YouVersion लोगो
खोज आइकन

यहोशू 17

17
पश्‍चिम-मनश्‍शेलाई दिइएको इलाका
1योसेफको जेठो छोरो मनश्‍शेका केही सन्‍तानलाई यर्दनको पश्‍चिमपट्टिका देशको एक भाग दिइएको थियो। गिलादका बुबा माकीर मनश्‍शेको जेठो छोरो एक वीर योद्धा थिए। यसर्थ पूर्वी यर्दनका गिलाद र बाशान तिनलाई दिइएको थियो। 2यर्दनको पश्‍चिमपट्टिको इलाका बाँकी मनश्‍शेका परिवारहरूलाई दिइएको थियो। ती परिवारहरू अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर र शमीदाका सन्‍तान थिए। तिनीहरू योसेफको छोरो मनश्‍शेका छोरा, नाति र आ-आफ्‍ना परिवारका प्रधान व्‍यक्तिहरू थिए। 3मनश्‍शेको छोरो माकीर, तिनको छोरो गिलाद, फेरि गिलादको छोरो हेपेर र तिनको छोरो सलोफादका छोरीहरू मात्र थिए अनि एउटै पनि छोरो थिएन। तिनको नाम– महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थियो। 4#गन्ती 27:1-7तिनीहरू पूजाहारी एलाजार, नूनको छोरो यहोशू र अरू अगुवाहरूकहाँ गएर भने, “परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो कि अरू दाजुभाइहरूसरह हामीलाई हकदार बनाई देशको एक भाग दिनुपर्छ।” यसकारण परमप्रभुका आज्ञाअनुसार आफ्‍ना कुलका पुरुषहरूलाई जस्‍तै तिनीहरूलाई जमिन दिइयो। 5त्‍यही कारण मनश्‍शेले यर्दनका पूर्वमा पाएका गिलाद र बाशानमाथि अरू दश हिस्‍सा जमिन पाए 6किनभने त्‍यो जमिन तिनका छोरा-छोरीहरू सबैको लागि दिइएको थियो। बाँकी मनश्‍शेका सन्‍तानलाई गिलाद दिइएको थियो।
7मनश्‍शेको भागको जमिन आशेरदेखि शकेमका पूर्वमा मिक्‍मतातसम्‍म पुग्‍दथ्‍यो। त्‍यसपछि त्‍यसको सिमाना दक्षिणपट्टि जान्‍थ्‍यो र एन-तप्‍पूहका बासिन्‍दाहरू बसेका ठाउँसमेत त्‍यसभित्र पर्थ्‍यो। 8तप्‍पूहको छेउछाउको जमिन मनश्‍शेको थियो। तर सिमाना भएको तप्‍पूह सहरचाहिँ एफ्राइमका सन्‍तानको थियो। 9त्‍यसपछि सिमाना कनाको खोलातिर जान्‍थ्‍यो। खोलाको दक्षिणपट्टिका सहरहरू मनश्‍शेका इलाकापट्टि परेका भए तापनि एफ्राइमका थिए। मनश्‍शेको सिमाना खोलाका उत्तरपट्टि भएर जान्‍थ्‍यो र भूमध्‍य सागरमा टुङ्गिन्‍थ्‍यो। 10दक्षिणतिर एफ्राइम र उत्तरतिर मनश्‍शे थिए र दुवैका पश्‍चिम सिमानामा भूमध्‍य सागर पर्थ्‍यो। आशेर उत्तर-पश्‍चिममा अनि इस्‍साखार उत्तर-पूर्वमा थिए। 11इस्‍साखार र आशेरका इलाकाभित्र यी ठाउँहरू मनश्‍शेले पाएका थिए, बेथ-शान र यिबलाम, तिनका चारैपट्टिका गाउँहरू साथै डोर (जुन समुद्र किनारमा थियो), एन्‍दोर, तानाक, मगिद्दो र तिनका चारैतिरका गाउँहरू। 12#न्यायकर्ता 1:27,28तापनि मनश्‍शे कुलका मानिसहरूले ती सहरमा बास गर्ने मानिसहरूलाई धपाउन सकेनन् र कनानीहरू त्‍यहाँ नै रहिरहे। 13इस्राएलीहरू अझ शक्तिशाली हुँदा पनि तिनीहरूले सबै कनानीहरूलाई खेदेनन् तर आफ्‍ना निम्‍ति काम गर्न कर लगाए।
एफ्राइम र पश्‍चिमी मनश्‍शेले बढ्ता जमिन माग्‍छन्
14योसेफका सन्‍तानले यहोशूलाई भने, “किन तपाईंले हामीलाई एकै भाग मात्र जमिन दिनुभयो? परमप्रभुले हामीलाई आशिष् दिनुभएको छ र हाम्रो सङ्‍ख्‍या औधि नै बढेको छ।”
15यहोशूले जवाफ दिए, “यदि तिमीहरूको सङ्‍ख्‍या धेरै छ र एफ्राइमको पहाडी इलाका तिमीहरूलाई सानो हुन्‍छ भने जङ्गलतर्फ जाओ र परिज्‍जी र रपाईहरूका देशभित्र आफ्‍ना निम्‍ति जङ्गल फाँड।”
16तिनीहरूले जवाफ दिए, “पहाडी इलाका हाम्रो निम्‍ति पुगेन किनभने मैदानमा बास गर्ने सबै कनानीहरू अर्थात् बेथ-शान र त्‍यसका चारैतिरका सहरहरू अनि यिजरेलका बेसीमा बास गर्ने कनानीहरूसित फलामका रथहरू छन्।”
17यहोशूले एफ्राइम र पश्‍चिमी मनश्‍शेका कुलहरूलाई भने, “साँच्‍चै तिमीहरू धेरै छौ अनि खुबै शक्तिशाली पनि छौ। तिमीहरूले एकभन्दा बढी भाग पाउनुपर्छ। 18पहाडी इलाका तिमीहरूकै हो। यद्यपि त्‍यो जङ्गल छ, त्‍यो तिमीहरूले फाँड्‍नू र वारपार आफ्‍ना हातमा लिनू। कनानीहरू बलिया छन् र तिनीहरूसित फलामका रथै भए तापनि तिमीहरूले तिनीहरूलाई खेदी पठाउनेछौ।”

अहिले सेलेक्ट गरिएको:

यहोशू 17: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्