मत्ती 17:24-27

मत्ती 17:24-27 सरल नेपाली

येशू र उहाँका चेलाहरू कफर्नहुममा आइपुगेपछि मन्‍दिरको कर उठाउनेहरूले आएर पत्रुसलाई सोधे, “के तिमीहरूका गुरुले मन्‍दिरको कर बुझाउनुहुन्‍छ?” “बुझाउनुहुन्‍छ, किन नबुझाउने?” पत्रुसले जवाफ दिए। पत्रुस घरभित्र पसेपछि येशूले नै कुरा निकाल्‍नुभयो, “ए सिमोन, तिम्रो विचार के छ? यस संसारका राजाहरूले कसबाट कर उठाउँछन्? आफ्‍नै छोराहरूबाट उठाउँछन् कि अरूहरूबाट?” “अरूहरूबाटै उठाउँछन्,” पत्रुसले जवाफ दिए। येशूले भन्‍नुभयो, “त्‍यसो भए निज छोराहरूले कर तिर्नुपर्दैन। तैपनि हामी यी मानिसहरूलाई ठेस नदिऔँ। तिमी जाऊ र तालमा जाल हान। सबभन्दा पहिले जालमा परेको माछो निकालेर त्‍यसको मुख खोल। त्‍यसको मुखमा तिमीले एक तोला चाँदीको पैसा भेट्टाउनेछौ। त्‍योचाहिँ मन्‍दिरको कर उठाउनेहरूकहाँ लगेर हामी दुईको कर बुझाऊ।”

मत्ती 17 पढ्नुहोस्