YouVersion लोगो
खोज आइकन

लूका 12:22-32

लूका 12:22-32 सरल नेपाली

त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्‍ता नगर। खानेकुराभन्दा जीवन नै ठूलो र लुगाफाटाभन्दा शरीर नै ठूलो हो। कागहरूलाई हेर! तिनीहरूले खेती गर्दैनन्, बालीनाली काट्‍ने, थन्‍क्‍याउने पनि गर्दैनन्। तिनीहरूका भण्‍डार, भकारी पनि हुँदैन, तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउँदै हुनुहुन्‍छ। तिमीहरू त ती चरा-चुरुङ्गीहरू भन्दा धेरै नै मूल्‍यवान् छौ। तिमीहरूमध्‍ये कसैले चिन्‍ता गरेर आफ्‍नो आयु थोरै समय बढाउन सक्‍छौ र? यति सानो काम पनि गर्न सक्‍दैनौ भने त अरू कुराको चिन्‍ता किन गर्छौ? जङ्गलका लहलह परेका लिली फूलहरूलाई हेर, तिनीहरू त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्। तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजासित त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी त ती फूलहरूजस्‍तो सजिसजाउ भएका थिएनन्। आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्‍वरले यसरी सिँगार्नुहुन्‍छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्‍न र? खै तिमीहरूको विश्‍वास? यसैकारण के खाऔं, के लाऔं भनेर चिन्‍ता नगर। परमेश्‍वरलाई नचिन्‍नेहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर परमेश्‍वर पितालाई थाहा छ। पहिले परमेश्‍वरको राज्‍यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।” येशूले फेरि भन्‍नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो राज्‍य दिन खुसी हुनुभएको छ।

लूका 12 पढ्नुहोस्