YouVersion लोगो
खोज आइकन

लूका 4:14-36

लूका 4:14-36 सरल नेपाली

पवित्र आत्‍माको शक्ति पाएर येशू गालीलमा फर्कनुभयो। उहाँको बारेमा चारैतिर चर्चा हुन लाग्‍यो। उहाँले सभाघरहरूमा सिकाउनुभयो र सबैले उहाँको प्रशंसा गरे। येशू आफू हुर्केको सहर नासरतमा आइपुग्‍नुभयो। सधैँजस्‍तै उहाँ विश्रामको दिन सभाघरमा जानुभयो अनि धर्मशास्‍त्र पढ्‍न उभिनुभयो। उहाँलाई यशैयाले लेखेको पुस्‍तक पढ्‍न दिइयो र पुस्‍तक खोलेर उहाँले यस्‍तो लेखिएको ठाउँ निकालेर पढ्‍नुभयो– प्रभु परमेश्‍वरले आफ्‍ना आत्‍मा ममाथि खन्‍याउनुभएको छ, गरीबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गरेर पठाउनुभएको छ। कैदीहरूलाई छुट्‍कारा दिन, अन्‍धाहरूलाई देख्‍ने बनाउन, अत्‍याचारमा परेकाहरूलाई उठाउन र आफ्‍ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्‍वरले मलाई नै छान्‍नुभएको छ। त्‍यसपछि येशूले पुस्‍तक बन्‍द गरी फिर्ता दिएर बस्‍नुभयो। त्‍यहाँ भएका सबैले मक्‍ख परेर उहाँलाई हेरिरहेका थिए अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “धर्मशास्‍त्रको यो कुरा आज तिमीहरूले सुन्‍दासुन्‍दै पूरा भएको छ।” सबै मानिसहरूले उहाँको प्रशंसा गरे। अनुग्रहले भरिएको उहाँको कुरा सुनेर तिनीहरू छक्‍कै परे। “के यिनी योसेफकै छोरा होइनन् र?” तिनीहरूले भने। तब येशूले भन्‍नुभयो, “अब पक्‍का पनि तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ‘ए वैद्य! तिमी आफैंलाई निको पार।’ तिमीहरूले मलाई ‘कफर्नहुममा गरेजस्‍तै आफ्‍नै गाउँमा पनि अचम्‍मको काम गर’ भन्‍नेछौ।” कुरा टुङ्ग्‍याउँदै उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, कुनै अगमवक्तालाई पनि आफ्‍ना गाउँ-सहरका मानिसहरूले ग्रहण गर्दैनन्। अर्को एउटा कुरा पनि म तिमीहरूलाई भन्‍छु, एलियाको पालामा साढे तीन वर्षसम्‍म पानी नपरेर ठूलो अनिकाल परेको थियो। त्‍यस बेला इस्राएलमा धेरै विधवाहरू थिए। तर सीदोन क्षेत्रमा पर्ने सारपत गाउँकी विधवाकहाँ मात्र परमेश्‍वरले एलियालाई पठाउनुभयो। त्‍यस्‍तै एलीशा अगमवक्ता हुँदा इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए। तर तिनीहरूमध्‍ये सिरिया देशको नामान भन्‍ने मानिसबाहेक अरू कोही पनि निको भएनन्।” यो कुरा सुनेर सभाघरका सबै मानिसहरू रिसले चुर भए। जर्‍याक-जुरुक उठेर तिनीहरूले येशूलाई घिस्‍स्‍याउँदै सहरदेखि बाहिर निकाले। तिनीहरूको यो सहर डाँडामा पर्दथ्‍यो र तिनीहरूले उहाँलाई भीरको टुप्‍पाबाट फाल्‍न खोजे। तर उहाँ मानिसको घुइँचोबाट छिरेर आफ्‍नो बाटो लाग्‍नुभयो। त्‍यसपछि येशू गालील क्षेत्रको कफर्नहुम भन्‍ने सहरमा आउनुभयो। पवित्र विश्रामको दिनमा उहाँले मानिसहरूलाई शिक्षा दिनुहुन्‍थ्‍यो। उहाँको शिक्षा सुनेर तिनीहरू छक्‍कै परे किनभने उहाँले तिनीहरूलाई अधिकारसँग शिक्षा दिनुहुन्‍थ्‍यो। सभाघरमा एक जना भूत लागेको मानिस थियो। त्‍यस मानिसले चिच्‍च्‍याएर भन्‍यो, “हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्‍नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्‍वरले पठाउनुभएको पवित्र जन हुनुहुन्‍छ भनेर म चिन्‍दछु।” यो सुनेर येशूले त्‍यस भूतलाई हप्‍काएर भन्‍नुभयो, “चुप लाग् र यस मानिसबाट निस्‍केर गइहाल्!” त्‍यस मानिसलाई सबैको सामु पछारेर भूत निस्‍कियो, तर उसलाई कुनै चोट पटक लागेन। सबै जना छक्‍क परेर कुरा गर्न लागे, “यो मानिसको बोलीमा कस्‍तो अधिकार रहेछ, यिनले हकार्नेबित्तिकै भूतहरू पनि निक्‍लेर भाग्‍दा रहेछन्!”

लूका 4 पढ्नुहोस्