येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो। उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे।
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खड़ा हुनुभयो। उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो:
“परमप्रभुका आत्मा ममाथि छ,
किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति
उहाँले मलाई अभिषेक गर्नुभएको छ।
कैदीहरूलाई छुटकाराको घोषणा गर्न,
र अन्धाहरूलाई दृष्टि दिन,
थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति,
र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति
उहाँले मलाई पठाउनुभएको छ।”
उहाँले पुस्तक बन्द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ।”
सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे, र तिनीहरूले भने, “यिनी योसेफका छोरा होइनन् र?”
उहाँले तिनीहरूलाई भन्नुभयो, “नि:सन्देह, तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। कफर्नहुममा तिमीले जे जति गर्यौ भनी हामीले सुनेका थियौं, ती यहाँ आफ्नो सहरमा पनि गर’।” अनि उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन। तर वास्तवमा म तिमीहरूलाई भन्दछु, इस्राएलमा एलियाको समयमा धेरै विधवाहरू थिए, त्यस बेला जब साढ़े तीन वर्ष वृष्टि रोकियो, यहाँसम्म कि सारा देशमा ठूलो अनिकाल परेको थियो। तर एलिया सीदोन देशको सारपतमा भएकी एउटी विधवाकहाँ मात्र पठाइए, अरू कसैकहाँ पठाइएनन्। एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्।”
यी कुरा सुनेर सभाघरमा भएका सबै जना रीसले चूर भए। तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्किजानुभयो।
उहाँ गालीलको एउटा सहर कफर्नहुममा झर्नुभयो। शबाथ-दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो। तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँको वचन अधिकारपूर्ण थियो।
सभाघरमा अशुद्ध भूतात्मा लागेको एक जना मानिस थियो, र त्यो चर्को सोरले चिच्च्यायो, “हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यसबाट निस्केर गयो।
तब तिनीहरू सबै छक्क परे, र आपसमा यसो भने, “यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन्, र ती निस्किजान्छन्।”