YouVersion लोगो
खोज आइकन

अय्‍यूब 9

9
अय्‍यूब भन्‍दछन्‌:
1-2 # अय्‍यूब 4:17 हो, यी सबै कुरा मैले अघिबाटै सुनिसकेको छु।
तर मानिसले कसरी परमेश्‍वरसित मुद्दा जित्‍न सक्‍ला?
3कसैले उहाँसित विवाद गर्न सक्‍दैन।
उहाँले हजार प्रश्‍न सोध्‍न सक्‍नुहुन्‍छ,
तर कसैले एउटै पनि उत्तर दिन सक्‍दैन।
4परमेश्‍वर यति ज्ञानी र शक्तिशाली हुनुहुन्‍छ कि
कोही मानिस उहाँको विरुद्धमा खडा हुन सक्‍दैन।
5कसैलाई थाहै नदिई उहाँले पर्वतहरू हटाउनुहुन्‍छ
र क्रोधमा उहाँले तिनीहरूलाई नष्‍ट गर्नुहुन्‍छ।
6परमेश्‍वरले भूइँचालो पठाउनुहुन्‍छ र पृथ्‍वी थर्काउनुहुन्‍छ।
पृथ्‍वीलाई थाम्‍ने खामाहरू उहाँले नै हल्‍लाउनुहुन्‍छ।
7उहाँले बिहान सूर्य उदाउन
र राती ताराहरू चम्‍कनबाट रोक्‍न सक्‍नुहुन्‍छ।
8आकाश फैलाउनुहुँदा
समुद्रको डरलाग्‍दो जीव-जन्‍तुको पिठ्युँ कुल्‍चनुहुँदा,
कसैले उहाँलाई मद्दत गरेन।
9 # अय्‍यूब 38:31; आमोस 5:8 उहाँले सप्‍तर्षि, मृगशिरा र नक्षत्रहरू
अनि दक्षिणका तारा मण्‍डलहरू आकाशमा राख्‍नुभयो।
10उहाँका महान् कार्यहरू हामी बुझ्‍न सक्‍दैनौं।
उहाँका उदेकका कामहरूको अन्‍त छैन।
11मेरा छेउबाट भएर परमेश्‍वर जानुहुन्‍छ,
तर म उहाँलाई देख्‍न सक्‍दिनँ।
12जे इच्‍छा लाग्‍यो, त्‍यो उहाँले लिनुहुन्‍छ;
कसैले पनि उहाँलाई रोक्‍न सक्‍दैन?
“यो के गरेको?” भनी कसले उहाँलाई सोध्‍न सक्‍छ?
13परमेश्‍वरको क्रोध शान्‍त हुन्‍न।
उहाँको विरोध गर्ने त्‍यो डरलाग्‍दो जल-जन्‍तु राहाबलाई सघाउनेहरू सबैलाई उहाँले नष्‍ट पार्नुभयो।
14परमेश्‍वरलाई जवाफ दिने शब्‍दहरू म कसरी पाउन सक्‍छु?
15म निर्दोष छु, तापनि केही गर्न सक्‍दिनँ;
न्‍यायी परमेश्‍वरसित नै दयाको निम्‍ति म बिन्‍ती गर्दछु।
16हुन त उहाँले मलाई बोल्‍न दिनुभयो भने पनि उहाँले मेरो कुरा सुन्‍नुहुन्‍छ
जस्‍तो त मलाई लाग्‍दैन।
17बिनाकारण उहाँले आँधी पठाएर
मलाई चुट्‍नुहुन्‍छ र चोटै-चोट पार्नुहुन्‍छ।
18उहाँले मलाई सास फेर्नसम्‍म पनि दिनुहुन्‍न;
उहाँले मेरो जीवन नै तीतो पारिदिनुभएको छ।
19के मैले परमेश्‍वरसित बलको तुजुक गर्नु?
के मैले उहाँमाथि मुद्दा चलाउनु?
कसैले उहाँलाई अदालतमा हाजिर गराउन सक्‍ने हो र?
20म निर्दोष र विश्‍वासयोग्‍य छु तर मेरो बोली दोषी ठहरिन्‍छ,
मेरै मुखको वचनले म अपराधी ठहराइन्‍छु।
21-22म निर्दोष छु तर त्‍यसले केही भिन्‍नता ल्‍याउँदैन।
म जीवनसितै अघाइसकें। मलाई केही वास्‍ता छैन।
दोषी होस् कि निर्दोषी होस्, परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ।
23जब निर्दोष मानिस अचानक मर्छ,
परमेश्‍वर हाँस्‍नुहुन्‍छ।
24परमेश्‍वरले दुष्‍टहरूका हातमा संसार दिनुभएको छ।
सबै न्‍यायकर्ताहरूका आँखा उहाँले अन्‍धा बनाइदिनुभएको छ।
उहाँले त्‍यसो गर्नुभएको होइन भने अरू कसले गर्‍यो त?
25मेरो आयु सकिंदै छ,
तर एउटै सुदिन देखिएन।
26अति चाँडो बग्‍ने डुङ्गाझैँ
वा वेगसित आफ्‍नो शिकारमाथि झम्‍टने चिलझैँ
मेरो जीवन बितिरहेको छ।
27-28जबरजस्‍ती हाँसेर आफ्‍नो दु:ख भुल्‍ने चेष्‍टा गरें भने पनि
मैले भोगेका सबै कष्‍टहरू घरीघरी मलाई झस्‍काउन आउँछन्।
म जान्‍दछु परमेश्‍वरले मलाई दोषी ठहराउनुहुन्‍छ।
29उहाँले मलाई दोषी ठहराइसक्‍नुभएको छ।
मेले किन व्‍यर्थमा फिक्री गर्नु र?
30साबुनले धोएर मेरा पापहरू मेटाउन सकिंदैन।
31परमेश्‍वरले मलाई मैलाको खाल्‍डोमा फ्‍याँकिदिनुहुन्‍छ
र मेरै वस्‍त्रले पनि मलाई घृणा गर्छ।
32परमेश्‍वर मजस्‍तै मानिस हुनुभए त म उहाँलाई जवाफ दिन सक्‍थें
वा अदालतमा गई हामी मुद्दा लड्‍न सक्‍थ्‍यौं।
33तर हाम्रो मुद्दा छिन्‍ने कोही छैन, परमेश्‍वरको र मेरो बीचमा न्‍याय गरिदिने कोही छैन।
34हे परमेश्‍वर, मलाई सजायँ दिन छोड्‍नुहोस्!
तपाईंका त्रासहरू मदेखि टाढा रहून्‌!
35तब म डराउनेछैनँ।
म उहाँसित बोल्‍नेछु किनभने म आफ्‍नो मन जान्‍दछु।

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 9: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्