YouVersion लोगो
खोज आइकन

लेवीहरू 22:1-16

लेवीहरू 22:1-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून र त्‍यसका छोराहरूलाई भन्‌: ‘इस्राएलीहरूले मेरो निम्‍ति चढ़ाएका पवित्र थोकहरूका बारेमा तिमीहरू होशियार रहो, र मेरो नाउँ अपवित्र नगर्नू। म परमप्रभु हुँ’। “तिनीहरूलाई भन्‌: ‘तिमीहरूको कुनै पुस्‍तामा पनि यदि कोही अशुद्ध मान्‍छे इस्राएलीहरूले परमप्रभुलाई अर्पण गरेका पवित्र थोकहरूका नजिक गयो भने, त्‍यस मान्‍छे मेरो सामुन्‍नेबाट बहिष्‍कृत हुनेछ। म परमप्रभु हुँ। “‘हारूनका सन्‍तानमध्‍ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने, त्‍यो शुद्ध नहोउञ्‍जेल पवित्र थोकहरूबाट त्‍यसले केही नखाओस्‌। लाश छुने, धातु रोगीलाई छुने, घस्रने जीवजन्‍तुलाई छुने र कुनै पनि अशुद्धता भएको मान्‍छेलाई छुने मानिस साँझसम्‍म अशुद्ध रहोस्‌। त्‍यसले आफ्‍नो शरीर नधोउञ्‍जेल पवित्र थोकहरूबाट नखाओस्‌। सूर्य अस्‍ताएपछि मात्र त्‍यो शुद्ध हुनेछ। त्‍यसपछि त्‍यसले पवित्र थोकहरूबाट खान सक्‍छ, किनभने त्‍यो त्‍यसको भोजन हो। आफै मरेको अथवा जङ्गली पशुले फहराएर मारेको जन्‍तु खाएर त्‍यसले आफूलाई अशुद्ध नपारोस्‌। म परमप्रभु हुँ। “‘पूजाहारीहरूले मेरा आज्ञाहरू पालन गरून्, नत्रता तिनीहरूले मेरा आज्ञा घृणा गरेको कारण तिनीहरू दोषी भएर मर्लान्‌। तिनीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ। “‘पूजाहारीको परिवारबाहेक जुनसुकै मान्‍छेले पवित्र थोक नखाओस्, न त पूजाहारीको पाहुना वा ज्‍यालादारी नोकरले पवित्र थोक खाओस्‌। तर दाम हालेर किनेको पूजाहारीको कमाराले र तिनको घरमा जन्‍मेका कमाराहरूले पनि पूजाहारीका भोजनको भागबाट खाए हुन्‍छ। पूजाहारीकी छोरी अरू कुलको कुनै पुरुषसित विवाह भएकी छे भने त्‍यसले कुनै पवित्र भेटीहरूबाट नखाओस्‌। तर कुनै पूजाहारीकी छोरी विधवा वा त्‍यागिएकी छे र त्‍यसका छोराछोरी नभई आफ्‍ना बुबाको घरमा बसेकी छे भने, त्‍यसको बाल्‍यावस्‍थामा झैँ त्‍यसले बुबाको भोजनबाट खाओस्‌। तर अरू कुलको जोसुकैले त्‍यसबाट नखाओस्‌। “‘कुनै मानिसले थाहा नपाई पवित्र थोकबाट केही खायो भने, त्‍यसको पाँचौँ भाग थपेर त्‍यस पवित्र थोकको भर्ना पूजाहारीलाई देओस्‌। इस्राएलीहरूले परमप्रभुलाई चढ़ाएका पवित्र थोकहरू पूजाहारीले अपवित्र नपारून्‌। पूजाहारीले पवित्र भेटीबाट मानिसहरूलाई खान नदेऊन्, नत्रता तिनीहरूले आफ्‍नो अधर्मको दोष र दण्‍ड भोग्‍नेछन्‌। तिनीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ’।”

शेयर गर्नुहोस्
लेवीहरू 22 पढ्नुहोस्

लेवीहरू 22:1-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हारून र तिनका छोराहरूलाई यी कुरा भन्‍नू भनी परमप्रभुले मोशालाई अह्राउनुभयो, “तिमीहरूले मेरो पवित्र नामको बदनामी गराउनुहुन्‍न। यसकारण इस्राएलका मानिसहरूले मलाई अर्पण गरेका पवित्र भेटीहरू आदरसित चलाउनू। म परमप्रभु हुँ। तिम्रा कुनै छोरा-नाति विधिअनुसार अशुद्ध रहँदा, मलाई इस्राएलका मानिसहरूले अर्पण गरेका पवित्र भेटीहरूका छेउ आए भने त्‍यसले फेरि कहिल्‍यै वेदीमा सेवाकार्य गर्न सक्‍नेछैन। यी आउँदा दिनहरूमा सदासर्वदा मानिनुपर्छ। म परमप्रभु हुँ। “हारूनका कुनै छोरा-नातिलाई डरलाग्‍दो छालाको रोग, प्रमेह रोग लागेको छ भने त्‍यो विधिअनुसार शुद्ध नभइञ्‍जेल त्‍यसले कुनै पवित्र भेटीको थोक नखाओस्। कुनै लाश छोई अशुद्ध भएको कुरा पूजाहारीले छोएको छ भने वा कुनै अशुद्ध पशु वा मानिसलाई छोएको छ भने वा उसको वीर्यपतन हुन्‍छ भने ऊ अशुद्ध हुन्‍छ। जुन पूजाहारी अशुद्ध हुन्‍छ, ऊ साँझसम्‍म अशुद्ध रहन्‍छ। त्‍यसपछि पनि स्‍नान नगरेसम्‍म उसले पवित्र भेटीको कुनै थोक नखाओस्। सूर्य अस्‍ताएपछि ऊ शुद्ध हुन्‍छ, त्‍यसपछि पवित्र भेटीको थोक, जुनचाहिँ उसको खाना हो, उसले खान सक्‍छ। पूजाहारीले स्‍वाभाविकरूपले मरेको वा जङ्गली जनावरले मारेको पशुको मासु खानेछैन किनभने त्‍यस कुराले उसलाई अशुद्ध पार्नेछ। म परमप्रभु हुँ। “सबै पूजाहारीले मैले दिएका नियमहरू पालन गरून्। नत्र तिनीहरू दोषी बन्‍नेछन् र मर्नेछन् किनभने तिनीहरूले पवित्र नियमहरू भङ्ग गरेका हुन्‍छन्। म परमप्रभु हुँ र म तिनीहरूलाई पवित्र पार्दछु। “पूजाहारी परिवारका सदस्‍यले मात्र पवित्र भेटीका थोक खान सक्‍छ, अरू कसैले ती खान सक्‍दैन। पूजाहारीसित बस्‍ने वा उसले ज्‍यालामा काम लगाएका मानिसले पनि ती खान सक्‍दैनन्‌। तर पूजाहारीले आफ्‍नै धनले किनेको वा उसको आफ्‍नै घरमा जन्‍मेको कमाराकमारीहरूले पूजाहारीले पाएका खाना खान सक्‍छन्। पूजाहारीकी छोरीले अर्को पूजाहारीसित विवाह नगरी अरू कोही पुरुषसित विवाह गरी भने त्‍यसले पवित्र भेटीका थोक खान सक्‍नेछैन। तर विधवा वा छुटानाम भएकी छोरी, जसको जायजन्‍म भएको छैन र बुबाकै घरमा बस्‍न फर्की आएकी छ भने त्‍यसले बुबाले पूजाहारी भई पाएको भोजन खान सक्‍छे। पूजाहारी परिवारका सदस्‍यले मात्र सो भोजन खान सक्‍छ। “यदि कुनै मानिसले, जो पूजाहारी परिवारको सदस्‍य होइन, भुलले पवित्र भेटीको कुरा खान्‍छ, तब त्‍यसले त्‍यस कुराको पूरा दाममाथि पाँचौँ भाग पनि थपेर पूजाहारीलाई तिर्नुपर्नेछ। पवित्र थोक खाने हक नभएको कुनै मानिसलाई पवित्र भेटीका कुरा खान दिएर पूजाहारीले ती पवित्र थोक अपवित्र गर्नुहुँदैन। त्‍यसो गर्ने पूजाहारी दोषी हुनेछ र सजाय पाउनेछ। म परमप्रभु हुँ र म ती भेटीहरूलाई पवित्र गर्दछु।”

शेयर गर्नुहोस्
लेवीहरू 22 पढ्नुहोस्

लेवीहरू 22:1-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले मोशालाई भन्‍नुभयो, “हारून र त्यसका छोराहरूलाई इस्राएलीहरूले मलाई अर्पण गरेका पवित्र बलिहरूप्रति आदरपूर्वक व्यवहार गर्न भन्‍नू। अनि तिनीहरूले मेरो नाम अपवित्र नतुल्याऊन्। म नै याहवेह हुँ। “तिनीहरूलाई भन्: ‘पुस्तौँ-पुस्तासम्मका लागि यदि तिमीहरूका सन्तानमा कोही अशुद्ध छ, र पनि त्यो इस्राएलीहरूले याहवेहकहाँ चढाएका पवित्र भेटीहरूको नजिक आउँछ भने त्यस मानिसलाई मेरो उपस्थितिबाट अलग गर्नुपर्छ। म नै याहवेह हुँ। “ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ, अथवा त्यसले आफूलाई अशुद्ध पार्ने कुनै घस्रने जीवजन्तु छोयो भने अथवा त्यसलाई अशुद्ध पार्ने जस्तोसुकै अशुद्धता भएको कुनै मानिसलाई छोयो भने तापनि त्यो अशुद्ध हुनेछ। जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्। घाम डुबेपछि त्यो शुद्ध हुनेछ। अनि त्यसले पवित्र भेटीहरू खान सक्छ; किनकि ती त्यसकै भोजन हो। त्यसले मरेर भेट्टाइएको कुनै कुरा अथवा पशुले फहराएको केही खाएर त्यसबाट अशुद्ध नहोस्। म नै याहवेह हुँ। “ ‘पुजारीहरूले मेरो सेवा यस प्रकारले गरून् कि तिनीहरूले यसलाई घृणा गरेको कारण तिनीहरू दोषी भएर नमरून्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ। “ ‘पुजारीको परिवार बाहिरको मानिस कसैले पनि पवित्र भेटीहरू नखाओस्; न त पुजारीको पाहुना अथवा ज्यालादारी मजदुरले त्यो खाओस्। तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्। यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्। तर यदि कुनै पुजारीकी छोरी विधवा भएकी अथवा त्यागिएकी छ, र त्यो सन्तानविहीन छे, र त्यो आफ्नो बुबाको घरमा बसेकी छे भने त्यसले आफ्ना बुबाको भोजन खान सक्छे। तरै पनि अधिकार नपाएको कुनै व्यक्तिले भने त्यसबाट केही खान सक्दैन। “ ‘यदि कसैले भूलले पवित्र भेटी खाएमा त्यसले पुजारीलाई ती भेटीहरूका हर्जाना देओस्, र त्यसमाथि त्यसको मूल्यको पाँचौँ भाग थपेर देओस्। इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरू पुजारीहरूले अपवित्र नपारून्। तिनीहरूलाई खान दिएर अनि अपवित्र पारेर दण्ड भोग्नुपर्ने दोष तिनीहरूमाथि नल्याओस्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ”

शेयर गर्नुहोस्
लेवीहरू 22 पढ्नुहोस्

लेवीहरू 22:1-16 पवित्र बाइबल (NERV)

परमप्रभुले मोशालाई भन्नुभयो, “हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ। हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ। “यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु वा स्राव रोग छ भने ऊ शुद्ध नहोउन्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ। उनले कुनै घस्रने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्। यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन। घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किनभने पवित्र खाना उसको हुन्छ। “यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जङ्गली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ। “मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्‌याएको छु। पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्। तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्। पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन। पूजाहारीको कुनै छोरी विधवा हुन सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्‌याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ। “यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ। “इस्राएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन। यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।”

शेयर गर्नुहोस्
लेवीहरू 22 पढ्नुहोस्