धेरैले हाम्रो बीचमा घटेर पूरा भएका कुराहरूको बयान लेख्ने काम गरेका छन्। ती घटनाहरूचाहिँ सुरुदेखि नै आफ्नै आँखाले देख्ने र यसैको बारेमा सुसमाचार प्रचार गर्नेहरूले बताएका छन्। अनि हे माननीय थियोफिलसज्यू, मैले पनि यसबारे सुरुदेखि नै राम्ररी खोजी गरें र तपाईंलाई यो विषयमा मेलैसँग लेख्न ठीक होला भनी लेख्दै छु। अब यो पुस्तक पढेर तपाईंलाई सिकाएका कुराहरू कति साँचा रहेछन् भन्ने तपाईंलाई थाहा हुनेछ। यहूदिया क्षेत्रका राजा हेरोदको पालामा जकरिया नाउँ गरेका पूजाहारी थिए। उनी अबिया भन्ने पूजाहारी समूहका मानिस थिए। उनकी पत्नीको नाउँ एलीशिबा थियो र तिनीचाहिँ हारून कुलको पूजाहारीकी छोरी थिइन्। ती दुवैले परमेश्वरको सामु असल जीवन बिताउँथे। उनीहरूले प्रभु परमेश्वरका सबै आज्ञा र नियमहरू नबिराई मान्थे। एलीशिबा बाँझी भएकी हुनाले उनीहरूको सन्तान थिएन अनि दुवै धेरै उमेरका भइसकेका थिए। एकपल्ट जकरिया आफ्नो समूहको पालोअनुसार मन्दिरमा परमेश्वरको सामुन्ने पूजाहारीको काम गर्दै थिए। पूजाहारीको चलनअनुसार चिट्ठा हाल्दा वेदीमा धूप बाल्ने पालो जकरियाकै नाउँमा पर्यो। त्यसैले उनी प्रभु परमेश्वरको मन्दिरभित्र धूप बाल्न गए। धूप बाल्ने समयमा बाहिरपट्टि भेला भएका मानिसहरू प्रार्थना गरिरहेका थिए। त्यति नै खेर जकरियाकहाँ प्रभु परमेश्वरका स्वर्गदूत देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए। स्वर्गदूतलाई देखेर जकरिया डरले आत्तिए। तर स्वर्गदूतले उनलाई भने, “ए जकरिया, नडराऊ, परमेश्वरले तिम्रो बिन्ती सुन्नुभएको छ। तिम्री पत्नी एलीशिबाले एउटा छोरो जन्माउनेछिन्। तिमीले तिनको नाउँ यूहन्ना राख्नू। त्यस बेला तिमीलाई हर्ष र आनन्द हुनेछ र अरू धेरै मानिसहरू पनि तिनको जन्ममा रमाउनेछन् किनभने तिनी प्रभु परमेश्वरको नजरमा ठूला मानिस हुनेछन्। तिनले दाखमद्य वा कुनै पनि मद्य खानेछैनन्। तिनी आमाको कोखमा हुँदा नै पवित्र आत्माले भरिनेछन्। तिनले इस्राएली जातिका धेरै मानिसहरूलाई आफ्ना प्रभु परमेश्वरतिर फर्काउनेछन्। तिनले आत्मा र शक्तिमा एलियाजस्तै भई प्रभुको अघि आएर उहाँको बाटो तयार पार्नेछन्। तिनले बुबा र छोरा-छोरीहरूको बीचमा मेलमिलाप ल्याउनेछन् र अट्टेरीहरूलाई परमेश्वरको आज्ञापालन गर्ने मानिसको ज्ञानतिर डोर्याउनेछन्। यसरी तिनले प्रभुका जनलाई उहाँकै निम्ति तयार पार्नेछन्।” जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पक्का हुन्छ भनेर मैले कसरी पत्याउने? म त बुढो भइसकेको छु र मेरी जहान पनि बुढी भइसकेकी छिन्।” स्वर्गदूतले जवाफ दिए, “म परमेश्वरसँग रहने गब्रिएल हुँ। उहाँले नै मलाई तिमीसँग कुरा गर्न र यो सुसमाचार सुनाउन पठाउनुभएको हो। मैले भनेको कुरा ठीक समयमा पूरा हुनेछ। तर हेर, तिमीले मैले भनेको कुरालाई विश्वास नगरेकोले यो कुरा पूरा नहुञ्जेल तिमी बोल्न सक्नेछैनौ।” बाहिर मानिसहरू पर्खिरहेका थिए र जकरियाले ढीलो गरेकोमा अचम्म मानिरहेका थिए। जकरिया बाहिर आउँदा त उनी मानिसहरूसँग बोल्नै सकेनन्। त्यसो हुँदा तिनीहरूले मन्दिरभित्र उनले दर्शन पाए भन्ने कुरा थाहा पाए। उनले बोल्नै नसकेर बाहिर पर्खेर बसेका मानिसहरूलाई हातले इशारा गरे। जकरियाको पूजा गर्ने पालो सकिएपछि उनी घर गए। केही दिनपछि नै उनकी जहानको कोखमा गर्भ रह्यो। त्यसपछि उनकी जहान पाँच महिनासम्म कतै निस्किनन्। तिनले भनिन्, “यो काम प्रभु परमेश्वरले नै मेरो लागि गर्नुभएको हो। उहाँले ममाथि दया गरेर मलाई मानिसको निन्दाबाट जोगाउनुभयो!” एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्ने एउटी कन्या केटीकहाँ पठाउनुभयो। दाऊद राजाको कुलमा जन्मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो। स्वर्गदूतले त्यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्वरको शान्ति होस्! प्रभु परमेश्वरले तिमीलाई ज्यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्छ।” स्वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्न नसकेर अलमल्ल परिरहिन् अनि स्वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्वरले तिमीलाई ठूलो दया गर्नुभएको छ। अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्यो छोराको नाउँ तिमीले येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्वरका पुत्र भन्नेछन्। प्रभु परमेश्वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्तै राजा बनाउनुहुनेछ। उहाँले याकूबको वंशमाथि राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।” यो सुनेर मरियमले स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, तब यो कुरा कसरी हुन सक्छ?” स्वर्गदूतले भने, “परमेश्वरको पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ। महान् परमेश्वरको शक्तिको छायाँ तिमीमाथिपर्नेछ। त्यसैकारण जन्मिनुहुने बालक पवित्र हुनुहुनेछ र परमेश्वरको पुत्र कहलाइनुहुनेछ। फेरि सुन, अब तिम्रो नातेदार एलीशिबा पनि छोरा पाउने भएकी छन्। तिनी बुढी भइसकेकी भए पनि अहिले तिनको कोखमा छ महिनाको बालक छ। तिनका त छोरा-छोरी नै हुँदैन भनिएको थियो। तर हेर, परमेश्वरले गर्न नसक्ने कुरा केही छैन।” तब मरियमले भनिन्, “हवस्, म प्रभु परमेश्वरकी दासी हुँ, तपाईंले भन्नुभएको कुरा मलाई पुगोस्।” त्यसपछि स्वर्गदूत त्यहाँबाट बिदा भए।
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:1-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू