YouVersion लोगो
खोज आइकन

मत्ती 19:1-12

मत्ती 19:1-12 सरल नेपाली

येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँ गालीलबाट हिँडेर यहूदिया इलाकाको यर्दन नदीको पारि भएको भागमा जानुभयो। मानिसको ठूलो धुइरो उहाँको पछिपछि लाग्‍यो र उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि केही फरिसीहरूले उहाँकहाँ आएर उहाँलाई कुरैकुरामा फसाउन सोधे, “कसैले कुनै कारणले आफ्‍नी पत्‍नी त्‍याग्‍नुहुन्‍छ कि हुँदैन?” येशूले जवाफ दिँदै भन्‍नुभयो, “के तिमीहरूले धर्मशास्‍त्रमा पढेका छैनौ? सुरुमा सृष्‍टिकर्ताले मानिसलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो। ‘त्‍यसकारण पुरुषले आफ्‍ना आमा-बुबालाई छोडेर आफ्‍नी पत्‍नीसँगै बस्‍छ र ती दुई मिलेर एउटै हुन्‍छन्।’ त्‍यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्‍वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।” फरिसीहरूले उहाँलाई सोधे, “त्‍यसो भए किन मोशाले पत्‍नी त्‍याग्‍नेलाई त्‍यागपत्र लेखेर त्‍याग्‍नू भनेको त?” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूको अट्टेरी मनको कारण पत्‍नी त्‍याग्‍न सकिन्‍छ भनेका हुन्। तर सुरुमा त त्‍यस्‍तो थिएन। हेर, म तिमीहरूलाई भन्‍छु, व्‍यभिचारको दोषबाहेक पत्‍नीलाई त्‍यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्‍यभिचार नै गर्छ।” उहाँका चेलाहरूले भने, “पति-पत्‍नीको सम्‍बन्‍ध यस्‍तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।” येशूले भन्‍नुभयो, “मैले भन्‍न लागेको यो कुरा तिनीहरूले मात्र लिन सक्‍छन्, जसलाई परमेश्‍वरले दिनुहुन्‍छ। बिहे नगर्ने बेग्‍लाबेग्‍लै कारणहरू हुन्‍छन् किनभने कति त जन्‍मैदेखि नपुंसक हुन्‍छन्, कसैलाई अरू मानिसले नपुंसक बनाइदिएका हुन्‍छन् अनि कतिचाहिँ परमेश्‍वरको राज्‍यको लागि बिहे नगर्ने पनि हुन्‍छन्। अब मान्‍न सक्‍नेले चाहिँ यो कुरा मानोस्।”

मत्ती 19 पढ्नुहोस्