एलाजार पूजाहारी, नूनको छोरो यहोशू र इस्राएलका सारा कुलका प्रधानहरूकहाँ लेवी परिवारहरूका अगुवाहरू गए। तिनीहरूले कनान देशको शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा भन्नुभएको थियो कि हामीलाई बास गर्ने सहरहरू र हाम्रा गाई-वस्तु चर्नलाई तिनका चारैपट्टिका चरनहरूसमेत दिइनेछन्।” यसकारण परमप्रभुको आज्ञाअनुसार इस्राएलका मानिसहरूले लेवीहरूलाई केही सहर र चरनहरू आफ्ना अधीनका इलाकाहरूबाट दिए। पहिले कहातवंशी लेवी परिवारहरूलाई सहरहरू दिइयो। पूजाहारी हारूनबाट आएका परिवारहरूलाई यहूदा, शिमियोन र बेन्यामीन कुलबाट तेह्र वटा सहरहरू दिइयो। कहातका बाँकी सन्तानले एफ्राइम, दान र पश्चिमी मनश्शे कुलका इलाकाबाट दश सहरहरू पाए। गेर्शोनका सन्तानले इस्साखार, आशेर, नप्ताली र पूर्वी-मनश्शे कुलका इलाकाबाट तेह्र सहरहरू पाए। मरारी वंशका परिवारहरूले रूबेन, गाद र जबूलूनका इलाकाबाट बाह्र सहरहरू पाए। चिठ्ठा हालेर इस्राएलका मानिसहरूले लेवीहरूलाई यी सहर र चरनहरू दिए। परमप्रभुले मोशाद्वारा यस्तै आज्ञा दिनुभएको थियो। लेवीबाट आएका कहातवंशी हारूनका सन्तानहरूलाई दिइएका सहरहरूका नाम यी हुन्। यी सहरहरू सबैभन्दा पहिले भाग लगाइएका थिए। यहूदाका पहाडी देशमा किर्यत-अर्बा सहर (अर्बा अनाकको बुबा थियो), जसलाई अहिले हेब्रोन भनिन्छ, त्यसका चारैतिरका चरनहरूसहित तिनीहरूलाई दिइयो। तर सहरका खेतबारी र अरू गाउँहरूचाहिँ यपुन्नेको छोरो कालेबलाई अघि नै दिइसकेका थिए। पूजाहारी हारूनका सन्तानलाई हेब्रोन (ज्यानमाराको एउटा शरण-स्थल) बाहेक यी सहरहरू पनि दिइएका थिए– लिब्ना, यत्तीर, एश्तमो, होलोन, दबीर, ऐन, युत्ता र बेथ-शेमेश तिनका चरनहरूसहित यहूदा र शिमियोन कुलबाट नौ सहरहरू। बेन्यामीन कुलबाट तिनीहरूले चार सहरहरू गिबोन, गेबा, अनातोत र अल्मोन तिनका चरनहरूसहित पाए। चरनसहित जम्मा तेह्र सहरहरू हारूनका सन्तानका पूजाहारीहरूले पाए।
यहोशू 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 21:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू