यहोशू 18
18
बाँकी देश बण्डा गरिन्छ
1त्यो देश विजय गरिसकेपछि इस्राएलीहरूका सारा जन-समुदाय शीलोमा भेला भए र परमप्रभुको पवित्र पाल खडा गरे। 2अझै इस्राएलीहरूमध्ये सात कुल बाँकी थिए, जसले देशको आ-आफ्ना भाग पाएका थिएनन्। 3यसकारण यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिम्रा पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति बेलासम्म पर्खने? 4हरेक कुलबाट तीन-तीन जना गरी पुरुषहरू मकहाँ आऊन्। म तिनीहरूलाई सारा देशभरि पठाउनेछु र तिनीहरू गई आफ्ना अधिकारमा लिने इलाकाहरू नाप-जोख गरी तिनीहरू मकहाँ फर्की आउनेछन्। 5त्यो भूमि सात भाग गरेर तिनीहरूका बीच बण्डा गरिनेछ। यहूदा र योसेफ दक्षिण र उत्तरमा आ-आफ्नो ठाउँमा रहनेछन्। 6यी सात भागको बयान लेखी मकहाँ लिई आओ र परमप्रभु हाम्रा परमेश्वरको इच्छा बुझ्नलाई म चिठ्ठा हाल्नेछु। 7तिमीहरूसित लेवीहरूले जमिनबाट केही भाग पाउनेछैनन् किनभने परमप्रभुका पूजाहारी भई सेवा गर्नु नै तिनीहरूको अधिकारको कुरो हो। अनि गाद, रूबेन र पूर्वका आधा मनश्शे कुलहरूले यर्दनको पूर्वमा आ-आफ्ना जग्गा पाइसकेका छन्, जुन परमप्रभुका सेवक मोशाले तिनीहरूलाई दिएका थिए।”
8यहोशूले यस्तो आदेश दिएपछि मानिसहरू देश घुमेर हेर्न र त्यसको बयान लेख्न हिंडे। आदेशमा यो भनिएको थियो– “सारा देश घुमेर हेर, त्यसको बयान लेख र मकहाँ फर्की आओ अनि यहाँ शीलोमा म चिठ्ठा हाली तिमीहरूको लागि परमप्रभुको इच्छा बुझ्नेछु।” 9यसर्थ मानिसहरू गएर देशभरि घुमेर हेरे र देश कसरी सात भागमा बण्डा गर्ने हो, सो बयान गरी लेखे र सहरहरूको एउटा सूची बनाए। 10त्यसपछि तिनीहरू यहोशूकहाँ शीलोमा फर्केर गए। यहोशूले चिठ्ठा हालेर परमप्रभुको इच्छा बुझे र बाँकी रहेका हरेक कुललाई त्यस इलाकाको एक-एक भाग दिए।
बेन्यामीनको भाग
11बेन्यामीन कुलका परिवारहरूका भागमा परेको जमिन पहिलो बण्डा लगाइयो। तिनीहरूका भागका जमिन यहूदा र योसेफका कुलहरूका माझमा पर्यो। 12उत्तरमा तिनीहरूको सिमाना यर्दनमा सुरु भई, यरीहोको उत्तरपट्टि उकालो लागी पश्चिमतिरको पहाडी देश उक्लँदै बेथ-आवनको उजाड-स्थानमा पुग्थ्यो। 13त्यसपछिको सिमाना लूजको (जसलाई बेथेल पनि भन्दछ) दक्षिणपट्टि उकालो जान्थ्यो र त्यहाँबाट ओह्रालो लागी तल्लो बेथ-होरोनको दक्षिणमा भएको पहाडमाथि अतारोत-अद्दारमा पुग्थ्यो। 14त्यहाँदेखि सिमाना अर्को दिशातिर घुम्थ्यो, त्यस पहाडको पश्चिमपट्टिबाट दक्षिणतर्फ घुमी त्यो यहूदा कुलका अधिकारमा भएको किर्यत-बाल (अथवा किर्यत-यारीम) सम्म पुग्थ्यो। पश्चिम सिमाना त्यही थियो। 15दक्षिणको सिमाना किर्यत-यारीमको किनारामा सुरु भई नेप्तोहका मुहानमा पुग्थ्यो। 16ओह्रालो पहाडको फेदीसम्म जान्थ्यो जहाँबाट रपाईहरूका बेसीका उत्तर कुनामा भएको बेन-हिन्नोमको बेसी देखिन्थ्यो। त्यसपछि त्यो बेन-हिन्नोमका बेसीबीच भएर दक्षिणतर्फ लाग्थ्यो र यबूसी-डाँडाको दक्षिण हुँदै एन-रोगेलतिर जान्थ्यो। 17तब त्यो उत्तरपट्टि एन-शेमेशतिर घुमेर जान्थ्यो र अदुम्मीमको घाटीको सामुन्ने रहेको गलीलोतमा निक्लन्थ्यो। त्यसपछि त्यो बोहनको ढुङ्गातिर झर्थ्यो (बोहन रूबेनको छोरो थियो) 18र डाँडाको उत्तरपट्टि लाग्थ्यो, जुन डाँडाबाट यर्दन बेसी देखिन्थ्यो। त्यहाँबाट सिमाना बेसीमा पुग्थ्यो 19र बेथ-होग्ला डाँडाको उत्तर भएर गई मृत सागरका उत्तरमा जहाँ यर्दन नदी सागरमा पस्थ्यो, त्यहाँ गई टुङ्गिन्थ्यो। त्यो दक्षिण सिमाना थियो। 20पूर्वको सिमानामा यर्दन नदी पर्थ्यो। बेन्यामीन कुलका परिवारहरूले आफ्ना अधिकारमा पाएका देशको सिमाना यिनै थिए।
21बेन्यामीन कुलका परिवारहरूका सहरहरू यी थिए– यरीहो, बेथ-होग्ला, एमेक-कसीस, 22बेथ-अराबा, समारैम, बेथेल, 23अब्बीम, पारा, ओप्रा, 24कपर-अमोनी, ओप्नी र गेबा। यी बाह्र वटा सहरहरू तिनका चारैतिर भएका गाउँहरूसहित थिए। 25तीबाहेक गिबोन, रामा, बेरोत, 26मिस्पा, कपीरा, मोशा, 27रेकेम, यिर्पल, तरला, 28सेलाह, एलेप, यबूसी (अथवा यरूशलेम), गिबा र किर्यत-यारीम, यी चौध सहरहरू तिनका चारैपट्टि भएका गाउँहरूसहित थिए। बेन्यामीन कुलका परिवारहरूले आफ्ना सम्पत्तिका रूपमा पाएको देश यही हो।
अहिले सेलेक्ट गरिएको:
यहोशू 18: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.