YouVersion लोगो
खोज आइकन

लेवीहरू 22:1-16

लेवीहरू 22:1-16 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून र त्‍यसका छोराहरूलाई भन्‌: ‘इस्राएलीहरूले मेरो निम्‍ति चढ़ाएका पवित्र थोकहरूका बारेमा तिमीहरू होशियार रहो, र मेरो नाउँ अपवित्र नगर्नू। म परमप्रभु हुँ’। “तिनीहरूलाई भन्‌: ‘तिमीहरूको कुनै पुस्‍तामा पनि यदि कोही अशुद्ध मान्‍छे इस्राएलीहरूले परमप्रभुलाई अर्पण गरेका पवित्र थोकहरूका नजिक गयो भने, त्‍यस मान्‍छे मेरो सामुन्‍नेबाट बहिष्‍कृत हुनेछ। म परमप्रभु हुँ। “‘हारूनका सन्‍तानमध्‍ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने, त्‍यो शुद्ध नहोउञ्‍जेल पवित्र थोकहरूबाट त्‍यसले केही नखाओस्‌। लाश छुने, धातु रोगीलाई छुने, घस्रने जीवजन्‍तुलाई छुने र कुनै पनि अशुद्धता भएको मान्‍छेलाई छुने मानिस साँझसम्‍म अशुद्ध रहोस्‌। त्‍यसले आफ्‍नो शरीर नधोउञ्‍जेल पवित्र थोकहरूबाट नखाओस्‌। सूर्य अस्‍ताएपछि मात्र त्‍यो शुद्ध हुनेछ। त्‍यसपछि त्‍यसले पवित्र थोकहरूबाट खान सक्‍छ, किनभने त्‍यो त्‍यसको भोजन हो। आफै मरेको अथवा जङ्गली पशुले फहराएर मारेको जन्‍तु खाएर त्‍यसले आफूलाई अशुद्ध नपारोस्‌। म परमप्रभु हुँ। “‘पूजाहारीहरूले मेरा आज्ञाहरू पालन गरून्, नत्रता तिनीहरूले मेरा आज्ञा घृणा गरेको कारण तिनीहरू दोषी भएर मर्लान्‌। तिनीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ। “‘पूजाहारीको परिवारबाहेक जुनसुकै मान्‍छेले पवित्र थोक नखाओस्, न त पूजाहारीको पाहुना वा ज्‍यालादारी नोकरले पवित्र थोक खाओस्‌। तर दाम हालेर किनेको पूजाहारीको कमाराले र तिनको घरमा जन्‍मेका कमाराहरूले पनि पूजाहारीका भोजनको भागबाट खाए हुन्‍छ। पूजाहारीकी छोरी अरू कुलको कुनै पुरुषसित विवाह भएकी छे भने त्‍यसले कुनै पवित्र भेटीहरूबाट नखाओस्‌। तर कुनै पूजाहारीकी छोरी विधवा वा त्‍यागिएकी छे र त्‍यसका छोराछोरी नभई आफ्‍ना बुबाको घरमा बसेकी छे भने, त्‍यसको बाल्‍यावस्‍थामा झैँ त्‍यसले बुबाको भोजनबाट खाओस्‌। तर अरू कुलको जोसुकैले त्‍यसबाट नखाओस्‌। “‘कुनै मानिसले थाहा नपाई पवित्र थोकबाट केही खायो भने, त्‍यसको पाँचौँ भाग थपेर त्‍यस पवित्र थोकको भर्ना पूजाहारीलाई देओस्‌। इस्राएलीहरूले परमप्रभुलाई चढ़ाएका पवित्र थोकहरू पूजाहारीले अपवित्र नपारून्‌। पूजाहारीले पवित्र भेटीबाट मानिसहरूलाई खान नदेऊन्, नत्रता तिनीहरूले आफ्‍नो अधर्मको दोष र दण्‍ड भोग्‍नेछन्‌। तिनीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ’।”