त्यस बेला चेलाहरूले येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुन्छ?” उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, र भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। यसकारण जसले आफैलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ; अनि जसले यसरी एउटा बालकलाई मेरो नाउँमा ग्रहण गर्दछ, उसले मलाई नै ग्रहण गर्दछ। “यदि कसैले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एकजनालाई पनि पाप गर्न लगाउँछ भने, उसलाई त एउटा ठूलो जाँतो घाँटीमा बाँधेर समुद्रको गहिराइमा डुबाइदिनु असल हुनेथियो। मानिसहरूलाई पाप गर्न लाउने कुराहरूको लागि यस संसारलाई धिक्कार! यस्ता कुराहरू त आउनैपर्छ, तर धिक्कार त्यस मानिसलाई जसद्वारा ती आउँछन्! यदि तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा हिँड्न नसक्ने भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एक आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ। “होसियार रहो कि, तिमीहरूबाट यी सानाहरूमध्ये एउटाको पनि हेला नहोऊन्; किनकि म तिमीहरूलाई भन्दछु स्वर्गमा तिनीहरूका दूतले सधैं स्वर्गमा हुने मेरा पिताको अनुहार हेर्दछन्। मानिसको पुत्र हराएकालाई बचाउन आएको हुँ। “तिमीहरूलाई के लाग्छ? यदि कुनै मानिसका एक सय भेडाहरू छन्, अनि तीमध्ये एउटा बाटो बिराएर गइहाल्यो भने उसले उनान्सयलाई पहाडमा छोडेर, त्यस बाटो बिराएकोलाई खोज्न जाँदैन र? म तिमीहरूलाई साँच्चै भन्दछु, कि उसले त्यो भेट्टाएपछि बाटो नबिराउने ती उनान्सयहरूभन्दा त्यस एउटाप्रति ऊ आनन्दित हुनेछ। यसकारण यी सानाहरूमध्ये एउटा पनि नहराओस् भन्ने तिमीहरूका स्वर्गीय पिताले इच्छा गर्नुहुन्छ। “यदि तिम्रो सह विश्वासीले तिम्रो विरुद्धमा पाप गर्यो भने जाऊ र तिमी दुईबीच मात्र उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले उसलाई जित्यौ। तर यदि उसले सुनेन भने आफ्नो साथमा अरू एक वा दुईजनालाई लैजाऊ र ‘दुई वा तीन साक्षीहरूद्वारा हरेक कुरा पक्का भएको होस्।’ यदि उसले तिनीहरूका कुरा पनि मानेन भने, मण्डलीलाई यो भनिदेऊ; अनि उसले मण्डलीको कुरा पनि मानेन भने, तिमीले तिनीप्रति गैरयहूदीहरू र कर उठाउनेहरूप्रति झैं व्यवहार गर। “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ, अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ, त्यो स्वर्गमा फुकाइनेछ। “फेरि म तिमीहरूलाई साँचो भन्दछु, पृथ्वीमा यदि तिमीहरूमध्ये दुईजनाले एकमत भएर जे माग्छौ, त्यो तिमीहरूको निम्ति स्वर्गमा हुनुहुने मेरा पिताद्वारा गरिनेछ। किनकि जहाँ दुई वा तीन जना मेरो नाउँमा एकसाथ भेला हुन्छन्, म त्यहाँ तिनीहरूसित हुन्छु।”
मत्ती 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 18:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू