YouVersion लोगो
खोज आइकन

लूका 16:1-13

लूका 16:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कुनै धनी मानिसको काम गर्नेहरूको एक जना नाइके थियो। ‘त्‍यस नाइकेले तपाईंको सम्‍पत्ति उडाउँदै छ’ भन्‍ने कुरा मानिसहरूले ती धनी मानिसलाई सुनाए। तिनले त्‍यस नाइकेलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा यो के सुन्‍दै छु? तिम्रो सबै हिसाबकिताब मलाई बुझाऊ। अबदेखि तिमी नाइके हुन सक्‍दैनौ।’ त्‍यसो हुँदा नाइकेले मनमनै सोच्‍यो, ‘मेरो मालिकले मलाई नोकरीबाट निकाल्‍ने भए। अब म के गरूँ? खनजोत गरेर खाऊँ भने खन्‍ने बल नै छैन, भिक्षा मागूँ भने मलाई लाज लाग्‍छ। अँ, अब मलाई युक्ति आयो! मेरो नोकरी छुटे तापनि साथी बनाइराखें भने त उनीहरूले त हेर्लान् नि!’ त्‍यसपछि उसले मालिकको सबै असामीलाई एक-एक गरी बोलायो। उसले पहिलोलाई सोध्‍यो, ‘मेरो मालिकको ऋण तिमीलाई कति छ?’ उसले भन्‍यो ‘तीन हजार लिटर जैतुनको तेल।’ नाइकेले भन्‍यो, ‘ल, तिम्रो तमसुकमा अब पन्‍ध्र सय लिटर मात्र लेख।’ अनि अर्कोलाई सोध्‍यो, ‘तिमीले कति बुझाउनुछ?’ उसले जवाफ दियो, ‘एक हजार बोरा गहुँ।’ नाइकेले भन्‍यो ‘लौ तिम्रो तमसुकमा आठ सय बोरा लेख।’ “यो कुरा थाहा पाएपछि त्‍यस मालिकले बेइमान नाइकेको चलाखीको तारिफ गरे किनभने यस संसारका मानिसहरू आफ्‍ना साथीहरूसँग गर्ने व्‍यवहारमा उज्‍यालोका सन्‍तानभन्दा धेरै चलाख हुन्‍छन्। म तिमीहरूलाई भन्‍छु, संसारको धनले मित्रहरू बनाओ र जब त्यो धन सिद्धिन्छ तिमीहरूलाई अनन्‍त वासस्‍थानमा स्‍वागत गरिनेछ।” येशूले फेरि भन्‍नुभयो, “सानो कुरामा भरपर्दो मानिसचाहिँ ठूलो कुरामा पनि भरपर्दो हुन्‍छ। त्‍यस्‍तै सानो कुरामा बेइमान हुने मानिस ठूलो कुरामा पनि बेइमान नै हुन्‍छ। संसारको धनको कारोबारमा विश्‍वास गर्न नसकिनेलाई सत्‍यको धनको निम्‍ति कसरी विश्‍वास गर्न सकिन्‍छ र? तिमीहरू अर्काको धनमा विश्‍वासी हुँदैनौ भने तिमीहरूले पाउनुपर्ने धन कसले देला र? “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्‍दैन। उसले एउटालाई हेला गर्छ र अर्कोलाई माया गर्छ कि उसले एउटाले भनेको मान्‍छ र अर्कोको वास्‍तै गर्दैन। त्‍यसै गरी तिमीहरूले पनि परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।”

शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्

लूका 16:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कुनै धनी मानिसको एक जना व्‍यवस्‍थापक थियो। त्‍यसले आफ्‍नो मालिकको धन-सम्‍पत्ति उड़ाइरहेको छ भन्‍ने अभियोग त्‍यसको विरुद्धमा लागेको थियो। तब मालिकले त्‍यसलाई बोलाएर भन्‍यो, ‘तेरो विषयमा म जे सुन्‍दैछु त्‍यो के हो? व्‍यवस्‍थापकको तेरो कामको हिसाब मलाई दे। अब उप्रान्‍त तँ व्‍यवस्‍थापक रहनेछैनस्‌।’ “तब व्‍यवस्‍थापकले आफ्‍नो मनमनै भन्‍यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्‍यवस्‍थापकको काम खोस्‍न लागेका छन्‌। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्‍न मलाई लाज लाग्‍छ। अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्‍यवस्‍थापकको कामबाट निकालिएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्‍वागत गर्नेछन्‌ सो निश्‍चय गरेको छु।’ “तब त्‍यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्‍यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’ “उसले भन्‍यो, ‘तीन हजार लिटर तेल।’ “तब व्‍यवस्‍थापकले उसलाई भन्‍यो, ‘तिम्रो तमसुक लेऊ, र चाँड़ै बसेर पन्‍ध्र सय लिटर लेख।’ “त्‍यसपछि त्‍यसले अर्कालाई भन्‍यो, ‘तिम्रो ऋण कति छ?’ “उसले भन्‍यो, ‘तीन सय पचास क्‍विन्‍टल गहूँ।’ त्‍यसले उसलाई भन्‍यो, ‘तिम्रो तमसुक लेऊ, र तीन सय क्‍विन्‍टल लेख।’ “अब त्‍यसको मालिकले त्‍यस अधर्मी व्‍यवस्‍थापकको तारीफ गर्‍यो किनकि त्‍यसले चतुर्‍याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्‍नै पुस्‍ताका अरू मानिसहरूसँग व्‍यवहार गर्दा ज्‍योतिका सन्‍तानभन्‍दा अझ बढ़ी चतुर हुन्‍छन्‌। म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो निम्‍ति संसारको धनले मित्रहरू बनाओ, र जब त्‍यो धन शेष हुन्‍छ, तब तिनीहरूले तिमीहरूलाई अनन्‍त वासस्‍थानमा स्‍वागत गरून्‌। “जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ। यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्‍मा कसले देला? यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्‍नै धन तिमीहरूलाई कसले देला र? “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्‍दैन, किनकि त्‍यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्‍यो एउटाको भक्त भएर अर्कालाई तुच्‍छ ठान्‍छ। तिमीहरू परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ।”

शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्

लूका 16:1-13 नेपाली समकालीन संस्करण (NCV)

येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “कुनै धनी मानिसको एकजना प्रबन्धक थियो र उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्‍ने दोष लागेको थियो। त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’ “त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्‍न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ, अनि भीख माग्न मलाई लाज लाग्छ। मैले के गर्नेछु, त्यो मलाई थाहा छ, त्यसो गर्दा म यहाँको कामबाट हटाइए पनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’ “तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीलाई मेरा मालिकको कति ऋण छ?’ “उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’ “प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’ “त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीलाई कति ऋण छ?’ “उसले भन्यो, ‘तीस टन गहुँ।’ “त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ र चौबीस टन लेख।’ “त्यसले चतुर्‍याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे, किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा अझ बढी चतुर हुन्छन्। म तिमीहरूलाई भन्दछु, संसारको धन प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धन सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ। “जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ, अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ। त्यसैले यदि तिमीहरू सांसारिक धन चलाउने काममा इमानदार भएनौ भने तिमीहरूलाई साँचो धनको निम्ति कसले भरोसा गर्ला? अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धन कसले देला र? “कुनै पनि सेवकले दुई मालिकको सेवा गर्न सक्दैन। कि ता त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि ता त्यो एउटाप्रति भक्‍त बनेर अर्कालाई तुच्छ ठान्‍नेछ। तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”

शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्

लूका 16:1-13 पवित्र बाइबल (NERV)

येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए। तिनले आफ्नो व्यापारको हेरचाहको निम्ति एकजना भण्डारे नियुक्त गरेका थिए। केही समय पछि त्यो धनी मानिसले चाल पाए कि त्यस भण्डारेले उसको सम्पत्ति नष्ट पार्दै थियो। यसकारण तिनले त्यो भण्डारेलाई बोलाए अनि भने, ‘मैले तिम्रो बारेमा सुनेकोछु। तिमीले खर्च गरेको मेरो रूपियाँ- पैसाको विवरण देऊ। अब उसो तिमी मेरो भण्डारे रहन पाउने छैनौ।’ “त्यसपछि त्यो भण्डारेले आफैं सोच्न लाग्यो, ‘मैले के गर्नु पर्ने हो? मेरो मालिकले मलाई कामबट निकाल्नेवाला छन्। खेतमा काम गर्ने मेरो शक्ति छैन। मलाई माग्नु पनि लाज लाग्छ। म जान्दछु मैले के गर्नु पर्छ ताकि जब मैले मेरो काम गुमाउँछु, अरू मानिसहरूले मलाई तिनीहरूको घरमा बोलाउने छन्।’ “यसकारण त्यो भण्डारेले ज-जसले पैसा लगेका थिए प्रत्येकलाई बोलायो। त्यसले पहिलो मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नु पर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई चार हजार किलोग्राम जैतून तेल दिनुपर्छ।’ त्यो भण्डारीले त्यसलाई भन्यो, ‘यहाँ तिम्रो सूची छ, बसेर झट्टै सूची घटाउने काम गर र दुइहजार किलोग्राम लेख।’ “त्यसपछि भण्डारीले अर्को मानिसलाई भन्यो, ‘तिमीले मेरो मालिकलाई कति तिर्नुपर्छ?’ त्यस मानिसले भन्यो, ‘मैले तिनलाई एक सय बस्ता गहूँ दिनुपर्छ। तब त्यो भण्डारीले भन्यो, यहाँ तिम्रो सूची छ। यसलाई घटाऊ अनि अस्सी बस्ता लेख।’ “पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा गरे किनभने उसले चलाकी साथ काम गर्यो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्। “म तिमीहरूलाई भन्दछु, संसारमा भएका तिम्रा चिजहरू प्रयोग गरेर आफ्नो मित्रहरू बनाऊ। जब ती चीजहरू सकिन्छ, तब तिमीहरूलाई अनन्त बास स्थानमा स्वागत हुनेछ। यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरूमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ। यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँच्चो सम्पत्तिको लागि विश्वास गरिन्छ यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ? “एकै समयमा एउटा नोकरले दुइजना मालिकको सेवा गर्न सक्तैन। त्यो नोकरले एकजना मालिकलाई घृणा गर्छ अनि अर्कोलाई प्रेम गर्छ, अथवा त्यो एकजनाको भक्त हुन्छ भने अर्कोलाई मन पराउँदैन। एकै समयमा तिमीहरूले परमेश्वर र सम्पत्तिको सेवा गर्न सक्तैनौ।”

शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्