YouVersion लोगो
खोज आइकन

लेवी 22:1-16

लेवी 22:1-16 सरल नेपाली

हारून र तिनका छोराहरूलाई यी कुरा भन्‍नू भनी परमप्रभुले मोशालाई अह्राउनुभयो, “तिमीहरूले मेरो पवित्र नामको बदनामी गराउनुहुन्‍न। यसकारण इस्राएलका मानिसहरूले मलाई अर्पण गरेका पवित्र भेटीहरू आदरसित चलाउनू। म परमप्रभु हुँ। तिम्रा कुनै छोरा-नाति विधिअनुसार अशुद्ध रहँदा, मलाई इस्राएलका मानिसहरूले अर्पण गरेका पवित्र भेटीहरूका छेउ आए भने त्‍यसले फेरि कहिल्‍यै वेदीमा सेवाकार्य गर्न सक्‍नेछैन। यी आउँदा दिनहरूमा सदासर्वदा मानिनुपर्छ। म परमप्रभु हुँ। “हारूनका कुनै छोरा-नातिलाई डरलाग्‍दो छालाको रोग, प्रमेह रोग लागेको छ भने त्‍यो विधिअनुसार शुद्ध नभइञ्‍जेल त्‍यसले कुनै पवित्र भेटीको थोक नखाओस्। कुनै लाश छोई अशुद्ध भएको कुरा पूजाहारीले छोएको छ भने वा कुनै अशुद्ध पशु वा मानिसलाई छोएको छ भने वा उसको वीर्यपतन हुन्‍छ भने ऊ अशुद्ध हुन्‍छ। जुन पूजाहारी अशुद्ध हुन्‍छ, ऊ साँझसम्‍म अशुद्ध रहन्‍छ। त्‍यसपछि पनि स्‍नान नगरेसम्‍म उसले पवित्र भेटीको कुनै थोक नखाओस्। सूर्य अस्‍ताएपछि ऊ शुद्ध हुन्‍छ, त्‍यसपछि पवित्र भेटीको थोक, जुनचाहिँ उसको खाना हो, उसले खान सक्‍छ। पूजाहारीले स्‍वाभाविकरूपले मरेको वा जङ्गली जनावरले मारेको पशुको मासु खानेछैन किनभने त्‍यस कुराले उसलाई अशुद्ध पार्नेछ। म परमप्रभु हुँ। “सबै पूजाहारीले मैले दिएका नियमहरू पालन गरून्। नत्र तिनीहरू दोषी बन्‍नेछन् र मर्नेछन् किनभने तिनीहरूले पवित्र नियमहरू भङ्ग गरेका हुन्‍छन्। म परमप्रभु हुँ र म तिनीहरूलाई पवित्र पार्दछु। “पूजाहारी परिवारका सदस्‍यले मात्र पवित्र भेटीका थोक खान सक्‍छ, अरू कसैले ती खान सक्‍दैन। पूजाहारीसित बस्‍ने वा उसले ज्‍यालामा काम लगाएका मानिसले पनि ती खान सक्‍दैनन्‌। तर पूजाहारीले आफ्‍नै धनले किनेको वा उसको आफ्‍नै घरमा जन्‍मेको कमाराकमारीहरूले पूजाहारीले पाएका खाना खान सक्‍छन्। पूजाहारीकी छोरीले अर्को पूजाहारीसित विवाह नगरी अरू कोही पुरुषसित विवाह गरी भने त्‍यसले पवित्र भेटीका थोक खान सक्‍नेछैन। तर विधवा वा छुटानाम भएकी छोरी, जसको जायजन्‍म भएको छैन र बुबाकै घरमा बस्‍न फर्की आएकी छ भने त्‍यसले बुबाले पूजाहारी भई पाएको भोजन खान सक्‍छे। पूजाहारी परिवारका सदस्‍यले मात्र सो भोजन खान सक्‍छ। “यदि कुनै मानिसले, जो पूजाहारी परिवारको सदस्‍य होइन, भुलले पवित्र भेटीको कुरा खान्‍छ, तब त्‍यसले त्‍यस कुराको पूरा दाममाथि पाँचौँ भाग पनि थपेर पूजाहारीलाई तिर्नुपर्नेछ। पवित्र थोक खाने हक नभएको कुनै मानिसलाई पवित्र भेटीका कुरा खान दिएर पूजाहारीले ती पवित्र थोक अपवित्र गर्नुहुँदैन। त्‍यसो गर्ने पूजाहारी दोषी हुनेछ र सजाय पाउनेछ। म परमप्रभु हुँ र म ती भेटीहरूलाई पवित्र गर्दछु।”

लेवी 22 पढ्नुहोस्