YouVersion लोगो
खोज आइकन

मत्ती 27:32-44

मत्ती 27:32-44 सरल नेपाली

बाटोमा जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ गरेका एक जना कुरेनी देशको मानिसलाई भेटे। तिनीहरूले तिनलाई जबरजस्‍ती येशूको क्रूस बोक्‍न लगाए अनि तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे। गलगथा भनेको चाहिँ ‘खप्‍परे ठाउँ’ हो। त्‍यहाँ पुगेर तिनीहरूले येशूलाई तीतो औषधी हालेको सिर्का खान दिए। चाखेपछि उहाँले पिउन मान्‍नुभएन। त्‍यसपछि तिनीहरूले येशूलाई क्रूसमा किला ठोकेर झुण्‍ड्याए। उहाँको लुगाचाहिँ तिनीहरूले आपसमा चिट्ठा हालेर बाँडे। तिनीहरू उहाँलाई कुरेर बसे। उहाँको शिरमाथि तिनीहरूले “यो येशू यहूदीहरूको राजा हो,” भनी दोष पत्र लेखेको टाँगिदिए। येशूलाई झुण्‍ड्याउँदा तिनीहरूले दुई डाकुहरूलाई पनि उहाँको दायाँ र बायाँपट्टि क्रूसमा झुण्‍ड्याए। त्‍यो बाटो भएर जाने जति सबै मानिसहरूले मुण्‍टो हल्‍लाई-हल्‍लाई येशूको गिल्‍ला गर्दै भने, “मन्‍दिर भत्‍काएर फेरि तीन दिनमा नै बनाउन सक्‍ने मानिस तैं होइनस्? यदि परमेश्‍वरकै पुत्र होस् भने लौ त आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!” त्‍यसै गरेर मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पनि येशूलाई गिल्‍ला गरे। तिनीहरूले भने, “त्‍यसले अरूलाई त बचायो, तर हेर, आफैंलाई चाहिँ बचाउन सकेन। यदि यो इस्राएलीहरूकै मुक्ति दिने राजा हो भने क्रूसबाट ओर्लिएर आओस् अनि पो हामी विश्‍वास गरौंला! यसले परमेश्‍वरमा विश्‍वास गर्थ्‍यो र ‘म त परमेश्‍वरको पुत्र हुँ’ भनी हिँड्थ्‍यो। परमेश्‍वर यससँग खुसी हुनुभएको छ भने अब उहाँले नै यसलाई बचाऊन्।” त्‍यसै गरी उहाँकै साथमा झुण्‍ड्याइएका ती डाँकाहरूसमेतले येशूको गिल्‍ला गरे।

मत्ती 27 पढ्नुहोस्