मत्ती 19:1-12
मत्ती 19:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी कुरा बोल्नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो। ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो। फरिसीहरू उहाँकहाँ आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे, “के कसैले कुनै कारण पत्नीसँग विवाहविच्छेद गर्न उचित छ?” तर उहाँले भन्नुभयो, “के तिमीहरूले पढ़ेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई सुरुमा नै नर र नारी बनाउनुभयो, र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’ ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।” तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर सुरुदेखि यस्तो थिएन। म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारणबाहेक आफ्नी पत्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागिएकीलाई विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्दछ।” चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्तै सम्बन्ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “सबै मानिसले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले मात्र सक्छन् जसलाई यो दिइएको छ। किनकि कोही जन्मँदै नपुंसक हुन्छन्, कतिचाहिँ मानिसले बनाएका नपुंसक हुन्छन्। कतिचाहिँ आफैले आफैलाई स्वर्ग-राज्यको निम्ति नपुंसक बनाउँछन्। जसले यो ग्रहण गर्न सक्छ, त्यसले त्यो ग्रहण गरोस्।”
मत्ती 19:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालीलबाट हिँडेर यहूदिया इलाकाको यर्दन नदीको पारि भएको भागमा जानुभयो। मानिसको ठूलो धुइरो उहाँको पछिपछि लाग्यो र उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि केही फरिसीहरूले उहाँकहाँ आएर उहाँलाई कुरैकुरामा फसाउन सोधे, “कसैले कुनै कारणले आफ्नी पत्नी त्याग्नुहुन्छ कि हुँदैन?” येशूले जवाफ दिँदै भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? सुरुमा सृष्टिकर्ताले मानिसलाई पुरुष र स्त्री गरी बनाउनुभयो। ‘त्यसकारण पुरुषले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी पत्नीसँगै बस्छ र ती दुई मिलेर एउटै हुन्छन्।’ त्यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।” फरिसीहरूले उहाँलाई सोधे, “त्यसो भए किन मोशाले पत्नी त्याग्नेलाई त्यागपत्र लेखेर त्याग्नू भनेको त?” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूको अट्टेरी मनको कारण पत्नी त्याग्न सकिन्छ भनेका हुन्। तर सुरुमा त त्यस्तो थिएन। हेर, म तिमीहरूलाई भन्छु, व्यभिचारको दोषबाहेक पत्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्यभिचार नै गर्छ।” उहाँका चेलाहरूले भने, “पति-पत्नीको सम्बन्ध यस्तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।” येशूले भन्नुभयो, “मैले भन्न लागेको यो कुरा तिनीहरूले मात्र लिन सक्छन्, जसलाई परमेश्वरले दिनुहुन्छ। बिहे नगर्ने बेग्लाबेग्लै कारणहरू हुन्छन् किनभने कति त जन्मैदेखि नपुंसक हुन्छन्, कसैलाई अरू मानिसले नपुंसक बनाइदिएका हुन्छन् अनि कतिचाहिँ परमेश्वरको राज्यको लागि बिहे नगर्ने पनि हुन्छन्। अब मान्न सक्नेले चाहिँ यो कुरा मानोस्।”
मत्ती 19:1-12 नेपाली समकालीन संस्करण (NCV)
येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो। ठूला भीडहरू उहाँको पछि लागे, अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो। केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए पनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?” उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्टिकर्ताले तिनीहरूलाई ‘पुरुष र स्त्री बनाउनुभयो,’ अनि भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, अनि आफ्नी पत्नीसित एक भई रहन्छ, र ती दुई एकै शरीर हुनेछन्’? यसरी तिनीहरू अब दुई होइनन्, तर एक हुनेछन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।” तिनीहरूले सोधे, “त्यसो भए, मोशाले किन मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्ने आज्ञा दिए त?” येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई तिमीहरूको हृदयको कठोरताको कारण तिमीहरूका पत्नीहरूलाई त्याग्ने अनुमति दिए। तर सुरुदेखि नै त यस्तो थिएन। म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह-विच्छेद गर्दछ, अनि अर्की स्त्रीलाई विवाह गर्दछ, उसले व्यभिचार गर्दछ।” चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने ता विवाह नगर्नु नै असल हो।” येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन, तर जसलाई यो दिइएको छ, उसले मात्र सक्दछ। किनकि कोही त जन्मदेखि नै नपुंसक हुन्छन्: अरूलाईचाहिँ मानिसहरूले त्यस्ता बनाए, अनि अरूचाहिँ स्वर्गको राज्यको लागि नपुंसक नै भएर रहन चाहन्छन्। जसले यो स्वीकार गर्न सक्छ, त्यसले गरोस्।”
मत्ती 19:1-12 पवित्र बाइबल (NERV)
यी सबै कुराहरू सुनाएपछि येशूले गालील छाड्नुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहुदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो। धेरै मानिसहरू येशूको पछिलागे। येशूले रोगी मानिसहरूलाई निको पारिदिनु भयो। केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे। येशूले जवाफ दिनुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’ अनि परमेश्वरले भन्नु भयो, ‘त्यसकारण मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसेग मिलेर बस्छ। यसरी यी दुइ मानिसहरू एक हुनेछन्।’ यसर्थ दुइजना मानिसहरू दुइ रहदैनन् तर एउटै हुन्छन्। परमेश्वरले यी दुइलाई एउटै बनाउनु भएको हो। यसैकारणले कसैले तिनीहरूलाई अलग पार्नु हुँदैन।” फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्ध विच्छेद हुन्छ भन्ने आज्ञा दिए?” येशूले भन्नुभयो, “मोशाले तिमीहरूलाई आफ्नी पत्नीहरूसँग विवाह विच्छेद गर्ने अनुमति दिएको कारण के हो भने तिनीहरूले परमेश्वरको शिक्षालाई स्वीकार गर्न अस्वीकार गरेको थियो। तर शुरूमा यस्तो थिएन। म भन्दछु जसले आफ्नो पत्नीलाई त्यागेर अर्को स्त्रीसँग विवाह गर्दछ उसले व्यभिचार गर्दछ। एउटा मानिसले आफ्नी स्वास्नीलाई त्यागेर अर्की पत्नीसँग त्यतिबेला विवाह गर्न पाउँदछ जब उसको पहिलेकी पत्नीले अरू कुनै मानिससँग व्यभिचार गर्दछे।” चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।” येशूले जवाफ दिनुभयो, “सबैले विवाह सम्बन्धी यो सत्यतालाई मान्न सक्तैनन्। तर परमेश्वरले कसै-कसैलाई मात्र यो कुरा मान्न सक्ने बनाउनु भएको छ कोही मानिसहरूले किन विवाह गर्न सक्दैन भन्ने बारेमा विभिन्न कारणहरू छन्। तिनीहरूमध्ये कोही सन्तान जन्माउने क्षमता भएका हुन सक्छन् कोही मानिसहरूलाई, अरू मानिसहरूले केही समय पछि त्यस्तो गराएको हुन्छ। कोही अरू स्वर्गको राज्यको निम्ति विवाह अस्वीकार गर्छन्। तर विवाह गर्नेले विवाह सम्बन्धी यो शिक्षा मान्नु पर्दछ।”