YouVersion लोगो
खोज आइकन

मत्ती 15:29-39

मत्ती 15:29-39 सरल नेपाली

येशू त्‍यो ठाउँ छोडेर गालील तालको किनारै-किनार गएर डाँडामा उक्‍लनुभयो र त्‍यहाँ बस्‍नुभयो। फेरि मानिसहरूको धुइरो लाग्‍यो। तिनीहरूले लङ्गडा, अन्‍धा, लाटा र अरू धेरै बिरामीहरू लिएर आइपुगे। तिनीहरूले ती बिरामीहरूलाई येशूको चरणमा राखिदिए अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। लाटाहरू फटाफट बोल्‍न थाले, कुँजाहरू चल्‍ने भए, लङ्गडाहरू हिँड्‍न थाले र अन्‍धाहरू देख्‍ने भए। यो देखेर मानिसहरू छक्‍कै परे अनि तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे। त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई बोलाएर भन्‍नुभयो, “यी मानिसहरूलाई देखेर मलाई साह्रै माया लाग्‍यो। यिनीहरू मसँगै भएको आज तीन दिन भइसक्‍यो। अब यिनीहरूको खानेकुरा पनि सकिएको छ। म यिनीहरूलाई भोकै बिदा गर्न चाहन्‍नँ, नत्रता यिनीहरू घर जाँदाजाँदै बाटैमा मुर्छा पर्लान्।” चेलाहरूले भने, “अहो! यतिका मानिसहरूलाई यो उजाड ठाउँमा कहाँबाट खानेकुरा ल्‍याएर खुवाउने?” येशूले सोध्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्?” “सात वटा रोटी र केही स-साना माछा मात्र छन्!” तिनीहरूले जवाफ दिए। अनि येशूले मानिसहरूलाई चउरमा बस्‍न लाउनुभयो। त्‍यसपछि उहाँले ती रोटी र माछाहरू लिएर परमेश्‍वरलाई धन्‍यवाद चढाउनुभयो। रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिँदै बाँड्‍न लगाउनुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिए। सबैले अघाउञ्‍जेल खाए र पनि चेलाहरूले उब्रिएका टुक्राहरू बटुलेर उठाउँदा त सात डाला भरिए। त्‍यहाँ खाने स्‍वास्‍नी मानिस र केटा-केटीहरूबाहेक लोग्‍ने मानिसहरू मात्रै चार हजार जति थिए। त्‍यसपछि येशूले ती मानिसहरूलाई बिदा गर्नुभयो। उहाँचाहिँ नाउमा चढेर मगादान भन्‍ने क्षेत्रमा जानुभयो।

मत्ती 15 पढ्नुहोस्