यहूदिया क्षेत्रका राजा हेरोदको पालामा जकरिया नाउँ गरेका पूजाहारी थिए। उनी अबिया भन्ने पूजाहारी समूहका मानिस थिए। उनकी पत्नीको नाउँ एलीशिबा थियो र तिनीचाहिँ हारून कुलको पूजाहारीकी छोरी थिइन्। ती दुवैले परमेश्वरको सामु असल जीवन बिताउँथे। उनीहरूले प्रभु परमेश्वरका सबै आज्ञा र नियमहरू नबिराई मान्थे। एलीशिबा बाँझी भएकी हुनाले उनीहरूको सन्तान थिएन अनि दुवै धेरै उमेरका भइसकेका थिए। एकपल्ट जकरिया आफ्नो समूहको पालोअनुसार मन्दिरमा परमेश्वरको सामुन्ने पूजाहारीको काम गर्दै थिए। पूजाहारीको चलनअनुसार चिट्ठा हाल्दा वेदीमा धूप बाल्ने पालो जकरियाकै नाउँमा पर्यो। त्यसैले उनी प्रभु परमेश्वरको मन्दिरभित्र धूप बाल्न गए। धूप बाल्ने समयमा बाहिरपट्टि भेला भएका मानिसहरू प्रार्थना गरिरहेका थिए। त्यति नै खेर जकरियाकहाँ प्रभु परमेश्वरका स्वर्गदूत देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए। स्वर्गदूतलाई देखेर जकरिया डरले आत्तिए। तर स्वर्गदूतले उनलाई भने, “ए जकरिया, नडराऊ, परमेश्वरले तिम्रो बिन्ती सुन्नुभएको छ। तिम्री पत्नी एलीशिबाले एउटा छोरो जन्माउनेछिन्। तिमीले तिनको नाउँ यूहन्ना राख्नू। त्यस बेला तिमीलाई हर्ष र आनन्द हुनेछ र अरू धेरै मानिसहरू पनि तिनको जन्ममा रमाउनेछन् किनभने तिनी प्रभु परमेश्वरको नजरमा ठूला मानिस हुनेछन्। तिनले दाखमद्य वा कुनै पनि मद्य खानेछैनन्। तिनी आमाको कोखमा हुँदा नै पवित्र आत्माले भरिनेछन्। तिनले इस्राएली जातिका धेरै मानिसहरूलाई आफ्ना प्रभु परमेश्वरतिर फर्काउनेछन्। तिनले आत्मा र शक्तिमा एलियाजस्तै भई प्रभुको अघि आएर उहाँको बाटो तयार पार्नेछन्। तिनले बुबा र छोरा-छोरीहरूको बीचमा मेलमिलाप ल्याउनेछन् र अट्टेरीहरूलाई परमेश्वरको आज्ञापालन गर्ने मानिसको ज्ञानतिर डोर्याउनेछन्। यसरी तिनले प्रभुका जनलाई उहाँकै निम्ति तयार पार्नेछन्।”
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:5-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू