YouVersion लोगो
खोज आइकन

लूका 7:37-48

लूका 7:37-48 सरल नेपाली

सहरकी एउटी पापी स्‍त्रीले येशू फरिसीको घरमा खान आउनुभएको छ भन्‍ने कुरा सुनिन्। उनी एउटा सिङ्गमरमरको भाँडाभरि अत्तर लिएर त्‍यही घरमा नै आइपुगिन्। तिनी पछाडिबाट आएर येशूको पाउनेर उभिंदै रुन लागिन् र आँसुको धाराले येशूको पाउ धोइदिइन्। उहाँको पाउ कपालले पुछ्तै म्‍वाइँ खाएर अत्तर खन्‍याइदिइन्। यो देखेर येशूलाई बोलाउने फरिसीले मनमनै भने, “यदि येशू साँच्‍चै अगमवक्ता हुन् भने त उनलाई छुने स्‍त्री कस्‍ती खालकी पापी स्‍त्री हो भनी जान्‍नेथिए।” त्‍यतिखेर येशूले ती फरिसीलाई भन्‍नुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्‍नुपर्छ।” तिनले भने, “आज्ञा होस्, गुरुज्‍यू!” सुन, “कुनै मानिसका दुई जना असामी थिए। एउटाले पाँच सय चाँदीको सिक्‍का अनि अर्कोले पचास चाँदीको सिक्‍का लिएका थिए। तिनीहरू कसैले पनि ऋण तिर्न नसकेकाले साहूले दुवैलाई ऋण माफ गरिदिए। अब भन त, कुनचाहिँले साहूलाई बढ्ता माया गर्ला?” सिमोनले भने, “मेरो विचारमा बढ्ता माफ पाउनेले।” येशूले भन्‍नुभयो, “तिमीले ठीक भन्‍यौ।” उहाँले स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “यिनलाई हेर त। म तिम्रो घरमा आएँ, तर तिमीले मलाई खुट्टा धुने पानीसम्‍म दिएनौ। तर यिनले त मेरो खुट्टा आँसुले धोइदिइन् र आफ्‍नै कपालले पुछिन्। तिमीले मलाई म्‍वाइँ खाएर स्‍वागत गरेनौ, यिनले त म आएदेखि नै खुट्टामा म्‍वाइँ खाइरहेकी छिन्। तिमीले मेरो कपालमा तेल लगाइदिएनौ, यिनले त मेरो खुट्टामा अत्तरसमेत खन्‍याइदिइन्। यिनले किन यस्‍तो गरेकी छिन् भने म तिमीलाई भन्‍छु, यिनका धेरै पापहरू क्षमा भइसकेका छन्। यसैले यिनले मलाई धेरै माया देखाइन्। थोरै पाप क्षमा भएको मानिसले चाहिँ थोरै माया गर्दछ।” येशूले स्‍त्रीलाई भन्‍नुभयो, “तिम्रा पाप क्षमा भइसकेका छन्।”

लूका 7 पढ्नुहोस्