YouVersion लोगो
खोज आइकन

यहोशू 10:7-14

यहोशू 10:7-14 सरल नेपाली

यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे। परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्‍ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्‍नेछैन।” यहोशू र उनका सेना रातभरि हिँडी गिलगालदेखि गिबोनमा पुगे र एमोरीहरूमाथि अचानक आक्रमण गरे। एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्‍केदासम्‍म हमला गरेर खेदे। इस्राएली सेनादेखि भागेर एमोरीहरू ओह्रालोमा दगुरी जाँदा परमप्रभुले तिनीहरूलाई आजेकासम्‍म नै ठूला-ठूला असिनाको वर्षाले चुट्‍नुभयो। इस्राएलीहरूबाट भन्दा असिनाबाट तिनीहरू धेरै मारिए। परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्‍द्र, तँ अय्‍यालोन बेसीमाथि, अडेर बस्!” इस्राएली जातिले आफ्‍ना शत्रुलाई विजय नगरेसम्‍म सूर्य अडिरह्यो अनि चन्‍द्र रोकियो। यो याशारको पुस्‍तकमा लेखिएको छ। सूर्य आकाशको बीचमा अडिबस्‍यो र एक दिनभरि अस्‍ताएन। त्‍यसको अघि वा पछि कहिल्‍यै पनि त्‍यस्‍तो दिन भएको छैन जब परमप्रभुले मानिसका कुरा मान्‍नुभएको थियो। परमप्रभुले इस्राएलपट्टि लागेर युद्ध गर्नुभयो!

यहोशू 10 पढ्नुहोस्