YouVersion लोगो
खोज आइकन

मत्ती 27:32-44

मत्ती 27:32-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ भएको कुरेनीको एक जना मानिसलाई भेट्टाए, र तिनीहरूले त्‍यसलाई उहाँको क्रूस बोक्‍न कर लाए। जब तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसलाई खोपड़ीको स्‍थान भनिन्‍छ, तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्‍यो पिउन चाहनुभएन। तिनीहरूले उहाँलाई क्रूसमा टाँगेपछि, चिट्ठा हालेर उहाँका वस्‍त्रहरू आपसमा बाँड़े। तब त्‍यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे। “येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए। उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्‍ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि। त्‍यहाँबाट आउने-जानेहरूले आ-आफ्‍नो मुन्‍टो हल्‍लाएर उहाँको गिल्‍ला गरे, र भने, “ए मन्‍दिर भत्‍काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्‍वरको पुत्र होस्‌ भने, क्रूसबाट ओर्लेर तल आइज।” मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरू र धर्म-गुरुहरूका सँगसँगै उहाँको गिल्‍ला गर्दै भने, “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं। यसले परमेश्‍वरमा भरोसा राख्‍छ। परमेश्‍वरले यसलाई चाहनुहुन्‍छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्‍वरको पुत्र हुँ,’ भनी भन्‍थ्‍यो।” अनि उहाँसँग क्रूसमा झुण्‍ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्

मत्ती 27:32-44 नेपाली समकालीन संस्करण (NCV)

तिनीहरू जाँदै गर्दा थिए, तिनीहरूले साइरिनीवासी सिमोनलाई भेटे अनि तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए। तिनीहरू गलगथा अर्थात् खप्परे भनिने ठाउँमा आइपुगे। त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउनलाई दिए, तर चाखेपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो। जब तिनीहरूले उहाँलाई क्रूसमा चढाइसके, तिनीहरूले उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे। अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले। उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो। त्यति बेला दुई डाँकूहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्‍लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “तँ, जो मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफूलाई बचा! तँ परमेश्‍वरका पुत्र होस् भने, क्रूसबाट तल ओर्लेर आइज!” यस्तै किसिमले मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू अनि प्रधानहरूले पनि उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफूलाई बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्लिआओस्, र हामी यसलाई विश्‍वास गर्नेछौं। यसले परमेश्‍वरमाथि भरोसा राख्छ। यदि परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले मुक्‍त गरून्, किनकि यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनेको छ।” यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकूहरूले पनि उहाँलाई धेरै अपमान गरे।

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्

मत्ती 27:32-44 पवित्र बाइबल (NERV)

सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशूको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो। तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)। जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो। तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरूले येशूको लुगाफाटा आपसमा बाँढ़नलाई चिट्ठा हाले। तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए। तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहूदीहरूका राजा हुन्” भन्ने लेखिएको थियो। येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्ड्याईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्ड्याईएको थिए। आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे। “तिमीले नै भनेका हौ, मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु। अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!” मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले। तिनीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैंलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफैं क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं। उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैंले भन्नु भएको छ, ‘म नै परमेश्वरको पुत्र हुँ।’” अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्

मत्ती 27:32-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बाटोमा जाँदाजाँदै तिनीहरूले सिमोन नाउँ गरेका एक जना कुरेनी देशको मानिसलाई भेटे। तिनीहरूले तिनलाई जबरजस्‍ती येशूको क्रूस बोक्‍न लगाए अनि तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे। गलगथा भनेको चाहिँ ‘खप्‍परे ठाउँ’ हो। त्‍यहाँ पुगेर तिनीहरूले येशूलाई तीतो औषधी हालेको सिर्का खान दिए। चाखेपछि उहाँले पिउन मान्‍नुभएन। त्‍यसपछि तिनीहरूले येशूलाई क्रूसमा किला ठोकेर झुण्‍ड्याए। उहाँको लुगाचाहिँ तिनीहरूले आपसमा चिट्ठा हालेर बाँडे। तिनीहरू उहाँलाई कुरेर बसे। उहाँको शिरमाथि तिनीहरूले “यो येशू यहूदीहरूको राजा हो,” भनी दोष पत्र लेखेको टाँगिदिए। येशूलाई झुण्‍ड्याउँदा तिनीहरूले दुई डाकुहरूलाई पनि उहाँको दायाँ र बायाँपट्टि क्रूसमा झुण्‍ड्याए। त्‍यो बाटो भएर जाने जति सबै मानिसहरूले मुण्‍टो हल्‍लाई-हल्‍लाई येशूको गिल्‍ला गर्दै भने, “मन्‍दिर भत्‍काएर फेरि तीन दिनमा नै बनाउन सक्‍ने मानिस तैं होइनस्? यदि परमेश्‍वरकै पुत्र होस् भने लौ त आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!” त्‍यसै गरेर मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरूले पनि येशूलाई गिल्‍ला गरे। तिनीहरूले भने, “त्‍यसले अरूलाई त बचायो, तर हेर, आफैंलाई चाहिँ बचाउन सकेन। यदि यो इस्राएलीहरूकै मुक्ति दिने राजा हो भने क्रूसबाट ओर्लिएर आओस् अनि पो हामी विश्‍वास गरौंला! यसले परमेश्‍वरमा विश्‍वास गर्थ्‍यो र ‘म त परमेश्‍वरको पुत्र हुँ’ भनी हिँड्थ्‍यो। परमेश्‍वर यससँग खुसी हुनुभएको छ भने अब उहाँले नै यसलाई बचाऊन्।” त्‍यसै गरी उहाँकै साथमा झुण्‍ड्याइएका ती डाँकाहरूसमेतले येशूको गिल्‍ला गरे।

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्