिरबाट मानिसहरू उनीकहाँ आउन थाले अनि आ-आफ्ना पाप मानिलिने जतिलाई यूहन्नाले यर्दन नदीमा बप्तिस्मा दिए। फरिसी र सदुकी भन्ने दुईवटा धार्मिक समूहका धेरै मानिसहरू पनि बप्तिस्मा लिन यूहन्नाकहाँ आए। तिनीहरूलाई आइरहेका देखेर यूहन्नाले भने, “ए विषालु सर्पका सन्तान हो, परमेश्वरले गर्नुहुने न्यायबाट उम्कन तिमीहरूलाई कसले सिकायो? तिमीहरूले आ-आफ्ना पापलाई मानिलिएर आफ्नो मन परमेश्वरतिर फर्काएका हौ भने त्यहीअनुसार चल्ने गर। ‘हामी अब्राहामका सन्तान हौं’ भन्दैमा तिमीहरू उम्कन्छौ भन्ने नसम्झ। म तिमीहरूलाई भन्छु, परमेश्वरले यी ढुङ्गाबाट पनि अब्राहामका सन्तान जन्माउन सक्नुहुन्छ।
मत्ती 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 3:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू