YouVersion लोगो
खोज आइकन

मत्ती 24:32-51

मत्ती 24:32-51 सरल नेपाली

“नेभाराको रूखबाट केही कुरा सिक। यसका हाँगाहरू टुसाएर पालुवा हालेपछि गर्मी चढेछ भनेर थाहा हुन्‍छ। त्‍यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्‍दा मेरो आउने बेला आइपुग्‍नै आँटेको छ भनी तिमीहरूले जान्‍नेछौ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेल यो पुस्‍ता बित्‍नेछैन। आकाश र पृथ्‍वी नै बितेर जानेछन्, तर मैले भनेका कुराचाहिँ बित्‍नेछैनन्। “त्‍यो दिन र बेला कहिले आइपुग्‍ने हो, त्‍यो ठीकसँग कसैलाई पनि थाहा छैन। त्‍यो त स्‍वर्गदूतहरू र म पुत्रलाई समेत थाहा छैन। त्‍यो कुराचाहिँ खालि परमेश्‍वर पितालाई मात्र थाहा छ। म मानव पुत्र आउन लाग्‍ने दिनहरूमा नोआको पालामा भएजस्‍तै हुनेछ। त्‍यस बेला नोआ जहाजमा पसुञ्‍जेल मानिसहरू भोज-भतेर र बिहेबारी गर्नमा मस्‍त थिए। बाढी आएर सबैलाई सखाप पारेर नलैजाँदासम्‍म तिनीहरूलाई केही थाहै भएन। म मानव पुत्र आउँदा पनि त्‍यस्‍तै हुनेछ। त्‍यस बेला बारीमा काम गरिरहेका दुई जना मानिसहरूमध्‍ये एउटा लगिनेछ र अर्कोचाहिँ त्‍यहीँ छोडिनेछ। जाँतो पिंधिरहेका दुई जना स्‍त्रीमध्‍ये एउटी लगिनेछ अर्कीचाहिँ छोडिनेछ। “यसकारण तिमीहरू चनाखो भएर बस किनभने तिमीहरूका प्रभु कुन दिन आउने हो, त्‍यो तिमीहरूलाई थाहा नै हुँदैन। तर यो कुरा सम्‍झिराख, चोर आउने बेला थाहा पाएको भए त घर धनी जागा भएर बस्‍ने थिए र चोरलाई घरमा पस्‍न दिने थिएनन्। यसकारण तिमीहरू पनि चनाखो भएर बस! म मानव पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछु। “बुद्धिमान् र भरपर्दो भण्‍डारेचाहिँ कस्‍तो मानिस होला त? जस्‍तै: मालिकले आफ्‍नो घरको सबै कामकाजको जिम्‍मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्‍डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खान दिन्‍छ। मालिक फर्की आएर त्‍यो भण्‍डारेलाई त्‍यस्‍तै काम गरिरहेको भेट्टाउँदा ऊ कति धन्‍य हुनेछ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मालिकले त्‍यस भण्‍डारेलाई आफ्‍नो सबै धन-सम्‍पत्तिको जिम्‍मा दिनेछ। तर यदि भण्‍डारे नराम्रो छ र उसले ‘मेरो मालिक ढीलो गरी फर्की आउँछ’ भन्‍ने ठानेर जँड्याहाहरूसँग जथाभाबी खाई मातेर अरू नोकरहरूलाई पिट्‍न थाल्‍यो भने त्‍यसको मालिकचाहिँ त्‍यसले नचिताएको दिन र घडीमा आइपुग्‍नेछन् अनि त्‍यसलाई दण्‍ड दिनेछन् र नरकमा त्‍यसको गति कपटीहरूको जस्‍तै हुनेछ। त्‍यहाँ त्‍यसले दाह्रा किट्दै रुवाबासी गर्नेछ!”

मत्ती 24 पढ्नुहोस्