येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कुनै धनी मानिसको एक जना व्यवस्थापक थियो। त्यसले आफ्नो मालिकको धन-सम्पत्ति उड़ाइरहेको छ भन्ने अभियोग त्यसको विरुद्धमा लागेको थियो। तब मालिकले त्यसलाई बोलाएर भन्यो, ‘तेरो विषयमा म जे सुन्दैछु त्यो के हो? व्यवस्थापकको तेरो कामको हिसाब मलाई दे। अब उप्रान्त तँ व्यवस्थापक रहनेछैनस्।’ “तब व्यवस्थापकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्न मलाई लाज लाग्छ। अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्यवस्थापकको कामबाट निकालिएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्वागत गर्नेछन् सो निश्चय गरेको छु।’ “तब त्यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’ “उसले भन्यो, ‘तीन हजार लिटर तेल।’ “तब व्यवस्थापकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँड़ै बसेर पन्ध्र सय लिटर लेख।’ “त्यसपछि त्यसले अर्कालाई भन्यो, ‘तिम्रो ऋण कति छ?’ “उसले भन्यो, ‘तीन सय पचास क्विन्टल गहूँ।’ त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र तीन सय क्विन्टल लेख।’ “अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारीफ गर्यो किनकि त्यसले चतुर्याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढ़ी चतुर हुन्छन्। म तिमीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाओ, र जब त्यो धन शेष हुन्छ, तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्। “जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ। यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र? “कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
लूका 16 पढ्नुहोस्
सुन्नुहोस् लूका 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 16:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू