त्यति बेला चेलाहरू आएर येशूलाई सोधे, “परमेश्वरको राज्यमा सबभन्दा ठूलो को हुन्छ?” तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्याउनुभयो र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, आफ्नो मनलाई परिवर्तन गरेर यस्तो बालकजस्तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्वरको राज्यमा पस्न पाउनेछैनौ। यही बालकजस्तो नम्र हुने मानिस नै परमेश्वरको राज्यमा सबभन्दा ठूलो हुन्छ अनि मेरो नाउँमा यस्तै बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ। “यदि कसैले ममाथि विश्वास गर्ने यस्ता सानाहरूको विश्वासलाई बिगार्छ भने त्यसलाई त बरु घिच्रोमा जाँतो झुण्ड्याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हुनेछ। धिक्कार यस संसारलाई! किनभने यस संसारमा त मानिसहरूलाई पापमा फसाउने कुराहरू छन्। यस्ता कुराहरू आइपर्दछन् नै, तर धिक्कार, त्यस मानिसलाई जसले अरूलाई पापमा फसाउँदछ! “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पापमा पार्छ भने त्यसलाई काटेर मिल्काइदेओ। दुवै हात-खुट्टा लिएर कहिल्यै ननिभ्ने आगोमा पर्नुभन्दा त बरु डुँडे र खोरण्डो भएर अजम्मरी जीवन पाउनु नै बेस हो। अनि त्यसै गरी तिम्रा आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई पनि झिकेर मिल्काइदेओ। दुईटा आँखा लिएर नरकको आगोमा पर्नुभन्दा त बरु कानो भएर अजम्मरी जीवन पाउनु नै बेस हो। “होश राख, यी साना बालकहरू कसैलाई पनि तिमीहरूले हेला नगर। म तिमीहरूलाई भन्छु, तिनीहरूको हेरचाहा गर्ने स्वर्गदूतहरू स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताकै अगाडि छन्। [किनभने म मानव पुत्र त हराएकाहरूलाई नै बचाउनको लागि आएको हुँ।] “तिमीहरूको के विचार छ? सय वटा भेडा हुने मानिसले एउटा भेडा हरायो भने त्यसले के गर्छ होला? त्यसले अरू उनान्सय वटालाई त्यही पाखामा छोडेर हराएकोलाई खोज्न जाँदैन र? त्यसलाई भेट्टाएपछि नबरालिएका उनान्सय भेडाहरूको लागि भन्दा पनि त्यो भेट्टाएको एउटै भेडाको लागि ऊ ज्यादै खुसी हुनेछ। ठीक त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले पनि यी सानाहरूमा कोही पनि हराएको चाहनुहुन्न। “यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गरेको छ भने उसलाई एक्लै गएर सम्झाऊ। उसले तिम्रो कुरा सुन्यो भने तिमीले उसलाई आफूपट्टि फर्काएको हुनेछौ। तर उसले तिम्रो कुरा सुनेन भने अरू एक-दुई जना सँगै गएर उसलाई सम्झाऊ किनभने धर्मशास्त्रले भनेजस्तो सबै झैं-झगडाहरूको फैसला गर्नलाई दुई वा तीन जना साक्षी बोलाउनुपर्छ। त्यति हुँदाहुँदै पनि उसले कुरा सुनेन भने मण्डलीमा गएर तिमीले पूरै कुरा खोलिदेओ अनि तिनीहरूको कुरा पनि उसले सुनेन भने उसलाई ईश्वर नमान्ने र कर उठाउनेलाई जस्तै गरी त्यागिदिनू। “साँच्चै म तिमीहरूलाई भन्छु, जे तिमीहरूले यस पृथ्वीमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ। अनि जे तिमीहरूले यस पृथ्वीमा फुकाउला, त्यो स्वर्गमा पनि फुकाइनेछ। अनि म तिमीहरूलाई फेरि भन्छु, यस पृथ्वीमा तिमीहरू दुईले जे माग्ने हो, सो मिलेर माग्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिमीहरूलाई त्यो दिनुहुनेछ किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूको बीचमा हुनेछु।”
मत्ती 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 18:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू