YouVersion लोगो
खोज आइकन

लूका 1:1-38

लूका 1:1-38 NNRV

हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्‍नो हातमा लिएका छन्‌। तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्‍यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्‍पिदिए। माननीय थियोफिलस, मैले आरम्‍भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्‍ति क्रमैअनुसारको एउटा विवरण लेख्‍न मलाई असल लाग्‍यो, ताकि तपाईंलाई बताइएका विषयहरूको सत्‍यता तपाईंलाई थाहा होस्‌। यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्‍नी हारून-वंशकी थिइन्‌। तिनको नाउँ एलीशिबा थियो। ती दुवै परमेश्‍वरको सामुन्‍ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्‌थे। तर तिनीहरूको कोही सन्‍तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्‍किसकेको थियो। जब जकरिया परमेश्‍वरको सामुन्‍ने आफ्‍ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए, तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्‍दा परमप्रभुको मन्‍दिरभित्र पसेर धूप बाल्‍ने काम जकरियालाई पर्‍यो। धूप बाल्‍ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एक जना स्‍वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए। तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्‍नी एलीशिबाले तिम्रो निम्‍ति एउटा छोरो जन्‍माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नू। तिमीलाई रमाहट र आनन्‍द हुनेछ, र धेरै जना तिनको जन्‍ममा रमाउनेछन्‌। किनभने तिनी परमप्रभुको सामुन्‍ने महान्‌ हुनेछन्‌। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्‍यै पिउनेछैनन्, र आफ्‍नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्‍माले भरिपूर्ण हुनेछन्‌। तिनले इस्राएलका सन्‍तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्‍वरतिर फर्काउनेछन्‌। बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्‍ति योग्‍य तुल्‍याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्‍मा र शक्तिमा जानेछन्‌।” तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्‍ने? म बूढ़ो भएँ र मेरी पत्‍नीको उमेर पनि ढल्‍किसकेको छ।” स्‍वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्‍वरको सामुन्‍ने उभिरहन्‍छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ। जुन दिनसम्‍म यी कुरा पूरा हुँदैनन्, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।” मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्‍दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्‍केर आउँदा उनीहरूसँग बोल्‍नै सकेनन्‌ र तिनले मन्‍दिरमा दर्शन देखेछन्‌ भन्‍ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे। तिनको सेवाका दिन समाप्‍त भएपछि तिनी आफ्‍नो घर गए। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म लुकेर बसिन्‌ र यसो भनिन्, “मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।” छैटौँ महिनामा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्‍ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्‍ने एक जना मानिससँग भएको थियो। त्‍यस कन्‍याको नाउँ मरियम थियो। स्‍वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्‍छ।” तर तिनी त्‍यस कुराले साह्रै विचलित भइन्, र यो कस्‍तो किसिमको अभिवादन हो भनी मनमा सोच्‍न लागिन्‌। स्‍वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ। उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन।” मरियमले स्‍वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ।” स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्‌। किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।” अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए।