“यसकारण अब,” यहोशूले भन्दै गए, “परमप्रभुलाई आदर गर अनि विश्वासयोग्य र इमानदारीसाथ उहाँको सेवा गर। तिम्रा पुर्खाहरूले मेसोपोटामिया र मिश्रमा पुज्ने गरेका देव-देवताहरू हटाओ र केवल परमप्रभुको मात्र सेवा गर। तिमीहरू परमप्रभुको सेवा गर्न राजी छैनौ भने कसको सेवा गर्ने– मेसोपोटामियामा तिम्रा पुर्खाहरूले भजेका देव-देवताहरूको कि अहिले तिमीहरूले बास गर्दैगरेका एमोरी देशका देव-देवताहरूको? आजै निश्चय गर। म र मेरा परिवारले चाहिँ परमप्रभुकै सेवा गर्नेछौं।” मानिसहरूले जवाफ दिए, “अरू देव-देवता भज्न भनी हामी परमप्रभुलाई कहिल्यै त्याग्नेछैनौं परमप्रभु हाम्रा परमेश्वरले हामी र हाम्रा बुबा-बाजेलाई मिश्रको दासत्वबाट निकाली ल्याउनुभयो। हामीले उहाँले गर्नुभएको उदेकका कामहरू देख्यौं। हामीले पार गरी आएका भिन्न-भिन्न जातिहरूका देशमा जहाँ हामी गयौं उहाँले हामीलाई कुशल राख्नुभयो। हामी यस देशभित्र पसेर आउँदा परमप्रभुले यहाँ बास गर्ने सबै एमोरीहरूलाई धपाउनुभयो। यसकारण हामी पनि परमप्रभुको सेवा गर्नेछौं, उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।” यहोशूले मानिसहरूलाई भने, “तर; सायद तिमीहरू परमप्रभुको सेवा गर्न नसकौला। उहाँ पवित्र परमेश्वर हुनुहुन्छ र तिम्रा पाप उहाँले क्षमा गर्नुहुन्न होला। आफूसित जोरी खोज्ने कसैलाई उहाँ सहनुहुन्न। विदेशी देव-देवताहरूको सेवा गर्नलाई तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँ तिमीहरूको विरुद्धमा हुनुहुनेछ र तिमीहरूलाई सजाय दिनुहुनेछ। अघि उहाँले तिमीहरूको भलाइ नै गर्नुभए तापनि तिमीहरूलाई नाश पार्नुहुनेछ।” मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुकै सेवा गर्नेछौं।” यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभुको सेवा गर्नेछौ भन्ने कुराका साक्षी तिमीहरू आफैं भएका छौ।” तिनीहरूले भने, “हजुर, हामी आफैं नै साक्षी छौं।” यहोशूले भने, “त्यसो भए आफूसित भएका विदेशी देव-देवताहरू हटाओ र परमप्रभु इस्राएलका परमेश्वरलाई आफ्नो भक्ति दिने वाचा गर।”
यहोशू 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 24:14-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू