YouVersion लोगो
खोज आइकन

लूका 16:1-13

लूका 16:1-13 सरल नेपाली

येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कुनै धनी मानिसको काम गर्नेहरूको एक जना नाइके थियो। ‘त्‍यस नाइकेले तपाईंको सम्‍पत्ति उडाउँदै छ’ भन्‍ने कुरा मानिसहरूले ती धनी मानिसलाई सुनाए। तिनले त्‍यस नाइकेलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा यो के सुन्‍दै छु? तिम्रो सबै हिसाबकिताब मलाई बुझाऊ। अबदेखि तिमी नाइके हुन सक्‍दैनौ।’ त्‍यसो हुँदा नाइकेले मनमनै सोच्‍यो, ‘मेरो मालिकले मलाई नोकरीबाट निकाल्‍ने भए। अब म के गरूँ? खनजोत गरेर खाऊँ भने खन्‍ने बल नै छैन, भिक्षा मागूँ भने मलाई लाज लाग्‍छ। अँ, अब मलाई युक्ति आयो! मेरो नोकरी छुटे तापनि साथी बनाइराखें भने त उनीहरूले त हेर्लान् नि!’ त्‍यसपछि उसले मालिकको सबै असामीलाई एक-एक गरी बोलायो। उसले पहिलोलाई सोध्‍यो, ‘मेरो मालिकको ऋण तिमीलाई कति छ?’ उसले भन्‍यो ‘तीन हजार लिटर जैतुनको तेल।’ नाइकेले भन्‍यो, ‘ल, तिम्रो तमसुकमा अब पन्‍ध्र सय लिटर मात्र लेख।’ अनि अर्कोलाई सोध्‍यो, ‘तिमीले कति बुझाउनुछ?’ उसले जवाफ दियो, ‘एक हजार बोरा गहुँ।’ नाइकेले भन्‍यो ‘लौ तिम्रो तमसुकमा आठ सय बोरा लेख।’ “यो कुरा थाहा पाएपछि त्‍यस मालिकले बेइमान नाइकेको चलाखीको तारिफ गरे किनभने यस संसारका मानिसहरू आफ्‍ना साथीहरूसँग गर्ने व्‍यवहारमा उज्‍यालोका सन्‍तानभन्दा धेरै चलाख हुन्‍छन्। म तिमीहरूलाई भन्‍छु, संसारको धनले मित्रहरू बनाओ र जब त्यो धन सिद्धिन्छ तिमीहरूलाई अनन्‍त वासस्‍थानमा स्‍वागत गरिनेछ।” येशूले फेरि भन्‍नुभयो, “सानो कुरामा भरपर्दो मानिसचाहिँ ठूलो कुरामा पनि भरपर्दो हुन्‍छ। त्‍यस्‍तै सानो कुरामा बेइमान हुने मानिस ठूलो कुरामा पनि बेइमान नै हुन्‍छ। संसारको धनको कारोबारमा विश्‍वास गर्न नसकिनेलाई सत्‍यको धनको निम्‍ति कसरी विश्‍वास गर्न सकिन्‍छ र? तिमीहरू अर्काको धनमा विश्‍वासी हुँदैनौ भने तिमीहरूले पाउनुपर्ने धन कसले देला र? “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्‍दैन। उसले एउटालाई हेला गर्छ र अर्कोलाई माया गर्छ कि उसले एउटाले भनेको मान्‍छ र अर्कोको वास्‍तै गर्दैन। त्‍यसै गरी तिमीहरूले पनि परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।”

लूका 16 पढ्नुहोस्