YouVersion लोगो
खोज आइकन

मत्ती 24:32-51

मत्ती 24:32-51 NNRV

“तर अञ्‍जीरको रूखबाट एउटा शिक्षा लेओ: जब त्‍यसका हाँगा कलिला हुन्‍छन्‌ र रूखले पालुवा फेर्छ, तब ग्रीष्‍म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ। त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि यी सबै पूरा नहोउञ्‍जेल यो पुस्‍ता बितिजानेछैन। स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌। “तर त्‍यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्‍दैन, न त स्‍वर्गका दूतहरूले, न पुत्रले। मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ। किनकि जसरी जलप्रलयभन्‍दा अगाडि नोआ जहाजभित्र पस्‍ने दिनसम्‍म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए, अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ। त्‍यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ। दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ। “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ। तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन। यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। “विश्‍वासी र बुद्धिमान्‌ नोकर को हो, जसलाई त्‍यसको मालिकले आफ्‍ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस्‌ भनी खटाएको हुन्‍छ? त्‍यो नोकर धन्‍य हो, जसलाई मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, मालिकले त्‍यसलाई आफ्‍नो सारा सम्‍पत्तिमाथि जिम्‍मेवार नियुक्त गर्नेछ। तर यदि त्‍यस दुष्‍ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी, आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्‌न र मतवालाहरूसँग खान र पिउन लाग्‍यो भने, त्‍यस नोकरको मालिक त्‍यसले नचिताएको दिन र नजानेको घड़ीमा आइपुग्‍नेछ। अनि मालिकले त्‍यसलाई कठोर दण्‍ड दिनेछ र त्‍यसलाई ढोंगीहरूका माझ फालिदिनेछ, जहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।”